वर्षाको सम्भावना : काटेको धान भित्र्याउन मौसमविद्को आग्रह

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतवार धेरै ठाउँमा बादल लाग्ने सम्भावना छ । आइतवार केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताए ।

सोमवार र मंगलवार पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा सोमवार र मंगलवार लगातारजसो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । उनका अनुसार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताए । वर्षाको सम्भावना रहेकाले आइतवार धान नकाट्न र हिजोअस्ति काटिएको छ भने भित्र्याइहाल्न किसानलाई मौसमविद्को सुझाव छ । देशका धेरै ठाउँमा धान पाकेको छ ।
दशैँको फूलपाती अघि नै धान भित्र्याउने तयारीमा किसान छन् । मौसमविद् मानन्धरले बुधवारदेखि मौसममा सुधार आउने भएकाले त्यसपछि मात्र धान काट्न सुझाव दिए ।






