मुसिकोटमा पुनः मतगणना गर्नु नपर्ने उच्चको फैसला

सुर्खेत,१८ पाैष ।
उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पुनः मतगणना गर्नु नपर्ने फैसला गरेको छ । मुसिकोट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका वसन्तकुमार शर्मासहित दुई वडाध्यक्षका प्रत्याशीले पुनः मतगणनाको मागसहित मुद्दा दायर गरेका थिए ।
मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मालगायत वडा नं. १ का वडाध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं. १४ का वडाध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुनः मतगणनाको मागसहित दायर गरेको मुद्दामा दाबी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो । उनीहरुले गत जेठ १२ गते पुनः मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतको अन्तरले नेपाली कांग्रेसका महेन्द्र केसी प्रमुखमा विजयी भएका थिए । केसीले ६९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गरेका थिए । वडा नं. १ मा कांग्रेसकै ज्ञानु चन्द र १४ नम्बर वडामा गोवर्धन ओली विजयी भएका थिए ।
कान्तिपुर





