पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई आज बिहान निवासबाटै पक्राउ गरिएकाे प्रहरीकाे उच्च स्राेतले जानकारी दिएकाे छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेकाे भन्दै अनुसन्धानका लागि खाँणलाई पक्राउ गरिएकाे हाे ।
ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दाहाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।
याे प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १० जना पक्राउ परिसकेका छन् । एमालेका सचिव टाेपबहादुर रायमाझी प्रहरीकाे फरार सूचीमा छन् ।
अदालतले पक्राउ पुर्जी जारी गरेकै दिनदेखि रायमाझी फरार भएका हुन् । उनी भारत पसेकाे आशंकामा प्रहरीले सीआईबीकाे टाेली परिचालन गरेकाे छ । रायमाझीका छाेरा सन्दीप भने पक्राउ परिसकेका छन् । राजनीतिक पार्टीका हाई प्राेफाइल जाेडिएपछि याे प्रकरण ‘फासफुस’ पार्ने प्रयास भइरहेका बेला प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई पक्रेकाे हाे ।






