लागूऔषधसहित एक जना पक्राउ

जुम्ला,३ फाल्गुन ।
प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जुम्लाको चन्दननाथ–९ उमखोला बस्ने १९ वर्षीय कवीन्द्र रावल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रह्लाद कार्कीले बताए । उनलाई गोप्य सूचनाको आधारमा चन्दननाथ नगरपालिका ७ बाट पक्राउ गरिएको डीएसपी कार्कीले बताए ।
उनका अनुसार क १ ज ४८ नम्बरको भ्यानभित्र शंकास्पद रुपमा गाडीभित्र बसिरहेको अवस्थामा सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायासहितको प्रहरी टोलीले जाँच गर्दा लागूऔषध ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थ करिब १ सय मिलिग्राम र निजको साथबाट नगद २६ हजार १ सय रुपैयाँ बरामद गरेको हो ।






