आमा समूहको नेतृत्व गर्दै सहकारीको अध्यक्षसम्म

रोशनी सुनार/अध्यक्ष
पाकमारे साना कृषि सहकारी संस्था, वराहताल (सुर्खेत)

अहिले पनि हाम्रो समाजले छोरीलाई कमजोर ठान्छ । अर्थात पुरुषको तुलनामा महिलाले नेतृत्व लिन सक्दैनन् भन्ने सोच हावी छ । त्यही भएर त आज पनि महिलालाई मुख्य नेतृत्व दिन समाज तयार हुँदैन । बरु महिलालाई दोस्रो तहको नेतृत्वमा राख्ने गरिन्छ । तर अवसर पाएमा महिलाहरुले पनि सामाजिक संरचनाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् । समाजलाई नेतृत्व गरेर आत्मनिर्भताको बाटोमा लैजान सक्छन् । यस्तै गतिलो उदारण बनेकी छन् सुर्खेतको बराहताल निवासी रोशनी सुनार । उनी हाल वराहताल गाउँपालिका वडा नम्बर ९ मा रहेको पाकमारे साना कृषि सहकारी संस्थाको अध्यक्ष भएर काम गरिरहेकी छन् । उनी यहाँसम्म सहजै आएकी भने होइनन् । अर्थात उनलाई कसैले सहजै अवसर दिएको पनि होइन । निरन्तरको मेहनत, संघर्ष, आत्मविस्वास र रुचीका कारण उनी नेतृत्व लिन सफल भएकी हुनु। आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै सुनारसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बिचमै रोकियो पढाई
बुवा मानबहादुर सुनार र आमा हस्तदेवी सुनारको कोखबाट २०३९ साल माघ २१ गते सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १२ नेवारेमा रोशनी सुनारको जन्मभयो । उनको परिवार कृषि कर्ममा निर्भर थियो । उनको बाल्यकाल वीरेन्द्रनगर नेवारेमा नै वित्यो । उनले सानो कक्षा नेवारेमा नै पढिन् । कक्षा ५ सम्म अमरज्योति मावि नेवारेमा पढेकी उनको पढाइ भने पुरा हुन सकेन ।

उनको बुवाआमाले सबै छोरीहरुलाई पढाउने प्रयास गरेका थिए । तर घरको आर्थिक अवस्था र गाउँको संस्कारका कारण उनले ५ कक्षासम्म मात्र पढ्न पाइन् । त्योबेला गाउँमा उनका अरु केटी साथीहरुले कसैले पनि पढ्न जान्दैनथे । अनि उनले पनि पढाइलाई बिचमै रोकिन् । त्यसपछि उनी घाँसदाउरा काट्ने र घरको काममा नै व्यस्त भइन् । पढ्ने इच्छा हुँदाहुँदै पनि बाल्यकाल नपढेरै वित्यो ।

विहेपछि जिम्मेवारी थपियो
विस्तारै उमेर बढ्दै गयो । अनि रोशनीको बिवाह भयो । बिवाहपछि झनै जिम्मेवारी थपियो । अझै संघर्षका दिनहरु शुरु भए। घरव्यवहार धान्नुपर्ने एकातिर थियो भने अर्कोतिर छोराछोरी जन्मिएपछि उनीहरुलाई हुर्काउनुपर्ने भयो । उनका श्रीमान्ले पनि कृषि कर्म गर्थथे । घरव्यवहार धान्नुपर्ने लगायतका काममा उनी व्यस्त हुनुपर्यो । उनले बिवाहपछि पनि पढ्ने इच्छा राखेकी थिइन् । तर त्यो वातावरण नभएपछि पढाइलाई निरन्तरता दिने उनको सपना अधुरै भयो ।

आमा समूहबाट आत्मविस्वास
सानैदेखि गम्भिर स्वभावकी उनी अन्यायकोविरुद्ध आवाज उठाउँथिन् । विशेष गरेर जातिय विभेद र महिलामाथी हुने दमन उनलाई सह्य हुन्थेन । उनी जुनसुकै काम गर्दा पनि पुरा गरेर छोड्थिन् । त्यही भएर गाउँका मानिसहरुले पनि काम गर्दा सधैं उनलाई नै अगाडी लगाउँथे । गाउँमा आमासमुह गठन भयो । त्यो समुहको अध्यक्षमा उनलाई नै राखियो । आमा समुहको अध्यक्षमा बसेर काम गरेपछि उनले धेरै कुरा सिक्ने अवसर पाइन् ।

