वीरेन्द्रनगरसंग परियोजना स्वामित्व : सञ्चालनमा आएन बेलघारी खानेपानी

पुनम वि.सी.
सुर्खेत, २२ माघ ।

एक करोड ६५ लाख रुपैयाँ लागतमा सम्पन्न भएको बेलघारी खानेपानी परियोजना अहिले वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा छ । वि.सं. २०७७ फाल्गुनदेखि निर्माण सुरु गरिएको यस परियोजनाको प्रारम्भिक सर्वेक्षणले वीरेन्द्रनगर–१० बेलघारी क्षेत्रका पाँच सय ५३ घरधुरीका लागि खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको थियो ।

एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीसहितको यो परियोजना हाल निर्माण सम्पन्न भईसकेको छ । तर परियोजनाले लक्षित गरेको मुस्लिम समुदाय र चौधरी समुदायलाई खानेपानी भने उपलब्ध हुन सकेको छैन ।

वीरेन्द्रनगर–१० स्थित पाँच वटा टोलका घरधुरीमा परियोजना मार्फत खानेपानी पु¥याउने लक्ष्य थियो । नगरपालिकाको १० नंम्वर वडाको उत्तरी क्षेत्रका बेलघारी टोल, पदमपुर टोल, गणेशपुर टोल, पशुपतिनगर टोल र भवानपुर टोलमा परियोजना मार्फत खानेपानी पुर्याउने उद्देश्य थियो ।

नवज्योति केन्द्र सुर्खेतको समन्वयमा एइआइएन लक्जम्वर्ग नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग अति विपन्न र खानेपानीको चरम अभाव रहेको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले यो परियोजना निर्माण भएको हो । तर समुदायमा परियोजना निर्माण पश्चात स्थानीय तहलाई स्वामित्व हस्तान्तरण गर्दा समेत खानेपानी उपलब्ध नभएपछि यतिखेर बेलघारी क्षेत्रका नागरिकहरु चिन्तामा छन् ।

परियोजनाको निर्माण उपभोक्ता समितिका अध्यक्ष अहमद रजाले भने, ‘वीरेन्द्रनगर नगरपालिकाले परियोजना स्वामित्व लिएको छ । तर हालसम्म पनि हामीलाई खानेपानी दिने विषयमा काम भने गरेको छैन ।’ समुदायभर चार सय मिटर लम्बाईमा पानीको प्रशारण पाइप फिजाइएको छ । तर हालसम्म पनि ती प्रसारण पाइपहरुमा धारा जडान भने भएका छैनन् । आयोजना निर्माण सम्पन्न भई पालिकालाई स्वामित्व हस्तान्तरण गरेको महिनौँ बितिसक्यो ।

‘सबै काम सकिएको र धारा जडान गरी पानी वितरण सुरु गर्न हामीले वीरेन्द्रनगर नगरपालिकालाई पटक पटक गुहारेका छौ । बेलघारी सिंचाई तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अकबर खानले भने, तर अहिलेसम्म खानेपानी सञ्चालन गर्न ढिलाईं भईरहेको छ ।’ १८ औं पटक नगरपालिकामा धाएको बताउँदै उनले अब धाईरहन पनि नसकिने प्रतिक्रिया दिए ।

गत पौषमा बेलघारीमा समुदायको भेला समेत बसेको थियो । समुदायमा खानेपानी उपलब्ध गराउन बसेको यो भेलाले नगरपालिकालाई तत्काल खानेपानी विस्तार गर्न अनुरोध गरेको थियो ।

नगरको स्वामित्व अन्र्तगत उपभोक्ता समिति मार्फत खानेपानी वितरण गर्ने भेलाको योजना थियो । पौष ९ गते बसेको भेलाको निर्णय नं. ७ ले खानेपानी परियोजना सञ्चालनका लागि समावेशी आधारमा अकबर खानको अध्यक्षतामा समेत उपभोक्ता समिति गठन गरिसकेको अवस्था छ ।

