गाउँमा लाग्ने मेला हेर्न जाँदा प्रेम प्रस्ताव

प्रेम दुई आत्माको मिलन हो । दुई मन एक भएसम्म प्रेम दिगो हुन्छ । मन र भावनाहरु मिलेपछि मानिसहरु जीवनभर सँगै बाँच्ने प्रण गर्दछन् । आफूले मन पराएको मान्छेलाई पाउनका लागि अशल प्रेमी र प्रेमिकाले सच्चा माया गर्दछन् । जब दुई मनको मिलन हुन्छ, तब सच्चा प्रेम गर्नेहरु एकदिन पनि अलग बस्न सक्दैनन् । अनि परिवार र समाजको तगारो तोडेर विहे गर्न तयार हुन्छन् । यस्तै भयो सुर्खेत चिङ्गाडका रेशम चन्द र भिमा रानाको जीवनमा पनि । पहिलो पटक देखेपछि रेशमले मन पराए । अनि उनीहरु साथी बने । आपसमा प्रेम गर्न थाले । अनि जीवनभर एकअर्काको बन्न तयार भएर विहे गरे । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :-

साथीको घरमा जाँदा देखादेख
रेशम र भिमाका दाई मिल्ने साथी थिए । उनीहरुको बिचमा सानो कुरा पनि साटासाट हुने गथ्र्यो । एकदिन रेशम सवओभरसियरको जागिर खाने क्रममा सुर्खेतको अवलिचङस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गए । आफ्नो काममा गएका उनी आफ् नो साथी रमेश रानाको घरमा गए । साथीको घरमा जाँदा भिमालाई पहिलो पटक देखे । यद्यपी त्यसबेला उनीहरुको देखादेख मात्र भयो । उनीहरुको बिचमा कुराकानी भने भएन । रेशमको बसाइ अवलचिङमा नै भयो ।

अनि उनले त्यहाँ रहेको विद्यालयमा कक्षा १० मा गणित विषय पढाउने मौका पाए । उनले विद्यालय जाँदा भिमालाई भेट्ने मौका पाए । भिमा विद्यालयवाट फर्किदै थिइन् । रेशमले पछ्याउँदै बोलाए । त्यहीबेला उनीहरुको पहिलो दिन करिब आधा घण्टा जति सामान्य कुराकानी भयो । रेशमले शुरुमा त बोलाउँदा भिमा धेरै लजाएकी थिइन् । उनले बोल्ने इच्छा राखे पनि धेरै बोलिनन् । रेशमलाई शुरुमा नै भिमा मन परेको थियो ।

साथीमार्फत प्रेम प्रस्ताव
दशैंको समय थियो । गाउँमा मेला लाग्यो । त्यही बेला दुबै जनाको भेट भयो । रेशमले भिमालाई धेरै मन पराएका थिए । उनले आफ्नो मनको कुरा भन्न चाहान्थे । तर भन्ने मौका नै पाएका थिएनन् । अनि दशैंको बेला लागेको टोट्नाउला मेलामा रेशमले आफ्नो एकजना साथीमार्फत प्रेम प्रस्ताव पठाए । तर रेशमलाई आफ् नो प्रेम प्रस्ताव स्वीकार हुने वा नहुने के हुन्छ भन्ने चिन्ता थियो ।

भिमा भने यो विषयमा मौन बसिन् । कुनै जवाफ दिइनन् । तर रेशमले प्रेम प्रस्ताव पठाएपछि गाउँभरी नै चर्चा भयो । त्यसपछि भिमाको दिदीले यो जोडीको प्रेम जुराउन भूमिका खेलिन् । त्यसपछि रेशमले पहिलो प्रेमपत्र कोरे । त्यो प्रेमपत्र भिमालाई पठाए । त्यसको जवाफ भिमाले पठाउँदै आफुले पनि मन पराएको चिठ्ठीमा लेखेकी थिइन् । अनि उनीहरुको प्रेम अगाडी बढ्यो ।

एकदिन भेट नहुँदा न्यास्रो
भिमा अवलचिङमै पढ्थिन् । रेशम पनि कक्षामा पढाउने नाममा पटकपटक विद्यालयको परिसरमा गइरहन्थे । विदाको दिनमा पनि उनी काममा गइरहन्थे । भिमा पनि शनिवारको दिन रेशमलाई भेट्नकै लागि मटेला विभिन्न काम लिएर जाने गर्थिन् । विस्तारै दुबै जनालाई एकदिन पनि भेट नहुँदा न्यास्रो लाग्न थाल्यो । रेशमलाई त मटेलाबाट अवलिचङ आउने र जाने बाटो पनि धेरै छोटो लाग्थ्यो । उनीहरु भन्छन, जब माया बस्छ, त्यसपछि जस्तोसुकै परि स्थिति पनि सजिलो र अनुकुल लाग्दो रहेछ ।

