युग फ्याक्ट चेक :  के हो भाइरल बाघको वास्तविकता ?

सिर्जना बुढाथेकी
सुर्खेत,२० पौष ।

पाटे बाघको कल्पना गरेर पहेंलो रंगमा कालो पाटा बनाएर सुर्खेतको वीरेन्द्रनगर भैरवस्थानस्थित शहीद स्मृति पार्कमा राखिएको एउटा बाघको ढुंगेमूर्तिले अहिले धेरैको ध्यान खिचेको छ । बाघजस्तै देखाउने प्रयास गरेपनि मूर्तिको मुखाकृति नमिलेको भन्दै सामाजिक सञ्जालमा भाइरल हुँदै गर्दा यस्को लागतका विषयमा पनि विभिन्न अड्कल, अनुमान र आलोचना हुँदै आएको छ ।

आइतबारसम्म उक्त मूर्तिमा कुँदिएको बाघको मुखाकृति र स्वरुपका विषयमा सामाजिक सञ्जालमा सुर्खेती बाघ भन्दै खिसिट्यूरी गर्दा गर्दै भाइरल हुँदै गएको थियो । तर सोहि मूर्तिका विषयमा नेपाल सरकारका पूर्व सचिव समेत रहेका भीम उपाध्ययले आफ्नाे फेसबुकमा १३ लाखको बाघ भन्दै दाबी ठोकुवा गरेपछि विषय अन्तै मोडियो ।

उपाध्ययले सोमबार बेलुकी ६बजेर २० मिनेटमा आफ्नाे  फेसबुकमा उक्त मूर्तिका बारेमा शेयर गर्दै गरिएको पोष्टमा मंगलबार दिउँसोसम्म ७ हजारभन्दा बढिले इमोजीमार्फत रियाक्ट गरेका छन् भने १ हजारभन्दा बढिले कमेन्ट र ६५ जनाले शेयर गरेका छन् । सेवा निवृत्त सरकारी कर्मचारी उपाध्यायले सरकारी व्यथिति, अनियमितता, भ्रष्टाचार दर्शाउन बेलाबखत यस्ता पोष्टहरु साझा गर्दै आएका छन् ।

मन्त्रालयकै सचिव भइसकेका र त्यहिमाथि फेसबुकमा ३ लाख ९ हजारभन्दा बढि फ्लोअर रहेका उपाध्यायले यस्तो पोष्ट साझा गरेपछि त्यसैलाई पत्याएर लहलहैमा बगिहाल्नेहरुको संख्यापनि कम छैन् । तर उपाध्यायका सामाजिक सञ्जालमा आउने दाबीसहितका पोष्टहरुमध्ये अधिकांशजसो ठोस सबुतप्रमाण र विश्वासिला श्रोत बिनाका हुने गरेका छन् ।  सुर्खेती बाघकै मूल्य १३ लाख रहेको भन्ने उनको दाबी त्यसैको एउटा उदाहरण हो ।

कति हो त खास लागत ?

सामाजिक सञ्चालमा दाबी गरिएझैं बाघको मूर्ति निर्माणमा १३ लाख खर्च भएको भन्ने हल्लाको भैरम सामुदायिक वनका अध्यक्ष अमर कार्कीले ठाडै खण्डन गरेका छन् । पार्कमा बनाइएका दुईवटा बाघका मूर्तिमध्ये पातलो बाघको मूर्ति वीरेन्द्रनगर वडा नं २ फँलाटेका स्थानीय कलाकारले जम्मा ३५ हजारमा बनाएको उनले दाबी गरे ।

‘पहिला त उहाँ ४० हजार भन्नु भएको थियो, फिनिसिंग राम्रो नभएको भनेर हामीले ३५ हजारमात्रै भुक्तानी दिएका हौ ।’ अध्यक्ष कार्कीले भने, कलाकारले मिहिनेत गरेर बनाइसकेपछि उनलाई पनि मर्कामा पार्नु त भएन नि । ’ ढुगांको टुक्रा टुक्रा जोडेर बनाएको पातलो बाघको पुरानो मूर्तिलाई पार्कमा घुम्न आउने बालबालिकाले चलाउँदा टुटफुट भएपछि मर्मत गरेर अलगै राखिएको उनले जानकारी दिए ।

अहिले पार्कमा रहेको घैलाबाट पानी खन्याउँदै गरेको महिलाको मूर्ति र भाइरल बनाएको नयाँ बनाएको बाघको मूर्ति गरेर दुईवटा मूर्ति बनाउँदा एक लाख ५ हजार रुपैयाँ भुक्तानी गरेको वनका अध्यक्ष कार्कीले दाबी गरे । महिलाको मूर्तिका लागि ५५ हजार र बाघको मूर्तिका लागि ५० हजार भुक्तानी दिएको बताउँदै उनले बनाउनेले एक लाख ११ हजार तोकेपनि मोलमोलाइमा रकम घटाएर भुक्तानी दिइएको जिकिर गरे । ‘खै कस्ले यस्तो हावाको हल्ला फैलाउँछन्, उनले भने, हामी आफै दगं परिरहेका छौ ।

’ बाघको मूर्ति बनाउने जिम्मा लिएका मूर्तिकार कृष्णबहादुर श्रेष्ठले पनि आफुले उक्त मूर्ति कुँदेवापत ५० हजार रुपैयाँ नै पारिश्रमिक लिएको पुष्टि गरेका छन् । मूर्ति बनाउने ढुंगाहरु ठूलो ठूलो भएको र परम्परागत घन र छिनाले छिनाल्दै बनाउँदा मुखाकृति त्यस्तो हुन पुगेको उनले प्रतिक्रिया दिए । ‘त्यो ५० हजारकै हो बाघ हो १३ लाखको होइन ।

’ श्रेष्ठले भने, ‘अर्डर दिनेको चित्त नबुझेको वा मूर्तिमा केहि समस्या भएको खण्डमा हामी नयाँ मूर्ति बनाएर दिन्छौं ।’ प्रदेश सरकारले हालसम्म यस पार्क निर्माणका लागि ३ करोड रकम खर्च गरिसकेको छ । शुरुमा २ करोड रकम विनियोजन भएतापनि एक करोड ३० लाख खर्च भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारका अनुसार खर्च भएर बचेको पैसामा केहि रकम थप गरेर वरिपरि पर्खाल लगाइएको हो । अघिल्लो वर्ष ५० लाखको टेण्डर गरेकोमा १ सय ६० मिटर पर्खाल सम्पन्न गरेको र ९० मिटर काम गर्न बाँकी रहेको छ । यसका लागि यस वर्ष १ करोड टेण्डर प्रक्रियामा रहेको बताइएको छ । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा शहादत्त भएका शहीदहरुको स्मृति र सम्मानमा प्रदेश सरकारले यो पार्क बनाएको हो । पार्क निर्माण हँुदै गर्दा हरेक शनिबार र विदाको दिन पार्कमा घुम्न, टिकटक तथा भीडियो बनाउनेहरुको ताँती लाग्ने गरेको छ ।

युग फ्याक्ट चेक :  के हो भाइरल बाघको वास्तविकता ?

नेतृत्वको आलोचना बन्द गर्न माधव नेपालको निर्देशन

युग फ्याक्ट चेक :  के हो भाइरल बाघको वास्तविकता ?

YUGAAWHAN NATIONAL DAILY (2079-09-20)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!