मुगु हिमपहिरोमा परहेकाहरुको अवस्था अझै अज्ञात

सुर्खेत । मुगुको हिमपहिरोमा परी वेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । बैशाख १२ गते मुगुको मुगुम कर्मारोङ गाउँपालिका-२ को च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फी गाउँका ३६ वर्षीय पुन्न सार्की र सोही ठाउँका ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बिहिबारसम्म पनि फेला पर्न नसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

सो हिमपहिरोमा जुम्लाका १४ र मुगुका एक गरी १५ जना परेका थिए । प्रजिअ थापाका अनुसार अन्य १२ जना घर फर्किसकेका छन् । बिहिबार बेपत्ताहरुको खोजिमा गएको सुरक्षाकर्मीको टोली खालि फर्किएको प्रजिअ थापाको भनाई छ । ‘२१ जना सुरक्षाकर्मी र यार्सा टिप्न गएकाहरु मध्ये दुई जना घटनास्थलतर्फ गएका थिए ।
हिँउ थपिनेक्रम जारी छ । थापाले भने, ‘उद्दार टोलीलाई बाटो देखाउन गएका ति दुई जनापनि माथि जान नसक्ने भन्दै फर्किसकेका छन् । हामी निरन्तर उद्दारको प्रयासमा छौं । १०-१२ फिट हिँउ जमेको हुनाले पनि थप समस्या भएको छ ।’