उनले सानैदेखि सोचेको समाजसेवामा लाग्ने कामको शुरुवात पनि त्यही आमा समुहबाट भएको थियो । सँगै गाउँमा हुने विभिन्न सामाजिक काममासमेत सक्रिय हुन थालेपछि उनले समाजलाई अझै राम्रोसँग बुझ्ने अवसर पाइन् । उनले समाजलाई अझै बुझ्दै जाँदा रुपान्तरणका लागि अगाडी बढ्नुपर्छ भन्ने सिकाइ प्राप्त गरिन् । त्यसका लागि उनले घरपरिवार र श्रीमान्को पनि साथ पाइन् ।

अनि गठन भयो सहकारी
उनको गाउँमा आईएनएफले काम गरेको थियो । त्यसमा उनले सहजकर्ता भएर काम गर्ने मौका पाएकी थिइन् । आईएनएफले पाँच बर्षसम्म काम गर्दा गाउँमा कृषि समुहहरु बनाएको थियो । १५ वटा समुहले थिए । ति समुहले किसानको आयआर्जन सम्बन्धीका कामहरु गरिरहेका थिए । परियोजना सकिएपछि ति समुहलाई निस्किृय हुन नदिन समुहहरुलाई एकिकृत गर्दै सहकारीमा रुपान्तरण गर्ने सल्लाह भयो । त्यही सल्लाहअनुसार पाकमारे साना कृषि सहकारी संस्था २०७२ सालमा दर्ता गरियो ।

सहकारी बनाउनुपर्छ भन्नेमा सुनारको विशेष पहल रहेको थियो । अहिले संस्थामा पाँचसय शेयर सदस्य छन् । सहकारीको संस्थापक अध्यक्षको रुपमा काम गरेकी उनी अहिले पनि उक्त सहकारीको अध्यक्ष भएरै काम गरिरहेकी छन् । सहकारीले अहिले विभिन्न कृषि उत्पादन र बजारि करणको लागि काम गरिरहेको छ । महिलाहरु अहिले त्यही सहकारीमा आवद्ध भएर आत्मनिर्भर बन्न थालेका छन् ।

राजनीतिमा पनि सक्रिय
सहकारीलाई सफल नेतृत्व गरेपछि गाउँमा उनको चर्चा बढ्दै गयो । गाउँमा सबैले उनलाई काम गर्न सक्ने भन्दै प्रशंसा गर्न थाले । उनी पनि महिलाहरुमाथी हुने हिंसा र जातिय विभेद कम हुनुपर्छ भनेर अभियान चलाउन थालिन् । अनि राजनीतिमासमेत सक्रिय हुने अवसर उनले पाइन् । २०७४ सालमा स्थानीय निर्वाचन भयो । निर्वाचनमा उनलाई जनप्रतिनिधिको लागि गाउँकै सल्लाहमा अगाडि सारियो । अहिले उनी बराहताल गाउँ कार्यपालिकाको सदस्यसमेत भएर काम गरिरहेकी छन् ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएकी उनले काम गर्दा लगनशील भएर गर्छिन् । जुनसुकै काम शुरु गरेपछि पुरा गर्नुपर्छ भन्ने उनको सोच छ । घरव्यवहार धान्नुपर्ने, छोराछोरी हुर्काउनुपर्ने सँगै समाजसेवामा समेत सक्रिय भएर काम गर्नुपर्ने उनका लागि जिम्मेवारीको भारी नै छ । तर उनले हार नखाएर सामना गर्ने आँट गरिरहेकी छन् । संघर्षलाई निरन्तरता दिँदै उनी सफल भएकी छन् । उनले अहिले गाउँका दिदीबहिनीलाई आत्मनिर्भर मात्र होइन, सचेत समेत बनाएकी छन् ।

अबको योजना
उनी सहकारीसँगै राजनीतिमा पनि सक्रिय भएको हुँदा उनको अबको योजना भनेको गाउँपालिकाको उपाध्यक्ष हु्ँदै राजनीतिको उच्च नेतृत्वमा पुगेर समाज रुपान्तरण गर्नेछ । त्यसको लागि उनि अहिले पनि प्रयत्नशील छन् ।

आमा समूहको नेतृत्व गर्दै सहकारीको अध्यक्षसम्म

युवा संघ नेपालको ८ औं पूर्ण बैठक

आमा समूहको नेतृत्व गर्दै सहकारीको अध्यक्षसम्म

हुम्ला खार्पुनाथमा सकेट बम भेटियो

Leave a comment

Your email address will not be published. Required fields are marked *