यी ४ ’अस्त्र’ जसका कारण ओली समर्थकलाई हराएर गुलाबजंगले जिते चुनाव

सुर्खेत ।
असोज १० गते कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्न पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए।
आफूसँग असन्तुष्ट रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले प्रदेश अध्यक्षको उम्मेदवारका रूपमा पोलिटब्युरो सदस्य गुलाबजंग शाहलाई अघि सार्ने तयारी गरेको चाल पाएपछि ओलीले मीनबहादुर शाहीको पक्ष लिएका थिए।
प्रदेश इन्चार्ज लेखराज भट्टसहित अध्यक्ष मण्डलका नेताहरूलाई राखेर ‘अनैतिकलाई अध्यक्ष बनाउनुहुँदैन’ भन्दै शाहीलाई सर्वसम्मत गर्न निर्देशन दिएका थिए।
अध्यक्ष ओलीको त्यो निर्देशनले काम गरेन। अध्यक्ष मण्डलले मीनबहादुर शाहीलाई सर्वसम्मत बनाउन त सकेन नै निर्वाचन पनि रोक्न सकेन।
ओलीको निर्देशन, अध्यक्ष मण्डलको रूचिविपरीत कर्णालीमा चुनाव भयो। सल्यानका गुलाबजंग शाहले ३ सय ६९ मत ल्याएर प्रदेश अध्यक्ष निर्वाचित भए। उनका प्रत्यासी मीनबहादुर शाहीले २ सय ७ मत ल्याए। अर्का प्रत्यासी प्रकाश रोकायाको ४ मत मात्रै आयो।
पदाधिकारीमा पनि शाह पक्षले नै बाजी मा¥यो। उपाध्यक्षमा टेकराज पछाईंले ३ सय २ मत ल्याएर विजयी हुँदा लालबहादुर महताराले १७६ मत ल्याए। दानसिंह परियारको ५९ मतमात्रै आयो।
सचिवमा शाह पक्षमा ध्रुव शाहीले ४ सय ६ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रुद्र शाहीको १ सय ६९ मत आयो। उपसचिवमा शाह पक्षका रवीन्द्रराज शर्मा र रमेशकुमार शाही विजयी भए। शर्माले तीन सय र शाहीले २ सय ६६ मत प्राप्त गरे।
गुलाबजंग शाहले यसरी परिणाम आफ्नो पक्षमा पार्नुको चारवटा कारण देखेको अध्यक्ष मण्डलका एक सदस्यले बताए।
महासचिव शंकर पोखरेल नै गुलाबको पक्षमा!
असोज १० गते अधिवेशन उद्घाटन गर्न पुगेका अध्यक्ष ओलीले गुलाबलाई ‘अनैतिक’ भन्दै मीनबहादुरको नाममा सर्वसम्मत गर्न भनेका थिए। त्यसको साक्षी महासचिव शंकर पोखरेल थिए। अध्यक्ष ओलीले ‘अनैतिक’ भन्नुको कारण गुलाबजंग पार्टीको एक नेतृसँगको टिकटक भिडिओका कारण आलोचित बनेका थिए।
अध्यक्ष ओली फर्किएपछि शंकर पोखरेलले फेरि सर्वसम्मतिको प्रयास गरे। असोज ११ गते बन्दसत्र सुरू हुनुपूर्व महासचिव पोखरेलले गुलाबजंग शाहलाई अध्यक्ष र मीनबहादुर शाहीलाई सचिव र उपाध्यक्षमा लालबहादुर महतारालाई प्रस्ताव गरेका थिए।
महासचिवको प्रस्तावले नेतृत्व चयन सर्वसम्मतिको बाटोमा गएन। तर, यामलाल कँडेलको समूहले त्यसलाई भरपुर उपयोग ग¥यो।
अध्यक्ष मण्डलमा रहेका एक सदस्यले बताएअनुसार साविक राप्ती अञ्चलमा आफूसँग जोडिएका नेता–कार्यकर्ताप्रति महासचिव पोखरेलको अहिले पनि लगाव देखिन्छ। गुलाब पनि उनीनिकट नै मानिन्छन्।
तर, अध्यक्षले नरूचाउने भएपछि सुरूमा महासचिव पोखरेलले मुख खोलेनन्। अध्यक्ष फर्किएपछि महासचिव पोखरेलले गुलाबलाई ‘ग्रिन सिग्नल’ दिएर आफू पनि काठमाडौं फर्किए। गुलाबजंग पक्षले ‘ल है महासचिवको समर्थन छ’ भन्दै तलतल पु¥याएर माहौल सिर्जना गरेको अध्यक्ष मण्डलका ती सदस्यले बताए।
गुलाबजंग पक्षले भने पार्टी अध्यक्षको समर्थन आफूलाई रहेको भन्दै मीनबहादुर समूहले नेतृत्वलाई विवादमा ल्याउन खोजेको बताए।
‘मिनबहादुर शाही पक्षले अध्यक्षको समर्थन आफूलाई छ भनेर नेतृत्वलाई विवादमा ल्याउन खोज्नुभयो,’ उपाध्यक्षमा निर्वाचित टेकराज पछाईंले भने।
गुलाबले चुनाव जितेपछि अध्यक्ष ओली महासचिव पोखरेलसँग रुष्ट बनेका छन्। त्यसैका कारण उनी सोमबार गण्डकी प्रदेश अधिवेशन उद्घाटन गर्न नगएको चर्चा पनि एमालेभित्र हुन थालिसकेको छ।
यामलाल कँडेलप्रतिको सहानुभूति!
