एमयूको सम्बन्धन रद्दको सूचनाले विद्यार्थीमा सन्देह
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले ‘शैक्षिक संस्थागत नमुना तथा सम्बन्धन सम्बन्धी कार्यविधि, २०७९’ लाई संशोधनको तयारी गरेको छ । सोमवार सूचना जारी गर्दै मध्यपश्चिम विश्वविद्यालयले सम्बन्धन सम्बन्धी प्रक्रिया स्थगन भएको र आवश्यक परेको खण्डमा कार्यविधि समेत संशोधन गरिने जनाएको छ ।
यसअघि २०७९ चैत्र २९ गते विश्वविद्यालयले प्रकाशन गरेको सम्बन्धन सम्बन्धीको सूचना बमोजिमको प्रक्रिया २०८० जेठ २० गतेसम्मका लागि स्थगन भएको समेत सूचनामा उल्लेख छ । यसविच सोमवार पछिको २७ दिनको यो समयमा भने विश्वविद्यालयले सम्बन्धन सम्बन्धी प्रक्रियामा यहाँका नागरिक समाजका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, प्राध्यापक, सरकारी निकायका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरुसँग आवश्यक छलफल, संवाद् एवं अन्तरक्रिया आयोजना गरिने विश्वविद्यालयले जनाएको छ ।
अन्तरक्रिया र संवाद् मार्फत कार्यविधिमा संशोधन गर्न आवश्यक भएमा संशोधन समेत गरी सम्बन्धन प्रक्रिया अघि बढाउने निणर्य भएको विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ । कार्यविधि संशोधनको मिति तोकेर विश्वविद्यालयले सम्बन्धन सम्बन्धी सूचना जारी गरेपछि यतिखेर मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुमा विश्वविद्यालयप्रति नै सन्देह उत्पन्न भएको छ ।
विद्यार्थीहरुसँग सम्बन्धन सम्बन्धी प्रक्रिया रद्द गर्ने निणर्य गरेको जनाउँदै निणर्यमा ‘सरोकारवालाहरुको राय लिई’ भन्ने शब्दका आधारमा सम्बन्धनलाई यथावत राख्ने योजना गरिएको विद्यार्थीहरुको आरोप छ । ‘सम्बन्धन प्रक्रिया तत्काल रद्द नै गरिनुपर्छ र क्याम्पसहरुको गुणस्तर सुधारको अभियान थालनी गरिनुपर्छ’ भन्ने दुई बुँदे माग सहित विद्यार्थीहरुले यसअघि बैशाख १० गतेदेखि रिले अनसन बसेका थिए । सम्बन्धनले शिक्षाको व्यापारिकण र निजिकरण गरेको विद्यार्थीहरुको आरोप छ ।
बैशाख २० गते विश्वविद्यालयसँग भएको अन्तिम वार्तामा विद्यार्थीहरुले ‘सम्बन्धन सम्बन्धी प्रक्रिया रद्द गर्ने र सम्पूणर् सरोकारवाहरुको राय लिई प्राप्त रायका आधारमा मात्र आवश्यक निणर्य गर्ने’ सहमति गरेका थिए । विश्वविद्यालयले भने सम्बन्धनका विषयमा आगामी जेठ २० गतेसम्मलाई स्थगन गरिएको मिति तय गर्दै सरोकारवाहरुको राय लिने र रायका आधारमा सम्बन्धनका प्रक्रिया अघि बढाउने बताएपछि विद्यार्थीहरु अहिले आशंकित बनेका छन् ।
‘हाम्रो माग भनेकै सम्बन्धन रद्द गर्नु हो’
विश्वविद्यालयले सम्बन्धनका विषयमा करिव एक महिनाको समय तोकेको सन्दर्भमा अखिल क्रान्तिकारीका जगत शाहीले आपत्ती जनाए । उनले भने, ‘एक महिनालाई सम्बन्धन स्थगित गर्ने विषयमा हामीसँग वार्ता भएको होइन । क्याम्पसमा शैक्षिक गुणस्तर बढाउँनुको साटो वाहिर सम्बन्धन बाँढेर विश्वविद्यालय बन्दैन ।’ सम्बन्धनका विषयमा खुला छलफल हुनुपर्नेमा भने आफुहरु सहमत भएको उनले बताए । ‘विश्वविद्यालय स्थापनामा सघाउँ पुर्याएका यहाँका शिक्षाप्रेमी, चन्दादाता, नागरिक सरोकार सबैको राय भने लिइनुपर्छ । तर एक महिनाको समयमा राय लिएर अघि बढ्ने विषयले हामीलाई झन् जिस्काएको छ ।’
सम्बन्धन प्रक्रिया हाललाई रद्द गर्नुनै विद्यार्थीहरुको पहिलो र अन्तिम माग रहेको उनको दावि छ । क्याम्पसहरुमा शैक्षिक गुणस्तर सुधारको साटो सम्बन्धन बाँढ्ने गतिविधिका विरुद्ध आफुहरु सधै सक्रिय हुने उनले बताए । यता नेपाल विद्यार्थी संघका राजन केसीको पनि धारणा उस्तै त । विश्वविद्यालयले सम्बन्धनको विषय तत्काल रद्द नै गर्नुपर्ने उनले बताए ।
सम्बन्धित समचार
https://www.yugnews.com/2023/05/68237
‘एमयूले पहिले हाइड्रोपनि पढाएको हो नि । त्यो बेला ४० जना विद्यार्थी भर्ना भएका थिए । अहिले १० जना विद्यार्थी पाउँन पनि एमयूलाई मुस्किल परेको छ’, उनले भने, ‘यसअघि आएको इञ्जिनियरिङको लाइसेन्सको नतिजाले पनि यहाँको शैक्षिक गुणस्तर देखाएको छ । अन्य विश्वविद्यालयको तुलनामा मध्यपश्चिम विश्वविद्यालयका न्यून विद्यार्थी लाईसेन्समा उत्तिणर् भएका छन् ।’ नीजिलाई सम्बन्धन बाढ्नुको साटो आफ्ना कलेजहरुमा शैक्षिक गतिविधि सुधार तर्फ विश्वविद्यालयले बढी ध्यान दिनुपर्ने उनको सुझाव छ ।
‘जेठको पहिलो हप्ता हाम्रो केन्द्रिय कमिटीको बैठक छ । यहाँको सम्बन्धनको विषय पनि हाम्रो बैठकमा एजेण्डाका रुपमा प्रवेश गर्दैछ’, अनेरास्ववियूका निकुञ्ज पाण्डेले भने, ‘नीजिलाई सम्बन्धन दिन लागिएको विषयले शिक्षालाई व्यापारिकण गर्न प्रोत्साहित गर्नु हो । यसका लागि व्यापक छलफल आवश्यक छ ।’