नवगठित उपभोक्ता समितिले वीरेन्द्रनगर नगरपालिकालाई परियोजना सञ्चालनका लागि अख्तियारी दिन पत्र सहित अनुरोध गरेको गत पौषमा नै हो । तर माघ १८ गते कामको प्रगतिबारे बुझ्न नगरपालिकाको कार्यालयमा पुगेका उपभोक्ता समितिका अध्यक्ष खान भने निराश भएर फर्किए ।

‘पौष १२ गते हामीले नगरपालिकालाई पत्र बुझाउदा नगर समितिको बैठकमा बुझाउने तोक लागेको थियो । तर बिहिबार भने उक्त पत्र कतै हराएको र नयाँ पत्र ल्याउन भनियो’, निराश हुँदै उनले भने, ‘नगरपालिकाले कार्यविधि बनाउँछौ भनेको छ । तर कार्यविधि कहिले बन्ने कुनै टुंगो छैन । कार्यविधि बन्ने बेलासम्म भएपनि अस्थायी रुपमा खानेपानी वितरण भएको भए समुदायलाई धेरै राहत हुनेथियो ।’

तत्काल खानेपानी वितरण गरी काम सुरु गर्न नगरपालिकालाई बारम्बार अनुरोध गरिरहेको नवज्योति केन्द्रकी पर्यवेक्षक जरमाया बाठा बताउँछिन् । ‘विपन्न समुदाय र खानेपानीको चरम अभाव भएको स्थान छनौटमा बेलघारीमा आयोजना सञ्चालन गरिएको हो । यसअघि सुर्खेत उपत्यका खानेपानीलाई आयोजना स्वामित्व दिने भन्ने पनि भएको थियो । तर कानूनी अड्चन र नगरपालिकालाई स्वामित्व दिएपछि झन् प्रभावकारी रहने योजनामा हामीले गत महिनामै स्वामित्व हस्तान्तरण गरिसकेका थियौँ’ उनले भनिन् ।

नगरपालिकालाई पटक पटक ताकेता गरिरहेको र छिटोभन्दा छिटो समुदायलाई खानेपानी उपलब्ध गराउनुपर्ने उनी बताउँछिन् । यसपछि उनको संस्थाले अन्य स्थानहरुमा समेत खानेपानीका आयोजनाहरु सञ्चालन गर्दैछ । तर संस्थालाई आर्थिक सहयोग गर्नेले खानेपानी वितरण नभएको पाउँदा संस्थाको कार्यक्रममा समेत प्रभाव पर्ने उनको भनाई छ ।
‘यो ठूलो परियोजना हो । पाँच सयभन्दा बढी घरधुरीलाई खानेपानी पु¥याउनु सानो परियोजना होइन । ’ उनले भनिन हामीले त आयोजना निर्माण गरेर नगरपालिकालाई दिएकै हौँ । अब नगरपालिकाले छिटोभन्दा छिटो खानेपानी वितरण गर्नुपर्छ ।’

समुदायका आफ्नै शर्त

बाख्लो बस्ती रहेको बेलघारी क्षेत्रमा खानेपानी परियोजना सञ्चालन त्यति सम्भव समेत थिएन । यसबीच समुदायका अगुवाहरुले आफैबीच विभिन्न शर्त राख्दै परियोजना निर्माणका लागि सहयोग गरेका थिए । ‘डिप बोरिङ्ग’ मार्फत जमिनको पानी ओभरहेड ट्याङ्कीमा पुर्यापछि समुदायमा वितरण गर्ने परियोजनाको लक्ष्य हो । परियोजना निर्माण समयमा समुदायमा नागरिकहरुले विभिन्न सम्झौता गरेका थिए । गत पौषमा बसेको नागरिकको भेलाले समेत यस विषयमा स्पष्ट पारेको छ ।

