काठमाडौं,१७ पाैष ।
अहिलेको सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा नेकपा एकीकृत समाजवादीमा नेताहरूले फरक–फरक धारणा राखेका छन्। केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।
अध्यक्ष नेपालले प्रचण्डको प्रस्तावलाई स्थायी कमिटी बैठकमा छलफल गर्ने जवाफ दिएका थिए। यसबारे शनिबार र आइतबार भएका स्थायी कमिटी बैठकमा एकीकृत समाजवादीका नेताहरूले आ–आफ्ना धारणा राखेका छन्। ५२ जना स्थायी कमिटी सदस्यमध्ये आइतबार दिउँसो २ः३० बजेसम्म ३० जनाले धारणा राखिसकेका छन्।
बोलेका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने धारणा राखे पनि केही नेताहरूले भने सरकारलाई समर्थन गर्ने र सरकारमा जान नहुने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न औपचारिक प्रस्तावसमेत नराखेको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले बताए। उहाँले औपचारिक प्रस्ताव पठाउनु भएको छैन। यो सरकार माओवादी र एमालेले नेतृत्व गरेको देखिए पनि खिचडी सरकार हो। हामीले समर्थन दिए पनि नदिए पनि के अर्थ रहन्छ र?,’ आज पार्टी कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘हामीले समर्थन नदिए पनि यो सरकार निरन्तर रहन्छ।’
केही नेताहरूले भने पहिले गठबन्धनमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकारको प्रधानमन्त्री रहेकोले समर्थन गरेर जानुपर्ने धारणा पनि राखेका छन्। ‘केही नेताहरूले प्रचण्ड प्रधानमन्त्री रहेकोले समर्थन दिन पनि उपयुक्त हुन्छ कि भन्नुभएको छ,’ उनले भने, ‘तर सरकारमा जान हतारिनु हुन्न भन्ने छ।’
उनले एमाले, माओवादी वा जसपासँग तत्काल पार्टी एकताबारे कुनै छलफल नगरिएको बताए। ‘पार्टी एकताको चर्चा एमालेका केहीले चलाएका हुन् यो भ्रममा पर्न हुन्न। हामी जोगिनुपर्छ,’ उनले भने, ‘पार्टी एकता हुन्छ भनेर हाम्रो पङ्तीलाई भुलभुलैयामा राख्न खोजिएको षड्यन्त्र पनि हुन सक्छ।’
सेताेपाटी
युग संवाददाता । । १७ पुष २०७९, आईतवार १७:२२