शंकास्पद मृत्युको घटनामा ३ जना पक्राउ

सुर्खेत,२० माघ ।
शंकास्पद मृत्युको घटनामा सुर्खेत प्रहरीले लेकवेशी नगरपालिका ५ बाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै पक्राउ गरेकाहरुको परिचय भने खुलाएको छैन् । लेकवेशी ५ बारगाँउका अन्दाजी ३५÷४० वर्षका लालबहादुर बुढाको गोली लागेर मृत्यु भएपछि इलाका प्रहरी कार्यालयबाट गएको उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
गत मंगलबार विहान साढे १० बजेतिर भरुवा बन्दूक लिएर लेकवेशी ५ मा पर्ने भैरथान भन्ने जंगलमा शिकार खेल्न गएका बुढा बाटोमा चिप्लिएर आफैले बोकेको बन्दुक पड्ंिकदा घाइते भएका थिए । दाहिने खुट्टामा चोट लागेर धेरै रगत बगेपछि गम्भीर अवस्थामा घाईत भई घरमै सामान्य उपचार गरी थप उपचार गर्न कर्णाली प्रदेश अस्पताल कालागाँउ ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको बुझिएको छ ।
गोली लागेर मृत्यु भएका बुढाको लाश बाटोबाटै फिर्ता गरी घरमा राखेको सूचना पाएपछि अनुसन्धानका लागि गएको प्रहरीको टोली ३ जनालाई थप अनुसन्धानको लागि भन्दै पक्राउ गरेको जनाएको छ ।





