जगदुल्ला जलविद्युत् आयोजना निर्माण अर्का वर्षदेखि

पुनम वि.सी.
सुर्खेत, १८ पौष ।
प्रदेश सरकार र स्थानीय पालिकाहरुको समेत शेयर लगानी रहने जगदुल्ला जलविद्युत् आयोजना निर्माणको काम आगामी वर्षदेखि शुरु हुने भएको छ । आयोजनाको मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को काम अन्तिम चरणमा पुगेकोले आयोजनाको काम आगामी वर्षदेखि शुरु हुने भएको हो ।
दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डीपीआर सम्पन्न भइसकेको बताउँदै आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माणको काम सुरु गर्ने जानकारी दिए । अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए ।
निर्माण सुरु भएको पाँच वर्षभित्र विद्युत् उत्पादन हुने उल्लेख गर्दै उनले विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादन गृहलगायतका ठाउँमा पूर्वाधारको काम भइरहेको जानकारी दिए । आयोजना निर्माण गर्न एक वर्षभित्र ठेकेदार र परामर्शदाता छनोटको काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको आयोजना प्रमुख सापकोटाले दाबी गरे ।
जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर अग्लो ड्याम निर्माण गरेर ६ दशमशलव १ किलोमिटर सुरुङमार्फत मुड्केचुला गाउँपालिका–४ इलमा पानी खसालेर विद्युत् एक सय छ मेगावाट विद्युत् उत्पादन हुने उनको भनाई छ । २० अर्बको लागत रहेको आयोजनामा कर्णाली प्रदेश सरकारले ५ प्रतिशत शेयर लगानीका रुपमा ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिदवापत ११ करोड ७१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।
अन्य शेयर लगानीकर्तामा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत रहेको बताइएको छ । यसैगरी आयोजना प्रभावित क्षेत्रका दुई पालिका मुड्केचुला र जगदुल्ला गाउँपालिका पनि एक प्रतिशत शेयर रहेको छ ।
बाँकी ४९ प्रतिशत शेयर सर्वसाधारण सबैका लागि खुला गरिने सापकोटाले बताए । दैनिक एक करोड २० लाख आम्दानी हुने दाबी गरिएको उक्त आयोजना निर्माणपछि राज्यलाई वार्षिक झण्डै २९ करोड राजस्व उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले यही ठाउँमा ८३ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माण गर्न अहिले सम्भाव्यता अध्ययनको कामसमेत सुरु भएको जनाएको छ ।
कर्णालीमा निर्माण हुने ठूला जलविद्युत परियोजनामा शेयर साझेदारी गर्ने प्रदेश सरकारको नीति तथा कार्यक्रम एवम् जनताको जलविद्युत (सञ्चालन र व्यवस्थापन) कार्यविधि, २०७५ वमोजिम जगदुल्ला हाईड्रोपावर कम्पनीको तर्फबाट छुट्टाईएको शेयर प्रदेश सरकारले स्वीकारेको हो ।
यसका साथै गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको अप्परपराजुली खोलामा २ दशमलव १५ मेगावाट क्षमता आयोजनामा उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान भएपछि प्रदेश सरकारको लगानी कायम हुनेगरी बढीमापाँच करोड रुपैयाँको लगानी सुनिश्चितताको प्रतिवद्धता समेत गरिसकेको छ ।
स्थानीय तहले समेत लगानी गर्ने
जलविद्युत आयोजनामा डोल्पाका दुई स्थानीय तहले समेत लगानी गर्दैछन् । डोल्पाको जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाले आयोजनामा पाँच प्रतिशत शेयर लगानी गर्ने योजना छ । जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले भने, ‘जलविद्युत आयोजनामा प्रदेश सरकार र हामीले पनि लगानी गर्ने विषयमा यसअघि नै छलफल भएको थियो ।
प्रदेश सरकारले पाँच प्रतिशत र स्थानीय पालिकाले पाँच प्रतिशत शेयर लिने गरी छलफल भएको हो ।’ अध्यक्ष रोकायका अनुसार हालसम्म पनि पालिकाले शेयर खरिद गरेको छैन । तर चालू आर्थिक वर्ष २०७९÷०८० मै शेयर खरिद गर्ने तयारी भने छ । ‘ जगदुल्ला र मुड्केचुला गाउँपालिकाले मिलेर शेयर खरिद गर्ने योजना छ । उनले भने, ‘यसै आर्थिक वर्षमा हामीले शेयर रकम उहाँहरुलाई भुक्तानी गर्ने योजना बनाएका छौँ ।
’ भेरी करिडोर निर्माण तीव्र
जगदुल्ल जलविद्युत आयोजनालगायतका आयोजना निर्माण गर्न भेरी करिडोरमा स्तरोन्नतिको कामलाई तीव्र बनाएको छ । जाजरकोट सदरमुकामबाट तल्लुसम्मको सडक पक्की गर्ने काम सुरु भएको छ । त्यस्तै तल्लु र अनाहबीचमा रहेको भेरी नदीको पुल निर्माण अन्तिम चरणमा पु¥याएको छ । अन्य सहायक पुल निर्माणको कामसमेत चर्को दबाबपछि सुरु गरिएको सडक डिभिजन चौरजहारीले जनाएको छ । केन्द्रीय प्रसारण लाइनको विद्युत् पु¥याउनका लागि काम जारी रहेको छ ।
सात वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य
लाइन प्रसारणको काम अहिले तल्लुसम्म पुगेको र डोल्पाको पालिकास्तरको काम गर्न विद्युत् प्राद्यिकरणले बोलपत्र आह्वान गरी काम सुरु गरेको छ । हुम्लाको मुड्केचुला गाउँपालिका–७ इलमा आयोजनाको विद्युत उत्पादन गृह निर्माण हुने छ भने जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा २३ मिटर अग्लो जलाशययुक्त बाँध निर्माण गरी सुरुङमार्गमार्फत विद्युत गृहमा पानी खसाल्ने आयोजनाको लक्ष्य छ ।
तीन सय मिटर जमिनमुनि भूमिगत विद्युत उत्पादन गृह समेत निर्माण गरिने कम्पनीले यस अघि नै जनाएको थियो । जगदुल्ला जलविद्युत आयोजना सात वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा सडक पहुँच मार्ग निर्माण हुनेछन् । यससँगै पुललगायतका आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माण हुने कम्पनीले जनाएको छ ।
पूर्वाधार निर्माणतर्फ आयोजनालाई दुई वर्ष समय लाग्ने उनले जानकारी दिए । त्यसपछि विद्युत आयोजना निर्माण तर्फ पाँच वर्ष समय लाग्ने आंकलन गरिएको छ । उत्पादित विद्युत सिधै जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलस्थित चार सय केभीए प्रसारण लाइनमा जोडिने छ । आयोजनामा ६ दशमलव १ किलोमिटर लामो भूमिगत सुरुङ समेत निर्माण हुनेछ ।
सुरुङमार्गबाट ल्याएको पानी करिब ५७ मिटर उचाइँबाट विद्युत गृहमा खसाएर १०६ मेगावाट विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ । भूमिगत विद्युत गृहमा ३५ मेगावाट क्षमताका तीन वटा टर्बाइन हुने छन् । विद्युत उत्पादन गरिसकेपछि उक्त पानीलाई दुई सय ६६ मिटर लामो सुरुङबाट पुनः जगदुल्ला नदिमै मिसाइने छ ।





