कर्णालीका दुई जिल्लामा भूकम्पको महाविपद्


गयराती जाजरकोट केन्द्रविन्दु भएर गएको २०७२ को महाभुकम्प पछि दोस्रो ठुलो भूकम्प हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंको अनुसार शुक्रवार राति ११ः४७ बजेको समयमा गएको उक्त भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको थियो ।
२०७२ पछि नेपालमा ६ रेक्टर स्केल भन्दा बढी क्षमताका थोरै संख्यामा मात्र भूकम्प गएका छन् । २०७२ पछि हालसम्म नेपालमा ठुलाखाले क्षमतामा ६ दशमलव ६ रेक्टर स्केलसम्मका भूकम्प गएको केन्द्रको तथ्यांक छ ।
गत वर्ष २०७९ को कार्तिक २३ गते सुदुरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प भएको थियो । यो नै २०७२ पछिको पहिलो ठुलो भूकम्प मानिन्छ । यस समयमा डोटी लगायतका क्षेत्रमा भने धेरै जनधनको क्षति भने भएन । यस भूकम्पका कारण डोटीमा ६ जनाको मृत्यु र पाँच जना घाईते भएको तथ्यांक छ ।
२०७२ पछि नेपालमा ६ रेक्टर सकेल माथिका ६ वटा भूकम्पहरु आएका थिए । २०७७ मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसैगरी २०७९ मा खोटाङ्ग केन्द्रविन्दु भएर समेत ६ रेक्टर स्केलको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ । अहिले २०८० मा पनि हालसम्म ६ रेक्टर स्केल माथिका तीन वटा भूकम्पहरु नेपालमा आईसकेका छा् ।
गत असोज महिनामा बझाङ्ग केन्द्रविन्दु भएर ६ दशमलव ३ र कार्तिक ५ गते धादिङ्ग केन्द्रविन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको केन्द्रको तथ्यांक छ । यसअघि २०७२ को महाभूकम्प समयमा गोर्खा र दोलखा केन्द्रविन्दु भएर ६ दशमव २ देखि ७ दशमलव आठ रेक्टर स्कलेलसम्मका ६ वटा भूकम्प गएका थिए ।
जाजरकोट र पश्चिम रुकुमका दुर्गम क्षेत्रहरूको थप विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने देखिएको छ । पाँच सय वर्षयता महाभूकम्प नगएको गोर्खा पश्चिमको त्यस क्षेत्रमा केही समयदेखि पश्चिम नेपालका विभिन्न जिल्लाहरूलाई केन्द्रविन्दु बनाएर भूकम्प गए पनि यति ठूलो जनधनको क्षति गरेको थिएन । ‘मध्य रातमा मस्तसँग सुतेका मानिसले गुहार नै पाएनन् ।
घरहरू भत्किए मानिसको हताहती
बढ्यो,’ भूगर्भ विभागका भूकम्पविद् मुकुन्द भट्टराईले भने ‘बाजुरा, बझाङ र डोटीको भूकम्प बराबर भए पनि यसमा बढी क्षति हुनुको कारण विभिन्न छन् ।’ भट्टराईका अनुसार केन्द्रविन्दुबाट ‘बस्ती कति टाढा छ, उद्गमविन्दु र केन्द्रविन्दुमा पर्छ ? भौगोलिक, भौगर्भिक अवस्था कस्तो छ ?, भौगर्भिक जटिलता कस्तो छ ? त्यस क्षेत्रमा यसभन्दा अघि गएका भूकम्पहरूले कतिको पराकम्प आइरहेका छन् ? पहिलेका भूकम्पहरूले घरहरूलाई कतिको क्षति पु¥याएका थिए वा थिएन ?’ लगायत विषयले भूकम्पमा हुने क्षति बढी र घटी हुने गरेका छन् ।
नेपाल भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्छ । तर गोर्खा पश्चिम र भारतको देहरादुन पूर्वतर्फ ५ सय वर्षदेखि महाभूकम्प गएको छैन । साना भूकम्पहरू भने पटक–पटक जाने गरेका छन् ।
‘भूकम्पको जोखिम क्षेत्रमा पर्ने भए पनि गोर्खाबाट पश्चिम र भारतको देहरादुनबाट पूर्व पछिल्लो पाँच सय १८ वर्षदेखि ठूलो भूकम्प नगएको क्षेत्रमा पर्छ । सन् १५०५ पछि पश्चिम नेपालमा ठूलो भूकम्प गएको छैन,’ भट्टराईले भने, ‘पछिल्लो समयमा कतिले बाजुरा वा बझाङ वा डोटी वा अन्यत्र केन्द्रविन्दु बनाएर भूकम्प जाने गरेका छन् ।
त्यस क्षेत्रमा कम्पन भई नै रहेको छ । त्यस क्षेत्रमा घरहरूको बनावट पनि कच्चा प्रकारका छन् ।’ उनले माटो ढुंगाले जोडेर बनेका र ढुंगाले नै छाएर बनाएका घरहरूमा बढी क्षति गर्छ र अर्कोतर्फ समथर भूभाग नभई भिरालो स्थल रहेको बताए ।
‘पराकम्पन थपिदै थपिदै जाँदा घरहरू धेरै भत्किएर क्षति धेरै भएको देखिन्छ,’ उनले भने, ‘भूकम्पको उद्गमस्थल यूएसजीएसले १९ किलोमिटर राखेको छ । त्यसका लागि केन्द्रविन्दु नजिकै रहेका तीन वटा मापन केन्द्रको रेकर्ड हेर्नुपर्छ । नेपालको जाने भूकम्पको उद्गमविन्दु भौगोलिक अवस्थितिको कारण ३० किलोमिटरभन्दा कम गहिराइकै हुने गरेको छ । यति नै हो भन्ने निश्चित भइसकेको
छैन ।’
लगातार ५ वटा भूकम्पका धक्का
पछिल्लो २४ घण्टामा जाजरकोट केन्द्रविन्दु भएर मात्र पाँच वटा भूकम्प तथा पराकम्पनका धक्का महशुस गरिएको छ । शनिवार राति ११ः४७ बजेको समयमा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प पछि जाजरकोट केन्द्रविन्दु भएर थप चार वटा पराकम्पन्न गईरहेका छन् ।
शनिवार विहान १२ः०८ बजेको समयमा चार दशमलव पाँच, १२ः२९ को समयमा चार दशमलव दुई, १२ः३५ बजे चार दशमलव तीन र विहान ४ः१६ बजेको समयमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्पका केन्द्रविन्दु जाजरकोट रहेका हुन् ।
८४ जना स्वास्थ्यकर्मी परिचालित
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा ८४ जना स्वास्थ्यकर्मीहरु परिचालित भएका छन् । स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारीका अनुसार प्रदेश अस्पतालबाट एक जना विशेषज्ञ डाक्टर सहितका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।
प्रदेश अस्पतालबाट विशेषज्ञ सहित सात जना, दैलेख अस्पतालबाट सात जना, मेहलकुना अस्पतालबाट दुई जना, सल्यान अस्पतालबाट नौं जना, डोल्पाबाट चार जना, प्रदेश आयुर्वेदबाट दुई जना, वीरेन्द्रनगर नगरपालिकाबाट १० जनाको समुह जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा घटाइएको छ ।
त्यसैगरी रुकुम अस्पतालबाट तीन जना, देउती अस्पतालबाट तीन जना, लुम्बिनी प्रदेशबाट २६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ जना र नेपालगञ्ज मेडिकल कलेजबाट तीन जना चिकित्सक सहितका टोली भूकम्प प्रभावित क्षेत्रमा खटाइएको छ ।
त्यसैगरी अन्य पालिका तथा गैरसरकारी संस्थाबाट खटाइएका स्वास्थ्यकर्मीहरुको विवरण समेत अद्यावधिक कार्य भईरहेको स्वास्थ्य सेवा निर्देशनालयबाट विपद्का समयमा खटाइएका ‘फोकल पर्सन’ नवराज कँडेलले जानकारी दिए ।
२५ जना घाईतेलाई प्रदेश अस्पताल ल्याईयो
भूकम्पमा घाईते भएका २५ जना विरामीलाई शनिवार प्रदेश अस्पताल उपचारका लागि ल्याइएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्का अनुसार शनिवार मध्ययानको समयसम्ममा २५ जना विरामी प्रदेश अस्पताल उपचारका लागि ल्याईपुरयाइएको हो ।
प्रदेश अस्पताल पु¥याइएका विरामीहरु मध्येमा एक जनालाई सघन कक्ष (भेन्टिलेटर)मा राखेर उपचार गरिएको छ । त्यसैगरी तीन जनाको शल्यक्रिया र दुई जना उपचार पछि डिस्चार्जको अवस्थामा रहेको डा. खड्काले जानकारी दिए ।
अझैपनि अस्पतालसँग ५० वटा बेड भूकम्पका घाईतेहरुको उपचारका लागि प्रयोग गर्न तयारी अवस्थामा राखिएका छन् । यसका साथै हाललाई स्वास्थ्यकर्मी सहितका जनशक्तिहरु तयारी अवस्थामा रहेको डा. खड्काले जानकारी दिए ।
प्रदेश सरकारद्वारा सहयोग आह्वान
कर्णाली प्रदेश सरकारले भूकम्पबाट व्यापक जनधनको क्षति भएको भन्दै सहयोगका लागि आह्वान गरेको छ । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै पक्षलाई सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने कर्णाली प्रदेश सरकारको निर्णय गरेको थियो । प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।
विपद् कोषलाई बजेट अभाव हुदैनः कानूनमन्त्री
अहिले कर्णालीका लागि सरकारी तथा ग्रैरसरकारी तहबाट समेत सहयोगहरु आउन थालेको छ । यि सहयोगहरुलाई जिल्ला स्थित जिल्ला जिल्ला प्रशासन कार्यालय मार्फत एकद्वार प्रणालीबाट राहत लगायतका कार्यक्रमहरु सञ्चालन गरिदै छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार ति राहत कोषमा प्रदेश सरकारले समन्वय तथा निरन्तर मुल्यांकलनको पाटोमा भूमिका निर्वाह गर्नेछ ।
त्यसैगरी कोभिड–१९ संक्रमण अवस्थाका समयमा सञ्चालनमा रहेको विपद् व्यवस्थापन कोषमा यसअघि कर्णाली प्रदेश सरकारसँग ६ करोड रुपैयाँ हाराहारीमा बजेट थियो । सो मध्ये पाँच करोड रुपैयाँ यसअघि नै विपद्का क्षेत्रमा खर्च गर्ने निर्णय गरिसकिएको छ ।
हालमा समयमा उक्त कोषमा बजेट कम देखिएपनि कोषलाई बजेटको समस्या भने नपर्ने कानून मन्त्री जिसीले बताए । उनले भने, ‘राहतका लागि कोषमा बजेटको समस्या पर्ला भन्ने छैन । आवश्यक भएको समयमा तत्काल निर्णय गरेर बजेट व्यवस्थापन हुन्छ ।’
मृतकको संख्या १५७ पुग्यो
भूकम्पका कारण हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय पाँच जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय पाँच, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन–तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।






