समाचार प्रभाव : विद्यालय पुनःनिर्माणमा एनएमबि बैंकको सहयोग

पुनम वि.सी.
सुर्खेत, ३० जेष्ठ ।
सुर्खेतको वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयलाई एनएमबि बैंकले सहयोग गर्ने भएको छ । गत जेठ ६ गते आएको हावाहुरीले सरस्वती प्राथमिक विद्यालयमा जस्ताको छाना उडाएपछि विद्यार्थी एकै कोठामा फरक–फरक कक्षा अध्ययन गर्न बाध्य छन् ।

गत जेष्ठ २७ गते उक्त विद्यालयको अवस्थाका विषयमा यस युगआह्वान राष्ट्रिय दैनिकमा ‘हावाहुरीले विद्यालयमा क्षति, मर्मत स्रोत खोज्दै नगरपालिका’ शिर्षकमा समाचार प्रकाशित समेत भएको थियो । बैंकले विद्यालयको भवन पुनःनिर्माणमा सहयोग गर्ने भएपछि विद्यार्थीको भविष्यकालागि सहयोगमा जोडिएको बैंकलाई विद्यालयले धन्यवाद दिएको छ ।

विद्यालयका प्रध्यानाध्यापक खड्कबहादुर खड्काले भने, ‘हाम्रो विद्यालयको समस्यालाई मध्यनजर गरी सहयोग गर्न अग्रसर हुनुभएको एनएमबि बैंक परिवारलाई धन्यवाद दिन चाहन्छौं ।’ चार वटा कोठा रहेको विद्यालय भवनको ‘धुरीबला’ सहित पुरै जस्तापाता नै हावाहुरीले उडाएको थियो । यसका साथै भवनको भित्तामा समेत क्षति पुगेको छ ।

२०५४–५५ सालमा निर्माण भएको उक्त भवन पटक पटक पुनः निर्माण भएको समेत हो । यस यसपालि भने एनएमबि बैंकको प्राविधिकसहितको टोलीले विद्यालयको स्थलगत निरिक्षण गरी पुनःनिर्माण गर्न सकिने जनाएपछि भवन निर्माण प्रक्रिया अघि बढ्दैछ ।

बेैंकका क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेलले भने, ‘हावाहुरीले क्षति पुरयाएको उक्त भवनमा हामीले प्राविधिक सहितको टोलीका साथ स्थलगत अवलोकन गरेका थियौँ । यस विषयमा बैंकको केन्द्रिय कार्यालयमा जानकारी गराएपछि विद्यालय भवनको पुनःनिर्माणमा बैंकले सहयोग गर्ने प्रक्रिया अघि बढेको छ ।’ बैंकका प्राविधिकले करिव पाँच लाख रुपैयाँ आसपासमा विद्यालयको भवन पुनःनिर्माण गर्न सकिने जनाएका थिए ।

विद्यालयको व्यवस्थापन समितिले भवन पुनः निर्माणका लागि बैंकलाई आवश्यक कागजपत्र पठाईसकेको छ । यता एनएमबि बैंक समेत विद्यालयसँग सम्झौताको तयारीमा छ । प्याकुरेलले भने, ‘विद्यालयसँगको सम्झौताको अन्तिम तयारीमा छौँ । उहाँहरुसँग सम्झौता भयो भने भोली नै विद्यालयको भवन पुनःनिर्माणको प्रक्रिया अघि बढ्छ ।’

विद्यालयसँगको सम्झौतापछि आफैले भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने बैंकको योजना छ । प्याकुरेलले भने, ‘मनसुन पनि सुरु हँुदैछ । यस्तो अवस्थामा जति सक्दो चाडो काम गर्न पाए राम्रो हुन्थ्यो । मनसुनले विद्यार्थीको अध्ययन–अध्यापन वातावरणमा पनि प्रभाव पार्न सक्छ । त्यसैले मनसुन अघि नै दु्रत गतिमा विद्यालयको भवन पुनःनिर्माण गरी हस्तान्तरण गर्न चाहन्छौ ।’

विद्यालयको उक्त भवन पुरानो संरचना भएकाले पनि भवनको जगैबाट पुनःनिर्माणको काम शुरु गरिने उनले जानकारी दिए । उनले भने, ‘विद्यालय भवनको जगमा समेत हावाहुरीका कारण क्षति पुगेको रहेछ । यस विषयमा बैंकले उक्त भवनको जगैदेखि मर्मत गर्दै पुनःनिर्माण गर्ने योजना गरेको छ ।’

हावाहुरीले क्षति पु¥याउँदा विद्यालयको पठनपाठनमा अवरोध पुगेपछि बैंक र विद्यालयवीच राजनितिकर्मी तथा व्यवसायी उपेन्द्र खड्काले समन्वयकारी भुमिका निर्वाह गरेका थिए । बैंकलाई विद्यालयको पुनःनिर्माणका प्रेरित गर्ने र विद्यालयलाई सहयोग आउनसक्ने स्रोतको बारेमा खड्काले नै जानकारी दिएका थिए ।

