सुर्खेत बहुमुखी क्याम्पस : दाताको सहयोगमा संरचना निर्माण

सुर्खेत, १७ असार ।
सुर्खेत बहुमुखी क्याम्पसका लागि दाताले चारकोठे पक्की शैक्षिक भवन निर्माण गरिदिएका छन् । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भिमबहादुर मल्लको नाममा ‘भिम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन् । एक बर्षको समय लगाएर निर्माण सम्पन्न उक्त भवन शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

मल्लले आफ्ना भाई धर्मराज शाहीको पहलमा २५ लाख १ हजारको भिमकमला मल्ल छात्रवृति अक्षय कोष समेत स्थापना गरेकी छन् । क्याम्पसका प्रमुख माधव प्रसाद खनालका अनुसार शैक्षिक भवन निर्माणका लागि ७८ लाख २८ हजार ८८२ रुपैयाँ लागत लागेको हो ।

क्याम्पसका लागि मल्लले १ करोड ३ लाख २९ हजार ८८२ रुपैंया दान स्वरुप प्रदान गरेकी हुन् । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो । भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा सहभाागि राज्यमन्त्री यादवले दान प्रारुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिइन् ।

शिक्षा क्याम्पसका प्रमुख माधव प्रसाद खनालले झण्डै ५० बर्षको अवधिमाा क्याम्पसले थूप्रै आरोह–अवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने बताए । यद्यपि यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उनले चिन्ता व्यक्त गरे ।







