११ः०२ बजे टिकाको साइत


यस वर्ष विजयादशमीको बिहान ११ः०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ ।
विजया दशमीको दिन भगवतिले दानवी शक्ति माथी र रामले रावणमाथि विजय हाँसिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ ।
यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने, नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–खुवाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफा राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार भएको थियो ।






