सल्यानमा जंगलमा लागेको डढेलो वस्तीमा पस्दा घरगोठ जलेर नष्ट

सल्यान : सल्यानको एक वनमा लागेको डढेलो बस्तीमा पस्दा घरगोठ जलेर नष्ट भएका छन्। जिल्लाको कालिमाटी गाउँपालिका–६ काँराघारीको खहरेखोला वनमा लागेको डढेलो बस्तीमा पस्दा स्थानीय देवीलाल खड्काको घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएको हो।

बिहीबार दिउँसो जंगलमा लागेको डढेलो वस्तीमा पसेको थियो। घर र गोठमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको स्थानीय हीरालाल शर्माले जानकारी दिए।
आजभोलि गहुँ काट्ने सिजन भएकाले सबै किसान गहुँबारीमा हुँदा घरगोठमा लागेको आगो नियन्त्रण गर्न नसकिएको उनले बताए। आगलागीबाट झन्डै २ लाख ५० हजारभन्दा बढी क्षति भएको अनुमान गरिएको उनको भनाइ छ। वस्ती पातलो भएकाले डढेलो लाग्नबाट जोगिएको शर्माले बताए।
डढेलोले घरगोठ पूरै नष्ट भएपछि खड्काको परिवार छिमेकी कृष्णबहादुर खत्रीको घरमा बसेको छ।






