जनयुद्ध दिवसमा कसले के भने ?

रुकुम पश्चिम,२ फाल्गुन ।
पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य जनार्दन शर्माले सत्ताको म्याराथन संख्यामा भन्दा एजेण्डामा गर्न आवश्यक रहेको बताएका छन् ।माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्माले रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले २८ औ जनयुद्ध दिवस’को अवसरमा आयोजना गरेको ‘पाँचौ सानीेभेरी मौराखारा गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम’मा राष्ट्रिय सहमतीको लागि म्याराथन गर्न आवश्यक रहेको बताएका छन् । ।
कार्यक्रममा उनले काठमाण्डौंमा सत्ताको म्याराथन चलिरहेको बताउँदै रुकुममा आन्दोलनको बहस र स्मरण चलिरहेको उल्लेख गरे । सामन्तवादको अन्त्यका लागि जनयुद्ध भएको उल्लेख गर्दै शर्माले जनयुद्ध र जनआन्दोलन मार्फत जनतालाई सार्वभौम बनाएको दाबी गरे । जनयुद्धलाई विभिन्न कालखण्डका आन्दोलनहरुको संश्लेषण गर्ने दिनको रुपमा लिन आग्रह गर्दै शर्माले नेपाली समाजवादको बारेमा पार्टीहरु बीचमा सहमती आवश्यक रहेको बताए ।
कार्यक्रममा पूर्वमन्त्री शर्माले संविधानको रक्षा र संघीयताको कार्यान्वयनको बारेमा बहस गर्ने बेलामा सत्ता टिकाउन संख्याको गिन्ती हुनु दुर्भाग्य रहेको बताए । ‘सत्ताको म्याराथन गर्ने नेताहरुलाई मेरो सन्देश छ,’ शर्माले भने, ‘सत्ता म्याराथन संख्यामा हैन, एजेण्डामा गरौ, राष्ट्रिय सहमतीमा गरौ ।’

उनले को राष्ट्रपति, प्रधानमन्त्रीको अवधि कति भनेर बहस गर्नुभन्दा पनि एजेण्डा र जनतालाई कसरी खुशी बनाउने उपायको बारेमा ध्यान दिन अनुरोध गरे । कार्यक्रममा उनले जनतालाई रोजगारी दिने प्रमुख बाटो श्रमसहकारी भएकोले यसको व्यवस्थापन जरुरी रहेको उल्लेख गरे ।
प्राकृतिक रुपले सम्पन्न देशमा गरिब नागरिकहरु हुनुपरेकोले गरिबी अन्त्यको छलफल प्रमुख रहेको उनको भनाई रहेको छ । सन्तुलित परराष्ट्र नीति, नागरिकताको समस्या समाधान, राष्ट्रियताको रक्षा, प्राकृतिक स्रोतको प्रयोग, पर्यावरणको रक्षा गर्न प्रमुख आवश्यकता रहेको उनले उल्लेख गरे ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनयुद्ध जनताको शासनको पक्षमा भएको बताए । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम २०७९ मा बोल्दै मुख्यमन्त्री शर्माले जनयुद्ध सामन्तवाद र राजतन्त्रका विरुद्ध भएको उल्लेख गरे ।
राजतन्त्रले बेला बेलामा जनतालाई धोका दिएकोले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताको लागि जनयुद्ध भएको शर्माले जनाउनुभयो । जनयुद्ध र जनआन्दोलनको उपलब्धिहरुको रक्षा वर्तमानको दायीत्व भएकोले यो दायीत्व पूरा गर्नतर्फ सबै सचेत भएर लाग्न उनले आग्रह गरे । मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला आएका शर्माले आफू जनताको कामदारको रुपमा मुख्यन्त्रीको कुर्सीमा पुगेको बताए । उनले अब आफू जिल्ला–जिल्ला र गाउँमा पुगेर जनताका आवश्यकता बुझ्न लागिपर्ने बताए ।
कर्णाली सरकारले गरीबी र कुसंस्कार अन्त्यको लागि योजना बनाईरहेकोले योजना बनाउन र कार्यान्वयनमा सघाउन उनले आग्रह गरे । कर्णाली बनाउने सपना सामाजवादी क्रान्ति मार्फत पूरा हुने विश्वास समेत उनले राखे । राष्ट्रिय स्वाधिनताका लागि प्रतिबद्धता जरुरी रहेको र राजनीतिमा सिर्जनात्मक प्रतिश्पर्धा जरुरी रहेको उनले बताए । हतियार उठाउनु बाध्यता थियो, अब फेरि हतियार उठाउन नपरोस् जनताको चाहना रहेको मुख्यमन्त्री शर्माले उल्लेख गरे ।
यस्तै कर्णाली प्रदेश सभाका सदस्य एवं कांग्रेस नेता राजीव बिक्रम शाहले एकतामा नै नेपालीको भविष्य रहेको बताए । । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन तथा साँस्कृतिक कार्यक्रम २०७९ मा शाहले नेपालमा सबै मिलेर गणतन्त्र आएको, नयाँ संविधान जारी भएको बताउनुहुँदै सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन आवश्यक रहेको उल्लेख गरे ।
शाहले कुनै सयम युद्धको, कुनै समय शान्तिको हुने भन्दै अब विकासको समय आएको उल्लेख गरे । सबै दलहरुले देश र जनताका लागि सोचेर सिस्टममा देश चलाउन जरुरी रहेको उनकोे भनाई रहेको छ । नेपाल एथ्लेटिक संघका अध्यक्ष समेत रहेका शाहले खेलकुद, कला, सँस्कृतिमा भेदभाव हटाएर सबैलाई एक ठाउँमा उभ्याउन सक्ने ताकत भएको जनाए ।
कार्यकर्ताहरुले नेताहरुलाई अनावश्यक प्रेसर दिनुभन्दा असल र सकारात्मक बन्न हौसला दिनुपर्ने उनकोे भनाई रहेको छ । कार्यक्रममा उनले सामाजिक कार्यमा एक हुन र विकासको बाधक नबन्न सबैलाई अनुरोध गरे ।






