गाई गोठालो जाँदा चिनजान

नगेन्द्रबहादुर शाही/दुर्गा शाही

व्यवहार मिल्नेहरु एकअर्कामा आकर्षित हुन्छन । चिनजान हुन्छ, चिनजानपछि झनै देख्न मन लाग्ने गर्दछ । बानी व्यवहार मन परेपछि प्रेममा डुब्ने व्यक्तीहरु धेरै छन ।

यस्तै भयो दैलेख गुराँस गाउँपालिका वडा नम्बर ५ गोगनपानीका नगेन्द्रबहादुर शाही र दुर्गा शाहीको जीवनमा पनि । गोठालो जाँदा चिनजान भयो । त्यहीबाट माया बस्यो अनि बिवाह भयो । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :

बाल्यकाल
नगेन्द्र बिदाको समयमा गाई गोठालो जान्थे । नगेन्द्रको पल्लो गाउँकी दुर्गा पनि गोठालो आउने गर्थिन । गाई चराउने वन एउटै भएको हुँदा उनिहरुको भेट भइरहन्थ्यो । चिनजान भएपनि त्यती राम्रोसँग बोलचाल भने थिएन ।

सामान्य कुराकानी बाहेक खास्सै कुराकानी हुने गर्थेन । उमेर बढ्दै गयो, उनिहरुबिचमा यसैगरी नै भेट पनि हुँदै गयो । नगेन्द्रले दुर्गालाई मन पराएका थिए । तर भन्न सकेका थिएनन।

सामान्य कुराकानीभन्दा धेरै कुरा नभएकै बेला एकदिन नगेन्द्रले दुर्गासँग लामो समय कुरा गरेका थिए । केही बर्ष अघिको कुरा थियो । त्यो कुराकानीले दुबैजनालाई धेरै नजिक बनायो । अनि उनीहरु नियमित जस्तो लामो कुराकानी गर्न थाले ।

नगेन्द्रले राखे प्रेम प्रस्ताव
सानैदेखि चिनेको मानिससँग घुलमिल भएको अधिकांस समय भेट भइरहँदा भित्रैदेखि माया जाग्न थाल्यो । नगेन्द्रले मात्र होइन दुर्गाले पनि नगेन्द्रलाई साह्रै मन पराएकी थिइन । देख्दा इमान्दार अनि मेहेनती केटा, दुर्गाको मनमा बसेका थिए नगेन्द्र। नगेन्द्र पनि आफुले मन पराएको कुरा भन्न चाहान्थे । तर भन्न सकिरहेका थिएनन ।

जुनसुकै काम गर्दा पनि निडर स्वभावका उनि उनिलाई प्रेम प्रस्ताव राख्न सकिरहेका थिएनन। उनिहरु धेरै नजिक भइसकेका थिए । प्रेम प्रस्ताव राख्ने अरु कुनै माध्यम थिएन । एकदिन नगेन्द्रले आफुले मन पराएको कुरा भन्ने आँट गरे । २०५४ साल बर्षाको समयमा हो । त्यतीबेला बर्षायाममा एक महिना विद्यालय बन्द हुथे ।

अनि सधै गोठालो जानुपथ्र्यो । दुर्गालाई नगेन्द्रले आफुले मन पराएको कुरा भने । त्यतीबेलासम्म दुर्गालाई लागेको थियो आफुले मात्र मन पराएको होकी भनेर । तर नगेन्द्रले पनि मन पराउने थाहा पाएपछि उनले उनको प्रस्तावलाई त्यही दिन केही जवाफ दिइनन ।

आफुले मात्र मन पराएको होकी भन्ने सोचेका नगेन्द्रले अर्को दिन पनि त्यही कुरा दोहोर्याए । अनि दुर्गाले पछि दुख दिन पाइन्न भनेपछि बल्ल उनिहरु दुबैको मनको कुरा एकअर्काले बुझे । अनि केही समय अगाडी सम्म साथीको रुपमा रहेका अब प्रेमी प्रेमीका बने ।

भागी भागी भेट हुन्थे
पढाई शुरु भएपछि उनिहरुको धेरै भेटघाट हुन पाउदैन्थ्यो । पढ्न जानुपर्ने भएकाले दुबैजनाको भेट विदाको समयमा गोठालो गएको बेला जस्तो हुदैन्थ्यो । अनि घरबाट विभिन्न बाहाना गराएर दुबैजना भेट गर्थे ।

कति बेला भेटम जस्तो हुन्थ्यो उनीहरुलाई । जब उनीहरु बिचको माया गहिरिँदै गयो । अब संसारमा कोही चाहिदैन जस्तो अनुभुती हुन्थ्यो । त्यतीबेला सुचनाको माध्यम केही नभएको हुँदा उनिहरु गाउँमा हुने पुजा, बिवाहहरुमा भेट हुने अपेक्षासहित जान्थे ।

उनीहरुको जब भेट हुन्थे । कुराकानी नभएपनि आनन्द महसुस गर्थे । दुबैजनाको प्रेमको बारेमा गाउँमा कसैलाई थाहा थिएन । तथापी उनीहरु भने भित्रभित्रै मायामा डुबीसकेका थिए । भेट हुँदाका ति पलहरु सम्झिदा उनिहरुलाई अहिले पनि रमाइलो लाग्छ ।