भागेर विहे
जब उनीहरु प्रेममा डुबे । धेरै समयसम्म अलग भएर बस्न नसक्ने अवस्थामा पुगे । दुबै जनाले घरमासमेत बिवाहको कुरा गरे । दुइै परिवारको बिचमा पनि कुराकानी भयो । जुन दिन परिवारमा कुराकानी चल्यो, त्यहीदिन नै दुबै जनाले भागी बिवाह गरे । उनीहरुले २०६१ साल मंसीर १४ गते विवाह गरे ।

बिवाह गर्दा रेशम २२ बर्षका थिए भने भिमा १८ बर्षकी थिइन् । बिवाह गरेर अर्काको घरमा जाँदा सुरुमा भिमालाई केही नरमाइलो लागेको थियो । बिरानो ठाउँ, छोरीबाट बुहारी भएर जाँदा घरमा बुहारी, भाउजु भनी वोलाउँदा पनि मन चसक्क हुने । उनले सोच्थिन् म पनि बुहारी भएछु । रेशम र घर परिवारको मायाले उनी घुलमिल हुन सकिन् । उनीहरु जिम्मेवारी बोध गरिरहेका थिए । बिवाहपछि हनिमुन मनाउन जाने भन्ने उनीहरुको सोच थियो । तर गाउँमा त्यस्तो चलन नभएकाले उनीहरु हनिमुन मनाउन गएनन् ।

संघर्षबाट हार खाएनन्
बिहेपछि उनीहरु पढाइका लागि वीरेन्द्रनगर आए । विहे गरेको चार महिनापछि रेशमको सवओभरसियरको जागिर सकियो । त्यसपछि उनले पढ्न थाले । भिमा पनि एसएलसी पास गरेर पढ्न थालिन् । दुवै जनाको पढाइ खर्च रेशम आफैले जुटाउनु पथ्र्यो । उनीहरुको घरवाट खर्च पठाउने सम्भावना थिएन । रेशमले सवओभरसियरका विद्यार्थीलाई पढाउँथे । कहिलेकाँही ट्युशन पढाउँथे । जेनतेन वीरेन्द्रनगरको वसाइ गुज्रीरहेको थियो ।

त्यसपछि रेशम जागिरको शिलशिलामा दुई वर्ष दैलेख र दुई वर्ष कैलालीको गैरसरकारी संस्थामा काम गर्न पुगे । उनले स्नातकोत्तर पास गरे । भिमाले पनि स्नातक पास परिन् । दुवै जनाले लोकसेवाको पनि राम्रै तयारी गरेका थिए । तर सफल हुन सकेनन् । रेशम शाखा अधिकृतको परीक्षामा पहिलो चरणमा सात पटकसम्म सफल भएका थिए । बाणिज्य वैंकमा भने अन्तर्वातामा असफल भए । तर उनले सरकारी जागिर खान सकेनन । तर हार भने कहिले खाएनन् । कैलाली र दैलेखको वसाईपछि रेशम सुर्खेत आएर घर बनाउन सके । भिमाले पनि फेन्सी पसल गर्न शुरु गरिन् । अहिले उनीहरु सुर्खेतमा जमेर बसेका छन् । रेशम सात वर्षदेखि स्याक नेपालमा कार्यरत छन् ।

संघर्षपूर्ण बाल्यकाल
बुवा हैतु चन्द र आमा तुलसी चन्दको कोखबाट विसं २०३९ साल फागुन १९ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ३ मटेलामा रेशम जन्म भयो । उनको बाल्यकाल गाउँमै वित्यो । उनले मालिका मावि मटेलाबाट एसएलसी पास गरे । त्यसपछि भने उनले २०७२ सालमा स्नातकोत्तर तह पास गरे । सानैदेखि सबैसँग मिलनसार र सालिन स्वभावका उनी आफ्नो पढाइ र काममा मेहेनत गर्थे ।

उनी कक्षामा कहिल्यै दोस्रो भएनन् । यस्तै बुवा दुर्गबहादुर राना र आमा खगिसरा रानाको कोखबाट विसं २०४४ साल साउन ४ गते सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ५ अवलचिङमा भिमाको जन्म भयो । उनको बाल्यकाल पनि गाउँमै वित्यो । सानो कक्षादेखि नै भैरव मावि आवलचिङमा पढेकी उनले २०७० सालमा स्नातक पास गरिन् । उनको बाल्यकाल पनि मध्यम खालको थियो । उनि पनि घरको काम गर्दै पढ्दै गरेकी हुन् ।

फुर्सदमा घुमघाम
यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र समझदारीमा गर्छन् । काम गर्नुभन्दा पहिले उनीहरुको बिचमा छलफल हुन्छ । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । उनीहरु भन्छन्, ‘घरमा खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने र छोराछोरीको सरसफाइको काम मिलेर गर्छौं ।’

तपाईको प्रतिक्रिया