अपाङ्गता भएका बालबालिकाहरुका लागि सिकाई एप

सुर्खेत । अपाङ्गता तथा सिकाईमा कठिनाई भएका विद्यार्थी लक्षित सिकाई सहजताका लागि शैक्षिक प्रविधि ‘एडटेक टुलकिट’ एप सार्वजनिक गरिएको छ । शुक्रवार वीरेन्द्रनगरमा अपाङ्गता सशक्तिकरण केन्द्र र विश्व शिक्षाद्वारा आयोजित नेपालमा उपलब्ध पहुँचयूक्त्र शैक्षिक स्रोतको विस्तार सम्बन्धी प्रदेशस्तरिय कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सिकाई टुलकिट एप सार्वजनिक गरेका हुन् ।

सिकाई परियोजना अन्तर्गत विद्यालयलाई प्रारम्भिक तहमा शिक्षण सिकाईका लागि न्यून प्रविधि प्रयोग गरी प्रारम्भिक कक्षा केन्द्रित पठन सामाग्रीहरु फ्लेक्स चार्ट, छात्र-छात्रा फ्लेक्स चित्र, अक्षर र संख्या गाटी, चम्तकारी बल, साना तथा मझौला पुस्तक, पढाईपत्ति, कवितापत्ति, चित्रपत्ति, खेलपत्ति, डिकोडेबल सामाग्रीहरु राखिएको छ ।
अनलाईन र अफलाई दुवै माध्यमबाट सिक्न सकिने एपमा अपाङ्गता केन्द्रित सामाग्रीहरुमा आकार र रंकोट, बोध क्युब, टाइपोस्कोप, स्पन्ज अक्षरहरु, स्लेट तथा स्टाइल्स, पिन ह्विल चार्ट, स्फट बल र हातमा राख्ने म्याग्निफायर जस्ता सामाग्रीले अपाङ्गता भएका विद्यार्थीहरुले सहजै पढ्न, लेख्न, सुन्न र हेर्न सक्ने गरी राखिएको छ । यो सिकाई परियोजना दैलेख र सल्यानका करिव ५० वटा विद्यालयहरुमा लागु भइरहेको छ भने कर्णालीका अन्य जिल्लामा सञ्चालित रहेको जनाइएको छ ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले अपाङ्गता भएका बालबालिहरुको सिकाईका क्षेत्रमा प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै शिक्षण सिकाईमा परम्परागत शैलीको अन्त्य गरी नविनतम् सोचसहितको योजना अगाडि सारिनुपर्ने बताए । अपाङ्गताका क्षेत्रका लागि बन्नुपर्ने विशेष नीतिहरु बन्न नसक्दा थप समस्या भएको उल्लेख गर्दै आगामी दिनमा नीतिगत तहमा सुधार गरी सरकारले आफ्ना नीति तथा कार्यक्रममा यो विषयलाई समट्ने मन्त्री जिसीको भनाई थियो ।
यस्तै अपाङ्गता सशक्तिकरण केन्दका संयोजक विष्णु शर्माले सामुदायिक विद्यालय विशेष गरी विद्यालय र स्रोत कक्षाका प्रारम्भिक तहमा अध्ययनरत अपङ्गता तथा कार्यगत सीमितता भएका र सिकाइमा कठिनाई भएका लगायत सबै बालबालिकाहरुको सिकाई उपलब्धि बृद्धि गर्नमा सिकाई टुलले महत्वपूणर् भुमिका खेल्ने अपेक्षा गरेको बताए ।
कार्यक्रममा दैलेख र सल्यानका स्थानीयतहका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत अपङ्गताका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको उपस्थिती रहेको थियो । सहभागीहरुले यस परियोजनामा आफ्ना अनुभव व्यक्त गरेका थिए ।





