रुस-युक्रेन युद्धका कारण बाध्यात्मक मूल्यवृद्धि : आपूर्तिमन्त्री बडू

काठमाडौं। सरकारले रुस-युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताएको छ। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए।

विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपाल-भारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इन्धन खरिद गर्ने गरिएको बताए।

अन्तर्राष्ट्रिय मूल्यका आधारमा हुने मूल्य समायोजनाअनुसार नेपाल आयोल निगमलाई पेट्रोलमा दुई अर्ब, डिजेलमा तीन अर्ब ३९ करोड र एलपी ग्यासमा मासिक दुई अर्ब ९२ करोड घाटा रहेको भन्दै उनले निगम मासिक ६ अर्ब ७१ करोड घाटामा रहेको बताए।

२२ अर्ब ४० करोड भारतीय आयल निगमलाई तिर्न बाँकी रहेको जानकारी दिँदै उनले इन्धनमा लगाइएको घर घटाएर मूल्य घटाउने प्रस्ताव १० जेठमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए । सोहीअनुसार अहिले अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनकाे भनाइ छ।

तपाईको प्रतिक्रिया