भूकम्प प्रभावित क्षेत्रमा लयमा फर्किएन पठन–पाठन


विद्यालयमा चाडपर्वका कारण रोकिएको पठन–पाठन शुरु भएको एक साता बढी भईसकेको छ । देशभरका विद्यालयहरुमा पठन–पाठन क्रियाकलापहरु नियमित सञ्चालनमा छन् । तर भूकम्प प्रभावित रहेका जाजरकोट र रुकुम पश्चिमका विद्यालयहरुमा अझै पठन–पाठन क्रियाकलाप लयमा फर्कन सकेको छैन ।
मंसिर ४ गते देखि नै भूकम्प प्रभावित क्षेत्रमा रहेका विद्यालयमा समेत पठन–पाठन शुरु भईरहेको हो । भूकम्पको क्षति पछि त्रिपाल तथा टेन्टमुनी नै भएपनि विद्यालयका कक्षा सञ्चालन गर्ने योजना थियो । सोहि अनुसार विद्यालयहरु सञ्चालन गरेपनि अहिले विद्यालयमा विद्यार्थीहरुको संख्या समेत बढ्न सकेको छैन ।
जाजरकोटको नलगाड नगरपालिका–८, दल्ली स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा एक हजार ३० जना विद्यार्थी भर्ना भएका थिए । भूकम्प अघिसम्म विद्यालयमा ९०/९५ प्रतिशत विद्यार्थीहरुको उपस्थिती हुन्थ्यो । तर अहिले भने विद्यालयमा सात सय संख्याको हाराहारीमा मात्र विद्यार्थीहरु कक्षामा उपस्थित भएका छन् ।
विद्यालयका प्रध्यानाध्यापक चेतबहादुर सिंहले भने, ‘अहिले यता गाउँघरमा अस्थायी आवास निर्माणका कार्यहरु चलिरहेका छन् । मानिसहरु आफैले पनि घरहरु बनाउन थालेका छन् । त्यही भएर विद्यार्थीहरु नियमित विद्यालय आउन नपाएको हुन सक्छ ।’
त्रिभुवन माविमा अध्ययन गर्ने चार जना विद्यार्थीहरु भूकम्पका कारण ज्यान गुमाएका थिए । ति मध्ये तीन जना बालिका र एक जना बालक रहेको प्रध्यानाध्यापक सिंहले जानकारी दिए ।
विद्यालयमा कुल १६ वटा कक्षा कोठाहरु हुन् । यि मध्ये ६ वटा कक्षा कोठा जोखिममा छन् । बाँकी १० वटा कक्षा कोठा भने पक्की भवन सहितको भएकाले सुरक्षित रहेको उनले जानकारी दिए । करिव आधा कक्षाकोठाहरु प्रयोगमा नआउने भएपछि अहिले विद्यार्थीहरुलाई चौरमा नै अध्यापन गराइएको छ ।
विद्यालयमा आउने विद्यार्थीहरु मध्ये आधा जति चौरमा नै बसेर अध्ययन गर्छन् । ‘तीन सय ५० जना जति विद्यार्थीहरुलाई हामीले चौरमा नै राखेर पढाईरहेका छौँ । दिउँसो घाम लागेको बेला त ठिकै हुन्छ, नत्र उनीहरुलाई जाडो हुने नै भयो । के गर्ने अवस्था यस्तै छ ।’
घर नै पूर्ण रुपमा क्षति भएका विद्यार्थीहरुसँग पाठ्यपुस्तकको समेत अभाव छ । विद्यालय आउनेहरु आफ्ना साथिभाइका पाठ्यपुस्तक हरेर पढ्छन् । त्यसैगरी विद्यालयलाई पठन–पाठन गतिविधि सञ्चालन गर्न सहयोग समेत आएको छैन ।
‘शिक्षकहरुका लागि दिउँसो बसने भनेर सानो टेन्ट दिइएको थियो । त्यसमा कक्षाकोठा सञ्चालन गर्न अप्रयाप्त छ । कक्षाकोठा सञ्चालन गर्न ठुलाखाले टेन्ट चाहिन्छन् । अहिलेसम्म सहयोग आएको पनि छैन’, उनले भने ।
२० हजार बालबालिका जोखिममा
भूकम्पले क्षति पु¥याएका जाजरकोट र रुकुम पश्चिममा २० हजार बढी बालबालिका जोखिममा रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका अनुसार भूकम्प प्रभावित क्षेत्रमा २० हजार सात सय ९३ जना पाँच वर्षमुनिका बालबालिका रहेको तथ्यांक छ ।
जोखिम जनसंख्या मध्येका यि बालबालिकाहरुको संख्या जाजरकोटको भेरी नगरपालिकामा सबैधन्दा धेरै छ । भेरी नगरपालिमा चार हजार एक सय १३ जना पाँच वर्षमुनीका बालबालिका रहेको निर्देशनालयले जनाएको छ ।
जुनीचाँदे गाउँपालिकामा तीन हजार तीन सय, नलगाड नगरपालिकामा तीन हजार ३३, कुशे गाउँपालिकामा दुई हजार एक सय ४५, बारेकोट गाउँपालिकामा एक हजार चार सय ९९, छेडागाड नगरपालिकामा तीन सय ७२ र शिवालय गाउँपालिकामा तीन सय ६२ बालबालिकाहरु पाँच वर्ष भन्दा कम उमेर समुहका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा दुई हजार दुई सय ३२, चौरजहारी नगरपालिकामा एक हजार सात सय ३७ र सानीभेरी गाउँपालिकामा एक हजार दुई सय बालबालिका पाँच वर्षमुनि उमेर समुहका छन् ।
‘पाठ्यपुस्तक वितरण गर्दैछौं’
भूकम्पले पाठ्यपुस्तकहरु गुमाएका बालबालिकाहरुका लागि पाठ्यपुस्तक वितरणको तयारी गरिरहेको नलगाड नगरपालिले जनाएको छ । पालिकाका शिक्षा स्रोत व्यक्ति मनिराम पोखरेलले पालिकाभरका ७१ विद्यालयमा पाठ्यपुस्तक वितरणको तयारी गरिएको जानकारी दिए ।
उनले भने, ‘हामी कहाँ ७१ वटा विद्यालयहरु हुन् । यि मध्ये ५४ वटा विद्यालय पुनर्निर्माण गर्नुपर्ने भएको छ । साथै शनिवार नै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिएको छ ।’
नलगाड नगरपालिकामा एक हजार पाँच सय सेट किताव वितरण हुने उनले जानकारी दिए ।





