मुगु हिमपहिरोमा परी हराएका १२ जना सम्पर्कमा आए

सुर्खेत । हिमपहिरोमा परी हराएका जुम्लाका १२ जना सम्पर्कमा आएका छन् । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ का उनीहरु जिल्ला प्रशासन कार्यालय मुगुको सम्पर्कमा आएका हुन् । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार शुक्रबार हिमपहिरोमा परेका उनीहरु आइतबार सम्पर्कमा आएका हुन् ।

‘हिमपहरोमा परेकामध्ये १२ जना प्रशासनको सम्पर्क आएका छन् । उनीहरुले हामीलाई भने अनुसार एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको भन्ने छ । एकिन के हो अहिले नै भन्न सकिने अवस्था छैन ।’ प्रजिअ थापाले भने, ‘सम्पर्कमा आएकाहरुको उद्दारका लागि हेलिकप्टरको माग गरेका छौं । यसका लागि गृहमन्त्रालयमा आवश्यक समन्वय भई रहेको प्रदेश सरकारबाट जवाफ आएको छ । हेलिकप्टर आउने वित्तिकै त्यसतर्फ सुरक्षाकर्मीसहित उद्दार टोली खटाउने तयारी छ ।’
सम्पर्कमा आएकाहरुको अवस्था सामान्य रहको थापाको भनाइ छ । हेकिप्टर आएको खण्डमा आइतबार सुरक्षाकर्मीसहितको उद्दार टोली घटनास्थलतर्फ पठाउने तयारी भइरहेको उल्लेख गर्दै प्रजिअ थापाले भने, ‘हेलि ल्याण्ड हुने ठाउँबाट घटनास्थलको दुरी २७ किलोमिटर पर्छ । उक्त ठाउँसम्म पुग्न डेढ दिन जति लाग्छ । हिँउ पन्छाएर घटनास्थल पत्ता लगाई उनीहरुको उद्दार गरेर हेलिकप्टर बस्ने ठाउँसम्म ल्याई पुर्याउन अझै चारदेखि पाँच दिन जति लाग्छ ।’ थापाका अनुसार पूणर्सिंह सार्कीको शव भेटिएको र तारासिंह सार्की र वीरबहादुर बोहोरा अझै बेपत्ता रहेका छन् ।
मुगुमा यार्सागुम्बा संकलनका लागि आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिएको भएपनि उनीहरु अर्कै बाटो हुँदै वैशाख ११ गते पाटनतिर निस्किएका जनाइएको छ । हिमपहिरो गएको स्थान झन्डै ५ हजार मिटरको उचाइमा रहेको छ ।






