‘पालिकाभित्र स्वास्थ्य र शिक्षामा समस्या छ’

छबिराम सुबेदी/अध्यक्ष नौमुले गाउँपालिका, दैलेख

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचनबाट नयाँ जनप्रतिधिहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । भने जनप्रतिनिधिहरु पनि त्यही अनुसारका बाचा गरेर जनताबाट अनुमोदित भएका छन् ।

जनप्रतिनिधिहरुले अब कसरी काम गर्दै छन् ? शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्न कस्ता योजना बनाएका छन् त ? यीनै विषयमा केन्द्रीत रहेर दैलेख नौमुले गाउँपालिका अध्यक्ष छबिराम सुबेदीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

सर्बप्रथम तपाईलाई बधाई एवम सफल कार्यकालको शुभकामना छ ।
धन्यवाद छ ।

निर्वाचितपछि तपाईले कुन कामलाई प्राथमिकता दिनुभएको छ ?
पहिलो भनेको सुशासनको पक्षमा काम गर्नुपर्ने छ । सेवा प्रवाहमा अहिले पारदर्शी छैनन, त्यसलाई पारदर्शी बनाउने कुरा, फ्जुल खर्च रोक्ने कुरा छ ।

समग्रमा भन्नुपर्दा सुसाशनलाई पहिलो प्राथमिकता राखेर जानेगरी हामी अगाडी बढेको अवस्था छ । दोस्रो भनेको हाम्रो पालिका भनेको पिछडिएको पालिका हो । सडक बाह्रै महिना चल्ने छैनन । टेलिफोनले पनि राम्रोसँग काम गर्दैन ।

विगत पाँच बर्षमा विकासको कामलाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा कुनै गुरु योजना पनि बनेको छैन । त्यसका लागि तथ्याङ्कहरु संकलन गरिएको छैन । हामीले अब आवधिक योजना बनाएर त्यसकै आधारमा विकासका कामहरु अगाडी लैजान्छौ । साधन स्रोतको कमी होइन, इमान्दारिताको कमि देख्छु म चाहीँ ।

तपाईले निर्वाचन लड्दा गरेका प्रतिवद्धता कसरी पुरा गर्नुहुन्छ ?
जनप्रतिनिधि र स्थायी सरकारको रुपमा रहेको कर्मचारी तन्त्र पनि छ । सबैसँगको सहकार्यमा जनताका अल्पकालिन र दिर्घकालिन समस्याहरु समाधान गर्दै जाने हामी प्रष्ट छौं । हामी कुरा गर्ने भन्दा पनि काम गर्नुपर्छ भनेर लागिरहेका छौं ।

आउँदो आर्थिक बर्षको बजेट निर्माणको हामी उत्तराद्र्धमा छौ । हामीसँग यो बर्ष त पर्याप्त समय नभएको हुँदा आउँदो बर्षदेखि योजना निर्माण दिगो हुने गरी गर्छौ ।

तपाईले देखेको नौमुले गाउँपालिका मुख्य समस्याहरु के हुन ?
नौमुले गाउँपालिकाको मुख्य समस्या मैले अघि पनि भनिसके । पहिलो त सुशासन नहुनु हो । दोस्रो भनेको जनताहरु गरिबी बेरोजगारीको समस्यामा छन् । विकासको हिसावले पछाडी पारिएको पालिका हो । यी समस्या हुन । बाटो पनि पालिकासम्म जाने कालोपत्रे भएको छैन ।

वडासम्म जाने बाटो ग्राविल छैन । जटिल बिरामी भएको खण्डमा तत्काल अस्पाताल पुर्याउने अवस्था छैन । स्वास्थ्य र शिक्षाको अवस्था त्यत्तिकै समस्या छ । त्यहाँ राम्रो जनशक्ति कति उत्पादन हुन्छन ?

