शंकाले परिवारको सम्बन्ध विगार्छ

धेरै व्यक्तिहरुका सम्बन्ध साथीको रुपमा हुने गर्दछन । सँगै क्याम्पस पढ्दाका साथीहरुबीचमा हिमचिम बढ्दै जान्छ । आनि–बानी व्यहोरा समेत मन पर्न थाल्छ । अनि सँगै जिउनेगरी सम्बन्ध स्थापित भइदिन्छ ।

यस्तै भयो दैलेखका टेकराज कठायत र राम कुमारी खड्का कठायतको जीवनमा पनि । एउटै क्याम्पसमा पढे । सँगै साथी बने । साथीको रुपमा व्यवहार गर्दै गर्दा एकअर्कालाई मन पराउन थाले । अनि प्रेमी प्रेमीका बने । त्यसपछि बिवाह गरे । प्रस्तुत छ, यो जोडीसँग हाम्रा सहकर्मी टेकराज केसीले गरेकाे कुराकानीको साराशं :

क्याम्पस पढ्दा साथी बने
टेकराज र राम कुमारी एउटै जिल्लाको भएपनि उनीहरुबिचमा चिनजान थिएन । टेकराज क्याम्पस पढ्न सुर्खेत वीरेन्द्रनगर आए । उता राम कुमारी पनि क्याम्पस पढ्ननै वीरेन्द्रनगर आएकी रहेछिन ।

संयोगले दुबैजनाको पढ्ने क्याम्पस पनि एउटै रहेछ । क्याम्पस मात्र होइन कक्षा पनि एउटै भयो । पहिलो दिन दुबै जनाबिचमा एउटै कक्षामा बस्दा देखादेख मात्रै भयो । पहिलो दिन कुराकानी हुने चान्स पनि थिएन ।

टेकराजले पहिलो दिनमा नै राम कुमारीप्रति आकर्षित भएका थिए । एउटै कक्षामा पढ्ने भएपछि प्रत्येक दिन भेट हुन थाल्यो । कुराकानी पनि हुन थाल्यो, तर साथीको रुपमा ।

अनि प्रेम प्रस्ताव
राम कुमारी कोठाभाडा लिएर बस्थिन । अनि टेकराज बस्ने नजिकै उनी बस्ने भएपछि उनीहरुबिचमा झनै कुराकानी बढ्दै गयो । एकदिन टेकराज राम कुमारीको कोठामा गए । टेकराजले शुरुदेखि नै उनलाई मन पराएका थिए ।

अनि पानी खाएर केही समय कुराकानी गरे । दुबैजनाको राम्रै चिनजान भएको हुँदा उनले प्रेम प्रस्ताव राख्ने आँट गरे । अनि राम कुमारीले त्यो दिन कुनै जवाफ दिइनन् । अर्कोदिन फेरी टेकराजले प्रेम प्रस्ताव राखेपछि राम कुमारीले पनि स्वीकार गरिन ।

टेकराज इमान्दार र मेहेनती स्वभावको देखेर राम कुमारीले पनि उनलाई मन पराएकी रहेछिन । साथीको रुपमा रहेका उनीहरु प्रेमी प्रेमीकाका रुपमा व्यवहार गर्न थाले ।

अनि घरपरिवारमा कुरा चलाइयो
उनीहरुबिचमा प्रेम सम्बन्ध रहेको दुबै घरपरिवारलाई जानकारी दिइयो । दुबै परिवारले उनीहरुको मायालाई बिवाहमा परिणत गरिदिने सल्लाह गरे । अनि दुबै घरपरिवारको सल्लाहपछि उनीहरुको बिवाह गर्ने फिक्स भयो ।

राम कुमारीलाई टेकराजले धेरै माया गर्थे उनीहरुबिचमा बिवाह अगाडी पनि भविष्य कसरी अगाडी बढाउने भन्ने कुराकानी हुने गथ्र्यो । उनीहरु भन्छन, त्यतीबेलाको समय धेरै रमाईलो थियो ।

घरपरिवारकै सल्लाहमा उनीहरुबिच २०६३ सालमा बिवाह भयो । बिवाह भएर घरमा आउँदा राम कुमारीलाई केही बिरानो लागेको थियो । टेकराज र टेकराजको परिवारको मायाले उनी विस्तारै घुलमिल हुँदै गइन ।

