जुम्लाकाे फुटबल प्रतियाेगितामा भैरव मावि र त्रिभुवन मावि विजेता

जुम्ला, २० असोज ।
अण्डर १६ फुटबल प्रतियोगिताको छात्रतर्फ भैरव मावि धोपिढुस्का र छात्रातर्फ त्रिभुवन मावि झारज्वालाको टिम विजेता भएको छ । शनिबार भएको फाईनल खेलमा त्रिभुवन मावि झारज्वाला र भैरब मावि धोपिढुस्का बिच भएको खेलमा १ का विरुद्ध २ गोलले भैरब मावि धोपिढुस्का विजेता भएको हो ।
त्यस्तै छात्रातर्फ त्रिभुवन मावि झारज्वाला र चन्दननाथ माविका बिच भएको थियो । निर्धारित समयमा बराबरी गोल भएपछि पेनाल्टी सुटआउटमा चन्दननाथ माविका छात्रालाई पराजित गर्दै त्रिभुवन मावि झारज्वालाका छात्राको टिम विजेता भएका हो ।

प्रति टिमबाट ५ जनाले पेनाल्टी हानेकोमा त्रिभुवन माविको गोलकिपरले १ एउटा बल रोक्नुका साथै चन्दननाथ माविका छात्राले हानेको एउटा बल पोलमा लाग्दा ३ का विरुद्ध ५ गोलले त्रिभुवन माविको छात्राको टिम विजेता भएको हो । विजेता दुवै टिमले ट्रफि र फुटबल प्राप्त गरेको छ ।
त्यसैगरी उत्कृष्ट खेलाडीमा चन्दननाथ माविका छात्रा ललिता बुढा र छात्रतर्फ भैरव मावि धोपिढुस्काका दिनेश धरालाले प्रमाण पत्र पाएका छन् । उत्कृष्ट गोलकर्ताको प्रमाण पत्र त्रिभुवन मावि झारज्वालाका छात्रा अस्मिता भण्डारी र जयरत्न कर्णाली बोर्डिङ्ग स्कुलका छात्र सुमन जैशीले पाएका छन् ।
भण्डारीले ३ र जैशीले ४ गोल गरेको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दिपेन्द्र विक्रम हमालले बताए । त्यस्तै उत्कृष्ट गोल रक्षकको प्रमाणपत्र त्रिभुवन माविका छात्रा कन्चन भण्डारी र भैरव मावि धोपिढुस्का छात्र नविन रावलले पाएका छन् ।

उत्कृष्ट डिफेन्सको प्रमाण पत्र भैरव माविका छात्र पारस धराला र त्रिभुवन माविका छात्रा टिका थापाले पाएका छन् । अण्डर १६ फुटबल प्रतियोगिता शान्त, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न भएको थियोे। त्रिभुवन माविका छात्रा र भैरव माविका छात्र कर्णाली प्रदेशको सुर्खेतमा हुने फुटबल प्रतियोगितामा भाग लिनेछन् ।
असोज १३ गतेका दिनबाट सुरु भएको फुटबल टुनामेन्ट प्रतियोगितामा १८ वटा छात्र र १२ वटा छात्राको टिम सहभागि हुनेछन । सहभागि सबै विद्यालयलाई प्रमाण पत्र प्रदान गरिएको छ ।