त्यसको लेखाजोखा छैन । भएका स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने औषधीको समेत अभाव हुने गरेको छ । यस्ता यावत समस्याहरु नौमुले गाउँपालिकामा छन् ।

अनि ति समस्याहरु कसरी समाधान गर्नुहुन्छ त ?
हामीसँग भएको स्रोत, साधन र जनशक्तिको प्रयोग गरेर यो समस्याहरु समाधान गर्न सक्छौ । स्रोत, साधनको सहि ढङ्गले प्रयोग नहुँदा र स्पष्ट दृष्टिकोण नहुँदा अहिलेसम्म यो समस्याहरुको समाधान हुन नसकेको हो ।

विकास कतिको भएको छ भन्ने थाहा पाउन विद्यालयहरुको अवस्था हेरे थाहा हुन्छ भनेजस्तै हामी अनुगमनमा जाँदा विद्यालयहरुको अवस्था एकदम नाजुक देखेका छौं । ती समस्या हामी समाधान गर्न तर्फ लाग्छौ ।

पालिकाको बेरोजगारी समस्या समाधान गर्ने तपाईका योजना के हुन ?
तपाईले भनेको जस्तै बेरोजगारी समस्या ठुलो समस्याकै रुपमा छ । हामीले रोजगारी दिने खालका योजना निर्माण गर्न सकेनौँ भने नियमित गरिने विकासका कामले मात्र जनता सन्तुष्ट हुँदैनन ।

जनतालाई अहिले चाहिएको भनेको पारदर्शी सेवा र दोस्रो भनेको युवाहरुलाई रोजगारी हो । हाम्रो नौमुले गाउँपालिकाको कुरा गर्दा हाम्रो जनसंख्या भनेको २१ हजार मात्र हो । एसएलसी गरेर बेरोजगार बसेका युवाहरुको संख्या भनेको झण्डै २५ सय जति छ । उनीहरुले नियमित खालको रोजगारी पाउन सकेका छैनन् ।

तिनिहरु कहिले भारत जानुपर्छ भने कहिले अरवमा जानुपर्छ । मुख्यतया हाम्रो लागि चुनौती भनेकै ती युवाहरुलाई कसरी रोजगारी दिने भन्नेमा छ । नेपालको संविधानले रोजगारीको हकलाई मौलिक हकको रुपमा व्याख्या गरेको छ । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । त्यसको लागि बन्नुपर्ने कानूनहरु पनि बनिसकेको अवस्था छैन ।

यद्यपी २०७५ मा एउटा कार्यविधि बनेको छ । पालिकामा रोजगार केन्द्रहरु हुने लगायतका कुरा समेटिए । तर भनेअनुसार रोजगारी दिन सकेको छैन । हामीले अब युवाहरुलाई गरिखाने बनाउनको लागि हाम्रोमा दुई वटा हाइड्रो पनि सञ्चालन भइरहेको अवस्था छ, त्यसमा केही मानिसहरुलाई रोजगारी दिन सकिन्छ भन्ने छ ।

भने कृषि, पशुपालन क्षेत्र परम्परागत भयो । त्यसले गर्दा युवाहरुको आकर्षण बढ्न सकेको छैन । यसलाई बैज्ञानिक ढङ्गले उत्पादनमा बृद्धि गर्नेगरी योजना बनाएर युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो योजना छ भने विभिन्न सीपहरु सिकाएर पनि स्वरोजगार बनाउनतर्फ हामी केन्द्रित हुन्छौ ।

शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि तपाईले कस्ता योजना बनाउनुहुन्छ ?
शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ । शिक्षाको गुणस्तर पनि कमजोर छ भने भौतिक संरचनाहरुको अवस्था पनि गतिलो छैन । स्वास्थ्यमा पनि अवस्था त्यस्तै हो ।

निःशुल्क पाउनुपर्ने औषधी र डाक्टरहरुको अभाव छ । यी सबै कुरालाई ध्यानमा राखेर हामी सुधारको बाटोमा जान्छौं । विगतमा यी क्षेत्रलाई धेरै उपेक्षा गरिएको हाम्रो बुझाई छ ।

तपाईको प्रतिक्रिया