कांग्रेसका तीन मन्त्रीकाे सपथ आज

सुर्खेत । कर्णाली प्रदेशमा सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘ख’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिसकिएको कांग्रेसले जनाएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले तीन मन्त्रीको शपथ दिउँसो तीन बजे गर्ने तयारी भइरहेको जानकारी दिए ।