उनीहरुबिच अझै धेरै माया बस्दै गयो । बिवाहपछि विभिन्न ठाउँमा घुमेपनि हनिमुन मनाउने चलन त्यतिबेला थिएन । उनीहरु हनिमुन मनाउन भने गएनन ।

संघर्ष
बिवाहपछि उनीहरुले आफ्नो भविश्यको रेखा कोर्दा धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ्नो पढाई पुरा गर्नुपर्ने थियो । टेकराजले आफुले अस्थायी जागिरी गर्दै पढ्दै गरेका हुन, भने राम कुमारीले पनि सबै घरको व्यवहार सम्हालेर आफ्नो पढाईलाई निरन्तरता दिन्थिन ।

उनीहरुका छोराछोरी पनि जन्मिए । त्यसपछि झनै उनीहरुका सघर्षका दिन सुरु भए । एकातिर छोराछोरी हुर्काउनुपर्ने अर्कोतिर घर व्यवहार धान्नुपर्ने उनीहरुको काँधमा धेरै जिम्मेवारी थियो । तर उनीहरु परिपक्व भएर बिवाह गरेको हुँदा योजनाअनुसार संघर्ष गर्ने गर्थे ।

लामो संघर्षपछि टेकराजले शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट २०७१ सालमा माध्यमिक तहमा नाम निकाल्न सफल भए । अहिले टेकराज जनकल्याण माध्यमिक विद्यालय डुङ्गेश्वर गाउँपालिका सेर्माकोट सहायक प्रधानाध्यापक भएर पढाइरहेका छन् । भने उता राम कुमारीले पनि घर व्यवहारसँगै व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

बाल्यकाल
बुवा टेकराज कठायत र आमा सुकी कठायतको कोखबाट वि.स. २०४० असार ६ गते दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ गर्चामा टेकराज कठायतको जन्म भएको हो । उनी घरको माईलो छोरा हुन ।

उनका ६ भाईबहिनी रहेका छन् । टेकराजको बाल्यकाल गाउँमै बित्यो । मध्यम परिवारमा जन्मिएका उनको बुवाले कृषि पेशा गर्दथे । सानैदेखि अध्ययनलाई पहिलो प्राथमिकता राख्ने उनले सानो कक्षा गाउँकै कालिका माविमा पढेका हुन ।

प्रावि तहसम्म त्यहि माविमा पढेका उनले त्यसपछि भने जयजनता मावि जोरेबाँझमा पढे । माध्यमिक तहको शिक्षा त्यही माविबाट गरेका उनले सुर्खेत क्याम्पस शिक्षाबाट एमएड पुरा गरेका छन् ।

उनी सानैदेखि सहयोगी स्वभावका थिए । उनी विभिन्न खेल क्षेत्रमा समेत रुची राख्ने गर्दथे । साँझ बिहान घरको काम गरेर दिउँसो विद्यालय पढ्न जान्थे ।

यता, बुवा तिर्थ खड्का र आमा धन कुमारी खड्काको कोखबाट वि.सं. २०४४ सालमा दैलेखको साविक नाउले कटुवाल गाविसमा रामकुमारी खड्का कठायतको जन्मभयो । सानो बाल्यकाल भने उनको सुर्खेतमा वितेको हो ।

उनका ७ भाईबहिनी रहेका थिए । सानो कक्षा उनले जन उच्च मावि सुर्खेतमा पढिन । त्यही माविबाट एसएलसी पास गरेकी उनले सुर्खेत क्याम्पस शिक्षाबाट विएड उत्तिर्ण गरेकी छन् ।

उनी पनि सानैदेखि आफ्नो पढाईलाई पहिलो प्राथमिकता राख्ने गर्थिन । अन्यायको विरुद्ध आवाज उठाउने स्वभावकी उनी सबैलाई समान व्यवहार हुनुपर्छ भन्ने सोच राख्छिन ।

प्रेम अनुभव
उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ । अहिलेसम्म झगडाभन्दा धेरै मायाँ भएको छ । उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ ।

यो जोडी फुर्सदको समयमा विभिन्न ठाउँहरुमा पनि घुम्न जाने, रमाईलो गर्ने गर्दछन । उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाई पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाव दिन्छन । यो जोडी जुनसुकै काम गर्दा पनि सल्लाहमा गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया