कर्मयोगीका कुरा : हिम्मत नहारेका हिक्मत वादी


मानिसको सोच र व्यवहार परिवर्तनशील हुन्छ । यहि परिवर्तनको चाहनाले गर्दा नै मानिस जीवनमा परिवर्तन हुन्छ । केहि मानिसहरु आफ्नो जीवनको परिवर्तन मात्र होइन, समग्र समाजको परिवर्तन र रुपान्तरणको लागि संघर्ष गरिरहेका हुन्छन । उनीहरु समाजको नेतृत्व तहमा पुगेका हुन्छन् । यस्तैमध्येका एक हुन वादी समुदाय उत्थान समन्वय समिति, कर्णाली प्रजदेशका अध्यक्ष हिक्मत वादी ।
जो अहिलेपनि अल्पसंख्यक समुदायको रुपमा पछाडि पारिएको वादी समुदायको शिक्षा, स्वास्थ्य रोजगारी अनि आफ्नै नाममा जग्गा हुनुपर्छ भनेर अभियान नै चलाइरहेका छन् । आजको कर्मयोगीका कुरामा हिक्मत वादीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बाल्यकाल
बुवा जोरा वादी र आमा मैसरा वादीको कोखबाट वि.स २०४८ साल बैशाख १ गते दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा हिक्मदबहादुर वादीको जन्म भयो । उनी घरको जेठो छोरा हुन । उनका सात दिदी बहिनी र एकजना भाई छन् । जम्बुकाँधमा जन्मिएपनि हिक्मतको बाल्यकाल भने दुल्लु नगरपालिका वडा नं १ तल्लो डुंगेश्वरमा बित्यो ।
उनी दुई वर्षको हुँदा नै उनको परिवार दुल्लुमा वस्ति आयो । उनको बुवाले ज्याला मजदुरी गर्थे । घरपरिवारको आर्थिक अवस्था निकै कमजोर थियो । त्यसका बाबजुद हिक्मतले पढ्न शुरु गरे । कक्षा तीनसम्म महादेव मावि गुराँस गाउँपालिका वडा नं २ मा पढेका उनले ४ कक्षादेखि ७ कक्षासम्म भने दुल्लु नगरपालिका वडा नं. ६ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पढे । ८ कक्षादेखि भने अछामको तुर्माखाद गाउँपालिकाको रअफको विन्द्रासैनी माविमा पढे । त्यहि माविबाट २०६५ सालमा उनले एसएलसी पास गरे ।
सानैदेखि संघर्ष
हिक्मतले सानैदेखि धेरै संघर्ष र दुःखदायी जीवन बिताउँदै आए । उनका दुई आमा थिए । एकजना आमालाई लिएर उनको बुवा छुट्टै बसे । उनको घरमा आर्थिक अवस्था एकदमै नाजुक थियो । उनलाई आफ्नो पढाईप्रति भने धेरै चासो थियो । तर आर्थिक अवस्था कमजोर हुँदा भनेअनुसारको पढाई गर्न पाइन्थेन । कापी कलम किन्ने रकम समेत हुन्थेन ।
हिक्मतका दिदीहरुले दाउरा बेचेर कापी कलम अनि किताब किन्दिथे । हिक्मत ८ वर्ष पुगेका थिए । यी सबै कुरा थाहा पाउँथे । उनले पनि होटेलको भाँडा माझेर, गाडीका सामान लोड अनलोड गरेर आफ्नो पढाई खर्च निकाल्थे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले सानोमा धेरै दुःख गरेका थिए ।
एसएलसी दिन जाने बेलामा पनि उनीसँग पैसा थिएन । उनले एकजना घुम्न आएको व्यक्तिको झोला बोकेर पुर्याइदिएवापत पाएको पैसाले एसएलसी दिन अछाम गएका थिए । उनलाई लाग्थ्यो यस्तो अवस्थामा हामी किन छौ ? उनले आफ्नो मनलाई नै प्रश्न गर्थे ।
काम गर्दै पढ्दै
उनी एसएलसी पास गरेपछि आफ् नो पढाईलाई निरन्तरता दिँदै प्लस टुमा भर्ना भए । उनले दुल्लुको विजय माविमा नाम लेखाए । तर आर्थिक अभाव भने कायमै थियो । विद्यालयमा शुल्क तिर्ने पैसाको त कुरै छोडौ कापी कलम किन्नसक्ने अवस्था पनि थिएन ।
उनले आफ्नो पढाई पूरा गर्न विभिन्न ठाउँमा ज्यालादारी काम गर्न थाले । तर उनी विद्यालय भने एकदिन गएनन् । घरमै अध्ययन गरेर परीक्षा दिन्थे । त्यसरी नै उनले २०६८ सालमा प्लस टु गरे । उनी जब समाजलाई बुझ्ने भए । आफ् नो समुदाय र अन्य समुदाय बीचको जुनसुकैे कुरामा पनि विभेद देख्न थाले ।
त्यसपछि व्यवसाय
उनले ज्याला मजदुरी गर्दै आफ्नो पढाईलाई अघि बढाए । अनि उनले आफ्नो व्यवसाय गर्ने भनेर सुर्खेत आए । सुर्खेत आएर पुस्तक पसल, फेन्सी पसल गरे । केहि वर्ष त्यहि व्यवसाय गरेका उनले राम्रै आम्दानी गरेका थिए । तथापि उनी मात्र होइन उनको समुदाय पछाडि परेको र अन्य समुदायको दाँजोमा जान नसकेको देखेर उनले विभिन्न सामाजिक अभियान चलाउने र समाज रुपान्तरण गर्ने भन्दै आफ्नो व्यवसाय छोडे ।
