छिन्चुमा बन्ने विमानस्थल देखाउने मात्रै हो : नेता कँडेल
सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको छ । बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा दलहरुले आफ्नो धारणा राखेका छन् । संसदमा दलको धारणा व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले छिन्चुमा बनाउने भनिएको विमानस्थल बन्ने भन्दा पनि देखाउने भएको बताएका छन् ।
‘भएको विमानस्थललाई बन्न र बनाउन नदिने गरी अर्को नबन्ने विमानस्थलतर्फ हाम्रो ध्यान केन्द्रित भइसक्यो । म भन्न चाहन्छु म यही को जनप्रतिनिधि हुँ, मलाई भन्न कुनै गारो छैन । छिन्चुमा बन्ने विमानस्थल देखाउने मात्रै हो । बने बन्ला तर जसका कारणले गर्दा एक पटक एमयु गरेर सम्झौता गरेरपनि क्यान्सिल गर्ने परिस्थिती निर्माण भयो ।’ कँडेलले भने ।
यस्तै, प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा कर्णाली र भेरी करिडोर, सुर्खेत मेडिकल कलेज लगायतका महत्वका आयोजनालाई विशेष महत्व दिनुपर्नेमा कँडेलले जोड दिए । बजेटमा बहुवर्षिय याेजना छनाैट गर्दा विशेष ध्यान दिनुपर्ने नेता कँडेलकाे भनाइ छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश चाहिने नीतिहरु पहिले नै बनिसकेकाले तिनै नीतिहरुलाई अवलम्बन गरेर आगामी दिनहरुमा अगाडि बढ्नु पर्नेमा जोड दिए । नेता शाहीले कणर्ालीलाई समृद्ध बनाउनका लागि संघीय नेतृत्वको भर पर्न नहुने बताउँदै आगामी नीति, कार्यक्रम तथा बजेट वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्ने धारणा राखे ।