दस दिनभित्र सत्ता गठबन्धन भत्काउँछौंः गगन थापा

बुटवल, १ फागुन ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दस दिनभित्र अहिलेको सत्ता गठबन्धन भत्किने बताएका छन्। फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने उनले दाबी गरे। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं।’

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको सत्ता गठबन्धन भत्काउने जिकिर गरे। उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन बन्नुपर्ने बताए।

चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ। नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहना अनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गरे। उनले एमाले अध्यक्ष केपी ओलीले भनेको व्यक्ति राष्ट्रपति भए सिंह दरबारबाटै शितल निवासको लेटर प्याड र रबर स्ट्याम्पले राष्ट्रपतिको काम हुने भन्दै देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसले तय गरेको व्यक्ति राष्ट्रपति हुने बताए।

दस दिनभित्र सत्ता गठबन्धन भत्काउँछौंः गगन थापा

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *