हण्डर खाएर कर्मवीर भएका ‘डण्डवीर’

सिर्जना बुढाथोकी

सुर्खेत,१ फाल्गुन ।

मानिसलाई कि दुःखले केहि गर्न सिकाउँछ कि त धेरै लगानी गर्नसक्ने पूँजी भएकाले गर्न सक्छन् । तर दुःखपछिको सुखले आफ्ना भावी सन्ततीका लागि पनि राम्रो उदाहरण र पाठ सिकाउँदो रहेछ । यसकै उदाहरणका रुपमा रहेका सल्यान जिल्लाको बागचौर नगरपालिका–९ का डण्डवीर डाङ्गीले आफुसंग भएको थोरै जमिनलाई सदुपयोग गरेर सुन्तलाको २५ वटा विरुवाबाट शुरु गरेको खेतीबाट अहिले एक सिजनमै लाखौ कमाई हुन थालेपछि खुशी भएका छन् ।

उनका परिवारका सदस्य सबै मिलेर अहिले सुन्तलाकै खेती गर्ने र वर्षमा तीन महिना डण्डवीर भारतपनि जाने गरेका छन् तर पैसा कमाउनभन्दा पनि फलफूल खेती सम्बन्धि थप ज्ञान बटुल्नका लागि । आफुलाई काम सिकाउने र दुःखको समयमा रोजगारी दिने भारतलाई उनले माया मार्न सकेका छैनन् ।

आमाबिनाको बाल्यकालः

सल्यान जिल्लाको बागचौर नगरपालिका–९ मा वि.स २०३१ सालमा मेरो जन्म भएको हो । मलाई सबैले डण्डवीर डाँङ्गीको नामबाट चिन्दछन् । मेरो गाउँलाई डाँङ्गी गाउँ भनेर चिन्छन् । मेरो परिवारमा बुवा, आमा, दुई दिदी, म अनि मपछि बहिनी गरेर ६ जनाको परिवार थियो । म नाजुक परिवारमै जन्मिएको हुँ ।

मेरो बुवाले पनि खेतीपाती गरेरै घर चलाउनु हुन्थ्यो, केहि वर्ष कालीपार बस्ने अनि केहि महिना घरमा आउने गर्नु हुन्थ्यो । म करिब दश वर्षको हुँदा मेरो आमाको बिरामी भएर मृत्यु भयो, अनि हामी टुहुरा भयौ । परिवारमा सबै भएपनि आमाबिनाको सन्तान टुहुरो हुँदो रहेछ । आमाले जति स्याहार, माया अरु कसैले दिदो रहेनछ ।

आमाको मृत्यु भएको दुई वर्ष नपुग्दै बुवाले कान्छीआमा ल्याउनुभयो र हामी असली टुहुरा भयौ । कान्छीआमाको तिरस्कार, अपहेलना अनि टोक्साई सहन नसकेर मेरा दिदी र बहिनीले १३ वर्षको उमेर नहुँदै विवाह गरेर गए । छोरी मान्छे त विवाह गरेर गए तर म छोरालाई न जाने ठाउँनै भयो न घरमा बस्न सक्ने अवस्था ।

कान्छीआमा पनि शारिरीक रुपमा अशक्त भएकाले काम गर्नपनि मसक्ने अनि सबै कामको जिम्मा हामी भाई बहिनीको लागि थियो । जति काम गरेनी नदेख्ने कान्छीआमा र आमाका कुरा काट्न नसक्ने बाबु हुँदा हामीलाई साह्रै पीडा भयो जीवन निर्वाह गर्न अनि म पनि कान्छीआमा भित्रिएको एकवर्ष मै भारतको हिमाचल प्रदेशतर्फ लागे ।

त्यहाँ मैले फलफूलको खेती गर्न, फल फलेपछि बिक्रि गर्नका लागि बोकेर बिक्री गर्नका लागि लग्ने काम गर्न थाले यसले मलाई पैसा कमाई त त्यस्तै हो महिनामा २५ रुपैयाँ कमाउँथे तर कामको सिकाई पनि हुन थाल्यो । राम्रो काम गर्नका लागि मेरो पढाई थिएन समस्यामा हुर्किएको म सामान्य पाँच कक्षा मात्रै पढेको छु । आखिर दुःख नै गर्नु छ भने जस अनि आम्दानी पनि हुने गरेर गर्नुपर्छ भन्ने सोचेर म भारत (कालीपार) लागे अनि शुरु भयो मेरो जीवनको असली संघर्षको दिन ।

कालीपारले दिएको जीवनः

म करिब १४ वर्षको हुदाँ भारतको हिमाचलमा स्याउको बगैचामा काम गर्न गएँ । स्याउँको बगैचामा काम गर्ने, विरुवा लगाउनेदेखि फललाई विक्रि गर्ने, लोडअनलोडको काम गरेर केहि सामान्य रकम जम्मा गरे । आठ नौ महिना बसेर मैले दुई तीन हजार ल्याएर घर आउँथे । यसरी करिब ढाई वर्षसम्म काम गरेर म घरतिर आएँ अनि विवाह गरे ।

विवाह गरेर श्रीमती घरमा छोडेर भारत गएँ तर मेरी श्रीमतीलाई घरमा बस्ने अवस्था नभएपछि उनलाई पनि भारतमै लगे र हामी दुईजना मिलेर काम गर्न थाल्यौ । मेरो मामापनि हामीसंगै काम गर्नुहुन्थ्यो । उहाँले अब सधै यसरी काम गरेर हुँदैन गाउँमै गएर केहि गरौ भन्नुभयो र हामीले पनि ठीकै हो भन्ने सोचेर फर्कियाै ।

मलाई एउटा कुरा याद आयो मेरो बुवाले २०४३ सालमा कृषि विकास बैंकबाट ऋण लिएर घरको वरपर बारीको छेउछाउमा बीस बाइसवटा सुन्तलाका बुटा लगाउनुभएको थियो । त्यो समयमा घरसम्म पुग्ने बाटाघाटा पनि थिएनन् सिंचाईको सुविधा पनि थिएन । त्यतिबेला दुई चार क्विन्टल सुन्तला फल्थे त्यहि डोकामा बोकेर बजार लगेर बेच्ने गर्थिम् । २०६० सालको कुरा हो, त्यहि सुन्तला खेतीमा सम्भावना देखेर यसलाई प्राथमिकतामा राखेर मैले आफ्नो घर वरपर रहेका जग्गामा खाडल खनेर करिब डेढसय विरुवा एकै वर्षमा लगाएँ ।

दश वर्षपछि सुन्तलाको फलः

यसरी मैले व्यवसायिक रुपमै सुन्तला खेती गर्छु भन्ने योजनाका साथ अगाडि बढे । त्यो समयमा पाँच रुपैयाँको एउटा सुन्तलाको बिरुवा पाइन्थ्यो । खाडल खन्ने काम आफै गरेपनि बिरुवा किन्ने पैसा नभएर मैले साहूसंग सापटी काढेर बिरुवा किने । त्यतिबेला दश एघार रोपनी मात्रै मेरो जमिन थियो, आधा अनाज उत्पादनका लागि राखियो भने आधामा सुन्तलाका विरुवा लगाएँ ।

त्यो समयपनि विरुवा हुर्किन समय लाग्ने भएकाले म आधा वर्ष भारत, आधा वर्ष घर आउने काम गरे । इण्डियामा पनि फलफूलको काम गरे । हाम्रै साविकको कोटमौलासम्म बाटो आएपछि पुराना र नयाँ सुन्तलाका विरुवाको स्याम्पल लिने काम भयो । २०६० सालमा लगाएका विरुवाले २०७१ सालमा बल्ल फल दियो त्यो समयमा एक पिकअप गाडी जति फल फल्यो ।

बाइस रुपैयाँ के.जी थियो त्यो समयमा, ज्याला दिएर बीस रुपैयाँ केजीसम्म आफुले पाउने गरि विक्रि भयो । त्यसले घरव्यवहार चलाउन केहि सहज भयो, मेरो कालीपारको मात्रै भर भएन अब त विरुवाले पनि फल दिन थाल्यो, जसले खुशी थपियो । त्यसपछि मैले घरसम्म आउने आफ्नो निजी बाटो ल्याएँ ।

सुन्तलाका बिरुवा पनि थप्दै गएँ, साढे तीन सय जति विरुवा पुर्याएँ । यसरी सुन्तला विक्रि गर्दै जाँदा मैले केहि रकम वचत गर्दै गए जसले घर छेउकै जमिन किने करिब ६ लाख रुपैयाँमा । अहिले सुन्तला भएको ठाउँमा सिंचाईको सुविधा नभएकाले पनि मैले नयाँ लिएको जमिनमा सिंचाई सुविधा भएकोले बाँकी खेती अनाजका लागि किनें । २०७२ सालमा तीन चार लाख जतिको सुन्तला बेच्ने मैले गत वर्ष ९ लाखको विक्रि गरे भने यो वर्ष करिब १७ लाख बराबरको सुन्तला बेचे मैले ।

यो खेतीमा मैले सरकारको तर्फबाट सहुलियत ऋणपनि लिए बैंकबाट । जसको व्याज ८ प्रतिशत भएपनि किसानले १ प्रतिशत मात्रै तिर्ने बाँकी ब्याज सरकारले तिरिदिनेवाला सहुलियत ऋणतर्फ साढे ८ लाख लिएँ जसले मेरो व्यवसायमा थप टेवा पुग्यो । अब त्यो ऋण तिर्न धेरै छैन सक्किन थालिसकेको छ ।

यसवर्षको कृर्षि मेलामा सबैभन्दा धेरै सुन्तला विक्रि गर्ने किसानका रुपमा उद्योग वाणिज्य संघको पुरस्कार तथा सम्मान पनि पाउने अवसर पाएँ । यसवर्ष मेरो शुरु शुरुमा ४० देखि ५० रुपैयाँँ केजीमा विक्रि गरियो भने पछि ८६ क्विण्टल ९० रुपैयाँका दरले विक्रि गरे । यो पटक मेरो सुन्तला उत्पादन दुई सय पाँच क्विण्टल भयो । घरमै व्यापारी आए सुन्तला खरिद गर्नका लागि ।

गाउँमा अरुको जमिन बढि भएपनि उत्पादन र विक्रि भने मैलेनै धेरै गर्ने अवसर पाएँ, भगवानको कृपा रहेछ ममा । अहिले मेरो ९ जनाको परिवार छ, दुई नातिनी, दुई छोरा, दुई बुहारी अनि हामी बुढाबुढी र कान्छी आमालाई पनि मैलेनै रेखदेख र पालनपोषण गरेको छु । उहाँले हामीमाथि जे जस्तो कर्म गरेपनि मैले छोराको धर्म निभाएको छु र उहाँको राम्रो रेखदेख गरेको छु ।

हण्डर खाएर कर्मवीर भएका ‘डण्डवीर’

हाम्रो नाममा बनेका कानून सच्याइनुपर्छ :  द्वन्द्व

हण्डर खाएर कर्मवीर भएका ‘डण्डवीर’

YUGAAWHAN NATIONAL DAILY (2079-10-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!