खड्काले भने, ‘वीरेन्द्रनगरका धेरै विद्यालयहरुमा हावाहुरीले क्षति पु¥याएको थियो । जसमध्ये सबैभन्दा धेरै क्षति पुगेको र तत्काल सहयोगको आवश्यकता रहेको विद्यालय सरस्वती प्राविनै देखेपछि मैले बैंकसँग सहकार्य गरेको थिए ।’

विद्यालयका विषयमा प्रकाशित समाचारका विषयमा बैंकमा छलफल भएपछि सहयोगको लागि बैंक अगाडी सरेको उनी बताउँछन् । बालबालिकाको भविष्यसँग सिधा जोडिएको शिक्षा क्षेत्रमा बैंक सहयोगका लागि अगाडी बढेकोमा खड्काले धन्यवाद दिए ।

सरस्वती प्राथमिक विद्यालयलाई कक्षाकोठाका लागि भवन निर्माणका विषयमा वीरेन्द्रनगर नगरपालिकाले लागत खर्चको लागी स्रोतको खोजी गरिरहेको समेत थियो । यसका लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने योजना गरेको नगरपालिकाले आगामी बर्षको बजेटबाट विद्यालयका लागि दुई कोठे पक्की भवन निर्माण गर्ने जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी तिवारीले भने, ‘यसअघि पनि नगरपालिकाले सो विद्यालयका लागि भवन मर्मतमा खर्च गरिँनै रहेको हो । अब भने हामी विद्यालयमा पक्की भवन निर्माणको योजनामा छाँै ।’

जिर्ण भवनका कारण समय समयमा मर्मत गरिराख्नुपर्ने भएकाले पनि नगरपालिकाले उक्त विद्यालयमा पक्की भवन निर्माणको योजना अघि सारेको हो । नगरको प्रथम कार्यपालिका वैठकबाट नगरपालिकाले वीरेन्द्रनगरमा हावाहुरीका कारण क्षति पुगेका विद्यालयहरुको पुनःनिर्माणका लागि आर्थिक स्रोतको खोजी गरी काम सुरु गर्ने निर्णय समेत गरेको छ ।

सहयोग खोज्दै क्षतिग्रस्त विद्यालय
हावाहुरीका कारण सुर्खेतका अन्य विद्यालयमा समेत क्षति पुगेका छन् । शनिबार आएको हावाहुरीका कारण सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थित जनसेवा प्राथमिक विद्यालयको भवनमा क्षति पुगेको छ । विद्यायलको नौं कोठे भवनको जस्तापाता हावाहुरीले उडाएर लगेको छ ।

यसैगरी गत वैशाख यता विभिन्न समयमा आएको हावाहुरीका कारण सुर्खेतका धेरै विद्यालयमा क्षति पुगेको छ । जसकारण बालबालिकाको अध्ययन क्रियाकलापमा समेत असर पुगेको देखिन्छ । वीरेन्द्रनगर नगरपालिका–१५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सोलार पातामा क्षति पुगेको छ ।

त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाको १ नं. वडाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धारापानीको दुई कोठे भवनको जस्ता पाता, १३ नं. वडा स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय काफ्लटाकुराको भवनको आधा पाली, ११ नं. वडा स्थित शिव माध्यमिक विद्यालयमा समेत जस्ता तथा परिसरमा रुख ढलेर विद्यालयको भवनमा क्षति र ६ नं. वडा स्थित जन माध्यमिक विद्यालयको उत्तर तर्फको पर्खाल भत्किएर क्षति पुगेको छ । क्षति पुगेका विद्यालयहरु सहयोगको खोजी गरिरहेका छन् ।

शिव माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पूर्ण पौडेलले भने, ‘झुप्रा क्षेत्रमा रहेको हाम्रो विद्यालयको बालविकास भवनको हावाहुरीले जस्तापाता उडाएर लिएको छ । यता माध्यमिक तहको भवनमा दुई कोठाको टीन (जस्ता) भाँचिएको छ । हाललाई अस्थायी रुपमा व्यवस्थापन गरी हामीले शिक्षण गरिरहेका छौँ ।’

वीरेन्द्रनगर नगरपालिकालाई यस विषयमा समेत विद्यालयले जानकारी गराएको छ । तर नगरले आसालाग्दो जवाफ नदिएको उनी बताउँछन् । उनले भने, ‘नगरपालिकासँग आर्थिक स्रोतको अभाव छ । हामी विद्यालय पनि आफ्नै स्रोतबाट मर्मत गर्न नसक्ने अवस्थामा छौँ ।’

तपाईको प्रतिक्रिया