परियोजनाको ओभरहेड ट्याङ्की निर्माणस्थल स्थानीय नागरिक समुदायका लागि दानमा दिएका हुन् । जग्गाको न्यूनतम् मूल्य मात्र लिएर अब्दुल गफार खानले आफ्ना बुवाआमाको सम्झनामा उपलब्ध गराएका हुन् । तर जग्गादाता खानसँग उनले इच्छाएको व्यक्तिलाई परियोजनामै रोजगारीको व्यवस्था गर्ने सम्झौता समेत भएको थियो ।

बिहान बेलुका तीन–तीन घण्टा पानी वितरण गर्ने, जडान भएको विद्युतलाई स्थायी रुपमा परियोजनामा प्रशारण लाइन विस्तार गर्ने, धारा जडान र सदस्यता अधिकतम एक हजार रुपैयाँ मात्र शुल्क लिने विषयमा समुदायका शर्तहरु थिए ।

समुदायमा परियोजना नजिक रहेका कुवाहरुमा ‘डिप बोरिङ्ग’का कारण पानीको स्तर घट्ने तथा सुक्ने समस्या रहने आंकलन सहित त्यस्तो समस्या आएमा ती घरधुरीलाई निःशुल्क पानी वितरण गर्ने शर्तपनि थियो । तर नगरपालिकाले कार्यविधि निर्माणमा ढिलाईमा परियोजनाको पानी सुर्खेत उपत्यका खानेपानीको प्रशारण लाइनमा जडान गर्ने योजना गरेको समुदायको शंका छ ।

आफुहरुले परियोजना सञ्चालनमा आएका विवादमा विभिन्न शर्तहरु समेत राखेको बताउँदै अध्यक्ष खानले नगरपालिकाले भने सुर्खेत उपत्यका खानेपानीको लाइनमा सिधै पानी जडान गर्ने योजना गरेको शंका व्यक्त गरे । ‘यस्तो भएमा हाम्रो समुदायका नागरिकले २० हजार रुपैयाँ भन्दा बढी खर्चेर धारा जडान गर्नुपर्ने हुन्छ ।

अध्यक्ष खानले भने, ‘त्यसपछि त समुदायका हाम्रा सबै शर्तहरु पनि पूरा हुँदैनन् ।’ समुदायका शर्तहरुका विषयमा उपभोक्ता समितिले नगरपालिकालाई जानकारी समेत गराएको उनी बताउँछन् ।

एक–दुई दिनमै निर्णय आउँछ ः नगरपालिका

यता वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल भने एक–दुई दिनमै परियोजनाको सञ्चालनका लागि नगरपालिकाकाले निर्णय गर्ने बताउँछन् । ‘परियोजनालाई प्रभावकारी रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा हामी छलफलमा छौँ’ उनले भने ।

परियोजनालाई उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने वा नगरले आफै सञ्चालन गर्ने विषयमा समेत छलफल भईरहेको उपप्रमुख खनालको भनाई छ । मासिक रुपमा विद्युतको मात्र धेरै लागत खर्च आउने र परियोजना आफैले यस्ता खर्चहरु व्यहोर्दै सञ्चालन गर्न सक्ने–नसक्ने विषयमा नगरपालिकामा छलफल तथा योजना भईरहेको उनले बताए । उनले भने, ‘परियोजना चाडै सञ्चालनमा आउँछ । कसरी सञ्चालन हुन्छ भन्ने विषयमा भने एक–दुई दिनमै खबर आउला ।’

वीरेन्द्रनगरसंग परियोजना स्वामित्व : सञ्चालनमा आएन बेलघारी खानेपानी

पुरिएका घाउहरु उपन्यास विमोचन

वीरेन्द्रनगरसंग परियोजना स्वामित्व : सञ्चालनमा आएन बेलघारी खानेपानी

YUGAAWHAN NATIONAL DAILY (2079-10-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!