वीरेन्द्रनगरको मेयरमा ५० मत गन्दा कांग्रेसको अग्रता, राप्रपा दोस्रोमा

सुर्खेत, ३१ वैशाख ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । वडानम्बर १ को ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् ।

दोस्रोमा राप्रपा रहेको छ । राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् भने । तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट पाएकी छन् ।

यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकालले अग्रता लिएकी छन् । उनले २३ मत पाएकी छन् । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत पाएका छन् । वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन छ । एमाले र एकीकृत समाजवादी एक्लै लडेको छ ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको मतगणना बिहान ११ बजेदेखि गणना गर्ने भनिएपनि झण्डै ४५ मिनेट ढिलोगरि गणना सुरु भएको थियो ।

गएराती राति १२ बजेसम्म मतपेटिका संकलन कार्य सम्पन्न भएपनि सर्वदलिय बैठक बस्न सकेन् । बिहानदेखि जारी सर्वदलिय बैठकले ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको थियो ।

वीरेन्द्रनगरका १६ वटै वडाका मतपेटिका वीरेन्द्रनगर आइसकेका छन् । मतगणना वीरेन्द्रनगरको सिटी हलमा सुरु भएको सहायक निर्वाचन अधिकृत उज्जल रावलले जानकारी दिए ।

वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल छन् । नगरपालिकामा ६७ हजार ५६ मतदाता रहेकोमा शुक्रबारको निर्वाचनमा ४८ हजार ३०४ (७२.४ प्रतिशत) ले मतदान गरेका छन् ।

यो नगरपालिकामा मेयर र उपमेयरका लागि १३÷१३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् भने वडाअध्यक्षहरुमा १०१, खुल्ला सदस्यमा १६४, महिला सदस्यमा ८३, दलित सदस्यमा ७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया