टी–२० विश्वकप ः पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कठिन
काठमाडौं,१४ कात्तिक ।
अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपमा तीन राउण्डको खेलपछि समूह–२ मा दक्षिण अफ्रिका सहज स्थितिमा रहदा पाकिस्तान भने समस्यामा छ । समूहका ६ टिममध्ये शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधानअनुसार ५ टिमको सेमिफाइनलमा पुग्ने अझै सम्भावना छ ।
दक्षिण अफ्रिका आइतबार भारतलाई हराएपछि पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । भारत र बंगलादेश दुवै टिम चार अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन्। नेट रन रेटमा भारत अघि छ। आगामी बुधबार भारत र बंगलादेशबीचको खेलले समूह–२ को समिकरणका लागि महत्वपूर्ण छ। ३ अंक जोडेको जिम्बावे चौथो स्थानमा रहदा २ अंक जोड्दै पाकिस्तान पाँचौ स्थानमा छ ।

भारत र जिम्बावेविरुद्ध अन्तिम बलमा भोगेको दुई पराजयले पाकिस्तानलाई सेमिफाइनलमा पुग्नको लागि केही विशेष परिस्थितिको आवश्कयता छ। यदि पाकिस्तानले नोभेम्बर ३ मा दक्षिण अफ्रिका र ६ नोभेम्बरमा बंगलादेशलाई हराएमा उसको ६ अंक हुनेछ ।
दुवै खेलमा जित हात पारे पनि पाकिस्तानको सेमिफाइनल यात्रा आफ्नो हातबाट बाहिर छ। दक्षिण अफ्रिकाले भारतलाई आइतबार हराएपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना झिनो मानिएको छ। यदि दक्षिण अफ्रिका र जिम्बावेले बाँकी दुई खेल जिते भने पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिने छ।
यदि पाकिस्तानले बाँकी दुई खेल जित्यो भने उसको खातामा ६ अंक हुनेछ। त्यसो भए पनि उसले कुर्नु पर्ने हुन्छ। उसले अन्य टोलीको हारको अनुमान गर्नुपर्छ। भारत र दक्षिण अफ्रिकाले अर्को दुई खेल हारे भने मात्र पाकिस्तानको सेमिफाइनल पुग्ने बाटो खुल्नेछ। वर्षाले पाकिस्तानको आसा समाप्त पार्न सक्छ।
सेतोपाटी






