एक वर्षदेखि विद्युत् विस्तार अलपत्र

सल्यान,२ फागुन ।

 विद्युत् लाइन विस्तार गरेको एक वर्ष बितिसक्दा पनि दार्मा गाउँपालिका–४ मौलाहाले, रामीडाँडा, कुमाख गाउँपालिका–२ शान्तिबजार, नेटा र सिद्धकुमाख गाउँपालिका–२ भडारेका किसानले अझै बत्ती बाल्न पाएका छैनन् । अधिकांश काम सकिएको योजनामा ट्रान्सफर्मर जडान नहुँदा स्थानीयहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

टान्सफर्मर खरिदमा भएको टेन्डर ढिलाइका कारण तीन पालिकाका ४ वडावासी रातिको समयमा अझै पनि सल्ले झर्रो र टुकीको भरमा छन् । गाउँमा हुनेखाने केहीले सोलार जडान गरे पनि खोच भएकाले पर्याप्त घाम नलाग्दा १÷२ घण्टा पनि बत्ती नबल्ने भडारेका श्याम बुढाले बताए । उनका अनुसार अझै पनि मौलाहाले र रामीडाँडाका १ हजार, भडारे र टाकुराका ९ सय र शान्ति बजार र नेटाबजारका ५ सय घरधुरी अँध्यारो बनेका हुन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले २०७७ सालमा २ करोड ६० लाख रुपैयाँ बजेटबाट योजनाको काम सुरु गरेको थियो । चार वटै वडामा लाइन विस्तारको काम भने गत वर्षको पुस–माघमै सकिएको थियो । लाइन विस्तार नहुँदा बिजुली बाल्ने धोको पूरा नभएको दार्मा गाउँपालिका–४ मौलाहालेका नन्दराम खड्काले बताए ।

‘हुनेखानेले सोलार जडान गरेका छन्,’ उनले भने, ‘विपन्न घरधुरी अझै पनि सल्लाको दियालो, टुकी र लालटिनकै भरमा रात गुजार्न बाध्य छौं ।’ विद्युत् सेवा विस्तार हुने भन्दै केही घरधुरीले घरमा वायरिङसमेत गरेका थिए । स्थानीय अर्जुन विकले भने, ‘अहिले त घर अगाडि गाडेका पोल पनि ढल्ने अवस्थामा पुगेका छन् ।’ निर्वाचनका बेला गाउँमा बिजुली पुर्याउँछौं भन्ने उम्मेदवारले फर्केर नहेरेको उनको गुनासो छ । विद्य्त् ुनहुँदा गाउँमा घरेलु उद्योग स्थापना गरी स्वरोजगार बन्ने धोको अधुरै रहेको उनको दुःखेसो छ ।

गत वर्ष पुसमै योजनाको काम सम्पन्न भए पनि ट्रान्सफर्मर खरिदका लागि तीन पटक टेन्डर आह्वान गर्दासमेत निवेदन नपरेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख पदमराज देवकोटाले बताए । उनका अनुसार बजार मूल्यभन्दा खरिद दर रेट कम भएपछि ठेकेदारले टेन्डर नहालेका हुन् । ठेकेदारले टेन्डर नहालेपछि आएको बजेट फिर्ता जाँदा पनि समस्या भएको उनको भनाइ छ । फेरि टेन्डर आह्वान गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाभरि झन्डै ५ करोड रुपैयाँ बजेट विनियोजन गरी ७ योजना सुरु गरेकामा ३ योजनाको काम भने सकिएको छ ।योजना निर्माणको काम सकिएपछि बन्गाडकुपिण्डे नगरपालिकाका २ र ३ वडा, बाग्चौर नगरपालिकाका ११ र १२ वडा र कालिमाटी गाउँपालिकाका २ र ४ वडामा भने बिजुली बलिसकेको उनले जानकारी दिए । तीन वटा योजनाको काम सकिएपछि झन्डै २ हजार घरमा बिजुली बलेको उनले बताए । ‘अबको ६ महिनाभित्र ती ठाउँमा पनि बिजुली बल्छ,’ उनले भने, ‘टेन्डर आह्वानको काम एक साताभित्रै गर्छौं ।’

एक वर्षदेखि विद्युत् विस्तार अलपत्र

क्यान्सर पीडित विश्वकर्माद्वारा सहयोगको अपिल

एक वर्षदेखि विद्युत् विस्तार अलपत्र

कुशलको शतकमा नामिबियामाथि नेपालको रबाफिलो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!