अनि बिवाह गरे
उनीहरुले लामो समय प्रेमी प्रेमीका भएर माया गरे । एक बर्षपछि उनिहरुले बिवाह गर्ने निर्णय गरे । दुबैको घरपरिवारमा यस विषयमा कुनै जानकारी थिएन । सँगै बस्ने सँगै बाँच्ने कसम खाएका उनिहरु अब एकअर्कासँग छुट्टिएर बस्न नसक्ने अवस्थामा पुगेका थिए ।

अनि उनीहरुले २०५५ साल आसोजमा बिजाह गरे । गाउँका इमान्दार मानिने नगेन्द्रले बिवाह गरेर ल्याएको देख्दा गाउँका मानिसहरु दंग परेका थिए । बिवाह गरेर घरमा जाँदा दुर्गालाई बिरानो गाउँ, ठाउँ लागेको थियो । नगेन्द्रले साह्रै माया गर्ने भएकाले सबै कुरा बिर्सने गर्थिन ।

दुर्गा विस्तारै सबैसँग घुलमिल हुँदै गइन उनि । त्यतीबेला हनिमुन मनाउने चलन थिएन । गाउँमा प्रेमलाई पनि गोप्य राख्ने चलन थियो । उनिहरु त्यही भएर हनिमुन पनि गएनन । उनीहरुको अनुभवमा बिवाहपछि माया धेरै लाग्दो रहेछ ।

उनिहरुको बिवाह भएको २२ बर्ष भयो । तर अहिलेसम्म झगडा भएको छैन । सानैदेखि लाएको माया दिगो हुने रहेछ भन्ने उनिहरुको अनुभवले भन्छ ।

संघर्ष बिवाहपछि
उनीहरुले आफ्नो भविश्यको रेखा कोर्दा धेरै संघर्ष गर्नुपर्यो । एकातिर आफ्नो पढाई पुरा गर्नुपर्ने, अर्कोतिर घर व्यवहार सम्हाल्नुपर्ने धेरै मेहेनत उनिहरुले गरे । सामान्य परिवारमा जन्मिएका दुबैजनाको आर्थिक अवस्था सामान्य थियो ।

बिवाह गर्दा लागेको ऋण समेत नगेन्द्रले स्थानीय श्रोतमा शिक्षक भएर तिरेका थिए । धेरै संघर्षका बाबजुत नगेनद्रले आफ्नो पढाई पुरा गरे । उनिहरुको छोराछोरी पनि हुर्काउनुपर्ने, घर खर्च जुटाउनुपर्ने थियो । उनीहरु दुबैजना एक अर्कालाई साथ दिएर काम गर्थे । काम गर्दा नआत्तिने नगेन्द्र र दुखमा साथ दिने दुर्गाको बानी थियो ।

अनि दुबैजनाले लामो संघर्षबाट सफलताको बाटो भेट्टाए । नगेन्द्र आफुले पढेको पार्वती माबि गोगनपानीको शिक्षक बने । अहिले उनी त्यही माविको प्रधानाध्यापक छन् । भने दुर्गाले घर व्यवहारसँगै व्यवसायमा संङ्लग्न छन ।

बाल्यकाल बुवा चक्र बहादुर शाही र आमा नर बहादुर शाहीको कोखबाट २०३५ माघ १९ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ५ गोगनपानीमा नगेन्द्र बहादुर शाहीको जन्म भएको हो । उनि घरको माइलो छोरा हुन । उनका ३ भाइ मात्र छन ।

सामान्य परिवारमा जन्मिएका
उनको बाल्यकाल गाउँमै वित्यो । सानो कक्षा पनि उनले गाउँमै पढे । कक्षा–७ सम्म हालको पार्वती मावीमा पढेका नगेन्द्रले कक्षा–८ कक्षादेखि भने दैलेख डुङ्गेश्वर गाउँपालिकाको सिता मावी अवलपराजुलमा पढेका हुन । त्यही माबिबाट उनले २०५१ सालमा एसएलसी पास गरे ।

साझ बिहान घरको काम गर्दै विद्यालय तहको शिक्षा उनले हासिल गरेका हुन । उनले मास्टर्स सम्म पढेका छन । मास्टर्स शिक्षा क्याम्पस सुर्खेतबाट २०६९ सालमा उनले पुरा गरेका हुन । सानैदेखि इमान्दार र मेहेनती स्वभावका उनलाई धेरै साथीहरुले मन पराउथे ।

यता, बुवा नर बहादुर चन्द र आमा पदम कुमारी चन्दको कोखबाट विस २०३६ साल जेठ महिनाको १६ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ५ गोगनपानीमै दुर्गा शाहीको जन्म भयो । उनि घरको तेश्रो सन्तान हुन । उनका ४ दिदी बहिनी र एक भाई छन । उनको बाल्यकाल पनि गाउँमै वित्यो ।

उतिबेला छोरीहरुलाई पढाउने चलन थिएन । त्यहीभएर सामान्य कक्षाबाहेक उनले धेरै पढ्न पाइनन। सरल स्वभावकी उनले चुनौतीलाई सामाना गर्न सक्छिन ।

प्रेम अनुभव
उनीहरुको बिचारमा दुबैको कुरा बुझ्ने सुख दुखमा साथ दिनु भनेको प्रेम हो । दुबैजना बिचमा विश्वासको वातावरण हुनुपर्छ । अनिमात्र प्रेम दिगो हुन्छ ।

उनीहरु भन्छन शंकाले सम्बन्ध विगार्छ । अन्य जोडिहरुलाइ पनि उनीहरुले सोच बदलेर विश्वास र एकअर्काको सहयोगमा काम गरे सफलता हाँसिल हुने सुझाव दिन्छन ।

तपाईको प्रतिक्रिया