२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा एमालेको नेतृत्वले मुख्यमन्त्री बनाउने आश्वासनसहित उनलाई प्रदेशमा टिकट दिएको थियो। सरकार बनाउने बेलामा माओवादी केन्द्रको भागमा प¥यो र यामलाल कँडेल जिल्लिए।
रूष्ट बनेका कँडेलले महेन्द्रबहादुर शाहीलाई निरन्तर असहयोग गरे। प्रकाश ज्वाला, गुलाबजंग शाहहरूले उनलाई साथ दिए।
२०७७ असोज २४ गते तत्कालीन पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना मिलेर नेकपा प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद उत्कर्षतिर लागेको थियो।
२०७८ वैशाख ३ गते यामलाल कँडेल मुख्यमन्त्री बन्ने बाटो खुलिसकेको थियो। एमाले, माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि एमाले एक्लैले कर्णालीमा सरकार बनाउन सक्थ्यो। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा उभिएपछि त्यो सपनामा तुषारापात भयो।
२०७९ सालमा पनि मुख्यमन्त्री बन्ने सपनामा ओली नै बाधक बनेपछि यामलाल नेतृत्वप्रति रूष्ट छन्।
‘ओलीबाट निरन्तर पेलानमा परेको महसुस उनले आफूले मात्रै गरेका छैनन्। कर्णाली प्रदेशका अधिकांश नेता–कार्यकर्ताको मनमा पारेका छन्। जसका कारण ओलीले समर्थन गरेका उम्मेदवारविरूद्ध उभिन सजिलो बनायो,’ एक नेता भन्छन्।
एकजुट पूर्वमाले!
केपीको अनिच्छाका कारण मुख्यमन्त्री बन्न रोकिएका यामलाल कँडेल एमालेभित्र पूर्वमाले भनेर गरिने हेलाहाँसोबाट पनि प्रताडित रहेछन्।
‘२०५४ सालमा विभाजन भएको पार्टी २०५९ मा एकै ठाउँमा उभियो। तर, एमालेभित्र त्यतिबेला मालेमा लागेका नेता–कार्यकर्तालाई पूर्वमालेको आँखाबाट हेरिन्छ र जिम्मेवारीमा पछि पारिन्छ। त्यसको तुष पालेर बसेका रहेछन्,’ एक नेताले भने।
अधिवेशन नजिकिँदै जाँदा यामलाल कँडेलले पूर्वमालेहरूलाई एकजुट बनाउन लागिपरेको ती नेताले बताए।
स्थायी कमिटी सदस्य कँडेलले उम्मेदवार नै त्यसरी तयार पारेका थिए। अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाइँ, सचिव ध्र्रुव साही र उपसचिव जितेकाहरू पनि पूर्वमाले पृष्ठभूमिका हुन्।
दैलेखका लक्ष्मी पोखरेल, सुशील थापा, सुर्खेतका बालाराम शर्मा आदि पूर्वमाले भनेर चिनिएकाहरू खुलेरै गुलाबजंगका पक्षमा लागे।
२०८४ सालको टिकट अहिले नै!
यामलाल समूहले ओली समर्थक उम्मेदवारलाई जसरी पनि पराजित गर्ने लक्ष्य राखेको मीनबहादुर शाही पक्षधरले बताए। त्यसका लागि २०८४ सालको ७९ वटा पालिका र १० वटा प्रतिनिधि सभा र प्रदेश सभासम्मको टिकटको आश्वासन बाँडेर आफ्नो पक्षमा पारेको ती नेताको दाबी छ।
‘डोल्पाका प्रतिनिधिहरूले सुरूमा मीनबहादुर शाहीलाई समर्थन गर्ने बताएका थिए। टिकटको आश्वास पाएपछि सबैले गुलाबजंग शाहलाई सहयोग गरे। केन्द्रमा नेता केपी शर्मा ओली भए पनि प्रदेशमा चाहिने यामलाल नै हो। यामलालकै पक्षमा उभिनुपर्छ। त्यहाँ उभिएमात्र नेता बनिन्छ भन्ने भावनाले काम गरेको थियो,’ उनले भने। -सेतोपाटीबाट साभार






