कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ, उत्पादन भने घट्दो

सुर्खेत। कर्णाली प्रदेश सरकारले शुक्रवार असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाएको छ । असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा चिनिन्छ । तर, कर्णालीमा हालसम्म जम्मा ३९ दशमलव २५ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । पर्याप्त वर्षा नभएपछि प्रदेशभर धान रोपाइँ प्रभावित बनेको छ ।

कृषि विकास निर्देशनालय सुर्खेतको चालु आर्थिक वर्षको असार १० गतेसम्मको तथ्यांक अनुसार सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै धान रोपाइँ भएको छ । निर्देशनालयका अनुसार सुर्खेतमा दश र जुम्लामा ८५ प्रतिशत रोपाइँ भएको छ । निर्देशनालय प्रमुख चित्रबहादुर रोकायले यो अवधिसम्म प्रदेशभर ४० प्रतिशतको हाहारीमा धान रोपाइँ भएको बताए । साविक कर्णालीका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा ८० प्रतिशत र तल्लो क्षेत्रका सुर्खेत, दैलेख, सल्यान, रुकुमपश्चिम र जाजरकोटमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको निर्देशक रोकायले जानकारी दिए ।
गत आवको तुलनामा यस वर्ष धान रोपाइँमा बृद्धि भएको छ । गत वर्षको यही अवधिमा कर्णालीमा झण्डै २८ प्रतिशत रोपाइँ सकिएको थियो । धान रोपाइँको जिल्लागत तथ्यांक हेर्ने हो भने दोस्रोमा डोल्पा जिल्ला परेको छ । डोल्पामा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै दैलेखमा १७, रुकुमपश्चिममा ३२, जाजजरकोटमा २०, सल्यानमा ३५, मुगुमा ४०, कालिकोटमा ३६ र हुम्ला जिल्लामा ५७ प्रतिशत रोपाइँ भएको छ ।
अघिल्लो वर्षमा यो अवधिमा यी जिल्लामा ४० प्रतिशतभन्दा माथि रोपाइँ सम्पन्न भएका थिए । सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैनन् । कर्णालीका केही जिल्लामा यो वर्ष चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइ थालिएको थियो ।
कर्णालीको ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । कर्णाली प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठुलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ । यस वर्ष सिचाईका कारण रोपाइँमा ढिलाई भएको भएपनि राशायनिक मल भने विगतका वर्षहरुका जस्तो अभाव नरहेको निर्देशक रोकायको भनाई छ ।
कुन जिल्लामा कति हुन्छ धान रोपाइँ
कुल १५ हजार दुई सय ४० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सुर्खेतमा हालसम्म सात सय ६२ हेक्टर रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ । यस्तै जुम्लामा दुई हजार नौ सय ५० हेक्टर मध्ये दुई हजार ७५ हेक्टरमा रोपाइँ भएको छ ।
दैलेखमा कुल आठ हजार पाँच सय १२ हेक्टर मध्ये ६ सय २७, रुकुमपश्चिम तीन हजार ४८ हेक्टरमा नौ सय ७५, जाजरकोटमा तीन हजार ६५ मध्ये ६ सय १३, सल्यानमा सात हजार ५७ मध्ये दुई हजार चार सय ७५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
डोल्पा जिल्लामा कुल दुई सय ७६ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा दुई सय सात हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ । यस्तै मुगु जिल्लामा नौ सय ९१ हेक्टर मध्ये तीन सय ६८, कालिकोटमा तीन हजार १९ हेक्टर मध्ये एक हजार र हुम्लामा एक हजार दुई सय ८४ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म सात सय ३४ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
६० प्रतिशत जमिनमा आकाशे पानीकै भर
कर्णालीको कूल ग्राहस्त उत्पादनको ४५ दशमलव ६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिव ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिनमध्ये दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि दुई लाख १६ हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ ।
खेती गरिने कुल जमिनमध्ये ३८ हजार आठ सय ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । अहिलेसम्म कुल रोपाइँ हुनेमध्ये १० हजार दुई सय ६८ हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको कृर्षी निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक रोकायका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिंचाई सुविधा पुग्ने गरेको छ भने ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिंचाई सुविधा उपलब्ध छ ।
धान उत्पादन घट्दो
कर्णालीमा मकै, गहुँ र जौ जस्ता मुख्य बालीहरुको उत्पादन बढ्दा धान खेती भने घट्न थालेको छ । नेपाल राष्ट्र बैकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन २०७९ का अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढेपनि प्रमुख बाली मध्ये धान खेतीले ढाकेको क्षेत्रफल भने घटेको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ को पुष महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ३८ प्रतिशतले बढेको थियो । तर, सोहि अनुपातमा धान बालीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ ।
धान बालीले ढाकेको क्षेत्रफल एक दशमलव १८ प्रतिशतले घटेको छ । कर्णालीमा धान उत्पादन घट्नुको मुख्य कारण सिंचाई हो । बाह्रैमास सिंचाईको सुविधा नुहुनु त्यसमा पनि समयमै पानी नपर्नुले पनि धान उत्पादनमा कमिआइ रहेको छ । यस्तै मल र उन्नत धानको बिउ नहुनुले पनि उत्पादनमा असर पारेको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाया बताउँछन् ।






