१५ हजार लाभग्राहीलाई अस्थायी आवास अनुदान

हालसम्म १५ हजार भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास अनुदान वितरण गरिएको छ । स्थानीय तहहरुले १५ हजार दुई सय ६६ परिवार भूकम्प प्रभावितहरुलाई अनुदान रकम वितरण गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जिल्ला स्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका लागि एक अर्व ४१ करोड रुपैयाँ निकासा गरिसकेको छ । सो मध्ये जिल्ला समितिले स्थानीय तहका लागि कुल एक अर्व १६ करोड ७७ लाख रुपैयाँ निकासा गरेको प्राधिकरणका सूचना अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

अस्थायी आवास अनुदान रकम वितरणमा रकुम पश्चिममा धेरै छ । रुकुम पश्चिममा हालसम्म ३१ करोड ५४ लाख ५० हजार रुपैयाँ अनुदान वितरण भईसकेको छ । रुकुम पश्चिममा हालसम्म कुल १२ हजार ६ सय १८ लाभग्राहीलाई अनुदान रकम वितरण गरिएको छ । त्यसैगरी जाजरकोटमा तीन करोड ३९ लाख ५० हजार रुपैयाँ आवास अनुदान वितरण गरिएको थियो । यहाँ एक हजार ६ सय ५८ लाभग्राहीलाई अनुदान रकम वितरण गरिएको प्राधिकरणका सूचना अधिकारी खड्काले जानकारी दिए । सल्यानमा पाँच सय ८० लाभग्राहीका लागि एक करोड ४५ लाख रुपैयाँ भुक्तानी भएको उनले जानकारी दिए ।
बाजुरामा दुई सय ८८ लागभ्राहीका लागि ७१ लाख ५० हजार र बझाङमा एक सय २२ लाभग्राहीका लागि ३० लाख ५० हजार रुपैयाँ भुक्तानी भएको खड्काले बताए ।
पालिकाले अझै वितरण गरेनन्
जाजरकोटका चार वटा पालिकाले अझै अस्थायी आवास अनुदान वितरण शुरु गरेका छैनन् । कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिका र भेरी नगरपालिकाले अनुदान रकम वितरण नगरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । त्यसैगरी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले समेत हालसम्म पनि अनुदान रकम वितरण शुरु गरेको छैन ।
प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार सोमवारसम्ममा ६० हजार तीन सय ३७ लाभग्राही कायम भएका छन् । सो मध्ये जाजरकोटमा ३३ हजार आठ सय ७१ र रुकुम पश्चिममा १७ हजार चार सय ३४ लाभग्राही कायम भएको प्राधिकरणले जनाएको छ । अनुदान रकम वितरण नभएका पालिकाहरुमध्ये कुशे गाउँपालिकामा पाँच हजार दुई सय ८७, नलगाड नगरपालिकामा आठ हजार र भेरी नगरपालिकामा सात सय २६ लाभग्राही कायम भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिकामा हालसम्म पनि लाभग्राही कायम भएको छैन । रुकुम पश्चिममा भने बाँफिकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राही कायम भएका छन् ।
रकम नपाएको गुनासो
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय तहलाई रकम निकासा नगरेका कारण पालिकामा समेत समस्या सिर्जना भएको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतको भनाई छ ।
उनले भने, ‘जाजरकोटमा माथिबाटै थोरै रकम आएको छ । केहिले काम शुरु पनि गरे । यहाँ धेरै पालिकाले अझै रकम बाढ्न सकेकै छैनन् ।’
नलगाड नगरपालिकामा कायम भएका लाभग्राहीलाई मात्र पहिलो किस्ता वापत २० करोड रुपैयाँ आवश्यक हुन्छ । ‘जिल्लामै धेरै क्षति भएको पालिका हाम्रो हो । हामीलाई मात्र त्यत्रो पैसा चाहिन्छ । अनि कसरी वितरण गर्ने । अव माथिबाटै पैसा नआएसम्म वितरण हुने सम्भावना छैन’, उनले भने । जाजरकोटको लागि संघीय सरकारले ५० करोड रुपैयाँ यसअघि नै पठाईसकेको हो । जिल्लाले भने स्थानीय तहको लागि ४९ करोड ९३ लाख रुपैयाँ निकासा गरिसकेको छ । स्थानीय तहले हालसम्म तीन करोड ३९ लाख ५० हजार रुपैयाँ लाभग्राहीलाई भुक्तानी गरिसकेका छन् । लाभग्राहीलाई भुक्तानी गर्नेमा छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाले एक÷एक करोड बढी रकम भुक्तानी गरिसकेका छन् । बारेकोट नगरपालिकाले भने हालसम्म ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ । कुशे गाउँपालिका र भेरी नगरपालिकामा भने रकम निकासा भएपनि सोमवारसम्म लाभग्राही शुरु नगरिएको प्राधिकरणको तथ्यांक छ ।