समाज रुपान्तरणको अभियान
उनले आपूmले पढ्दादेखि नै विभेदको सामना समेत गर्नुपर्यो । चिया खाएपनि त्यहाँ गिलास माझिदिनुपर्ने । पानी परेको बेला माथिल्लो भनिने समुदाय घरमा ओत लाग्नपनि नपाइने । यतिसम्मकी घरमा चामल सकएको बेला व्यापारीसँग चामल उधारो माग्दा कुटाई समेत हिक्मतले पाउनुपरेको थियो ।
हिक्मत आपूm मात्र होइन उनको वादी समुदाय नै विभेद र गरिबीमा बाँच्नुपर्ने अवस्था आएपछि उनले समाज रुपान्तरण गर्छु भनेर अठोट गरे । सबैले पढ्न पाउनुपर्छ भनेर उनले वकालत गर्न लागे । उनको सोच थियो जबसम्म मानिस शिक्षित हुँदैन तबसम्म समाज रुपान्तरण हुन सक्दैन, विभेद पनि कम हुन सक्दैन । अनि यहि अभियान चलाए । अनि यो अभियान चलाउँदा पनि उनले विभेदको सामना गर्नुपर्यो । धम्की गालि गलौज पाउनुपर्यो । तथापि उनले आफनो अभियानलाई जारी नै राखे ।
समस्या नै समस्या
उनले आफ्नो अभियान संचालन गरिरहँदा वादी समुदायमा धेरै समस्याहरु देखिन थाले । आपूmले भोगेको समस्या भन्दा पनि थुप्रै समस्याहरु भेटिए । खाना नपाएको, विद्यालय जान नपाएको, बाबु आमा नभएका बालबालिकाहरु समुदायमा भेटिन थाले ।
जग्गा जमिन छैन, रोजगारी छैन, स्वास्थ्यको पहुँचमा नागरिक छैनन् । माथिल्लो भनिने समुदायबाट विभिन्न दमन उत्पीडन देखे उनले सामाजिक आन्दोलन गर्ने संकल्प लिए । उनलाई विभिन्न सामाजिक संघसंस्थाहरुले साथ दिए ।

एक हजार जनाको नेतृत्वमा आन्दोलन
वादी समुदाय हरेक दृष्टिले पछाडि परेको, दमनमा परेको, गरिबीमा बाँच्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भनेर यो समुदायका हरेक व्यक्तिलाई सचेत बनाए अनि एक हजार जनालाई गोलबद्ध गर्दै सरकारको ढोकामै गएर आन्दोलन गर्ने निर्णय गरे ।
उनीहरुले शुरुमा गास, बास, कपास अनि शिक्षा स्वास्थ्यको पहुँचमा लिनुपर्ने भन्दै कर्णाली प्रदेश सरकारसमक्ष १७ दिनसम्म आन्दोलन गरे । त्यसको नेतृत्व हिक्मतले गरेका थिए । त्यो आन्दोलनले केहि रुपमा अधिकारको प्रत्याभूति गरायो । तथापि आन्दोलन अहिले पनि जारी नै छ ।
सयौं बालबालिकाका हिम्मतः हिक्मत
उनले सामाजिक अभियान चलाइरहँदा वादी समुदायका बालबालिका पढ्न नपाएको भेटे । कसैका आमाबुवा नभएका, कसैसँग आर्थिक नभएर पढ्न नपाएका यस्ता थुप्रै बालबालिकालाई आपूmसँग राखेर पढाइरहेका छन । अहिले एक सय २६ जना वादी समुदायका बालबालिकालाई उनले सहारा दिइरहेका छन ।
वादी सरोकार मञ्च नेपाल नामक संस्था मार्फत ती बालबालिकालाई सहारा उनले दिएका छन । उनीहरुको शिक्षादीक्षा अनि गास,वास कपासको जिम्मेवारी उनले लिएका छन् । तर ती बालबालिकालाई कसरी पढाइ पूरा गराइदिने भन्नेमा चिन्तित छन । ती बालबालिकाको सहारामा सहयोग गरिदिने कुनै निकाय उनीसँग छैन ।
जीवनमा संघर्ष
उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । पढ्दै गर्दा पनि धेरै उतारचढाव र विभेदको. सामाना गर्नुपर्यो । पढाई खर्च जुटाउन होटेलमा भाँडा माझ्नुपर्यो । गरिबीकै कारण धेरै समस्या भोग्नुपर्यो । आपूmमात्र होइन समग्र वादी समुदायको अगुवाई गर्दा र एक सय २६ जना बालबालिकाको सहारा बन्दा अझ धेरै चुनौती खेप्नुपरेको छ ।
संघर्षबाट उनी एउटा अभियानको नेतृत्वमा पुगेका छन तर उनले आफ्नो लक्ष्य पूरा गर्न बाँकी नै छ । विभेदको सामना गरेर संघर्ष गरेर आएका हिक्मतको आगामी योजना भनेको विभेदरहित समाज निर्माण गर्ने र शिक्षा स्वास्थ्य, रोजगारी र आफ्नै जग्गा जमिनसहितको समाज निर्माण गर्ने उनको योजना छ ।






