राजा ‘डुबे’, नेताहरू ‘डुब्दैछन्’

केही साताअघि म बसेकै अमेरिकी शहर डयालसमा नेपालका फरक क्षेत्रका दुई चर्चित व्यक्तिहरू आए । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल र डा. गोविन्द केसी । दुबैले नेपालमा सुशासनको अभावको कुरा गरे । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालसँग प्रत्यक्ष गफिने अवसर मिल्यो, एक अपरान्ह ।

झण्डै डेढ घण्टाको गफमा उनले कतिपय सन्दर्भमा राजा महेन्द्रको नाम लिए, महेन्द्र यस्ता थिए, उस्ता थिए । कटुवाल भनिरहेका थिए, राजा महेन्द्र जो, आफ्ना आलोचकहरूलाई समेत आफ्नै वरिपरि राखिरहन्थे । दरबारका पारिवारिक जमघटहरूमा समेत उनले राजेश्वर देवकोटा वा कीर्तिनिधि विष्टलाई एउटा कुनामा बस्न लगाउँथे ।

अरूहरू ह्विस्की पिइरहेका हुन्थे । देवकोटा भने कुनामा चुपचाप बसेर घोत्लिइरहेका हुन्थे, चिया लिएर । जब जमघट सकिन्थ्यो, अनि महेन्द्रले देवकोटालाई सोध्थे, ल भन, तिमीलाई के भन्नु छ ? अनि देवकोटा जवाफ दिन्थे, सरकार, यो यो कुरा त ठिकै हो, तर यो यो कुरा त गर्नु हुँदैन सरकार ।

राजेश्वर देवकोटाको यस्तै ‘ आलोचनात्मक चेत’ बाट प्रभावित भएर होला शायद, महेन्द्रले दियालो बंगलामा जानु र मृत्युवरण गर्नुअघि वीरेन्द्र लगायत राजपरिवारका अन्य सदस्यहरूलाई भनेका थिए, जब देशमा ठूलो आपत विपत आउँछ, तब राजेश्वर देवकोटा र कीर्तिनिधि विष्टसँग सल्लाह लिनु ।

शायद आफ्ना पिताको त्यही सल्लाह सम्झेर ज्ञानेन्द्रले आफुले शासन लिएपछि कीर्तिनिधि विष्टको सल्लाह र सहयोग लिन खोजे पनि । तर सफल भएन । समय फरक परिसकेको थियो वा यसो पनि हुनसक्छ, जतिबेला ज्ञानेन्द्रले सत्ता हातमा लिए र विष्टमा भर परे, त्यतिबेला विष्टले देवकोटाको जस्तो ‘आलोचनात्मक चेत’ गुमाइसकेका थिए । कटुवालको विचारमा महेन्द्र जस्तो आफ्ना आलोचकहरु वा गाली गर्ने मान्छेहरू आफ्ना वरिपरी नराखेकै र उनीहरूका कुरा नसुनेकै कारण ज्ञानेन्द्र ‘डुबे’ ।

कटुवाल आफुले भने ‘चिफ’ हुँदा आफुलाई गाली गर्ने एउटा टोली नै बनाए । उनकै भनाइमा गाली गर्ने टोलीमा राजनीतिज्ञ, पत्रकार, कुटनीतिज्ञ, अर्थविद र व्यापारी एक–एक जना थिए । उनी साताको एकपटक उनीहरूबाट गाली सुन्थे रे ।

उनी मसँग भनिरहेका थिए, ‘मलाई मनमा लागेको एउटा कुरा के भने नेतृत्वमा बस्नेका लागि एउटा गाली गर्ने टोली असाध्यै जरुरत र महत्वपूर्ण हुने रहेछ । गाली सुन्ने गुण नेतामा हुनुपर्छ । तर नेपालमा ठूलो मान्छेलाई नराम्रो कुरा सुनाउँदै नसुनाउने चलन छ ।’ मन्त्री बिरवलले राजा अकबरलाई सभामा गाली गर्ने गरेको र त्यसलाई अकबरले सहज रुपमा लिने गरेको प्रसङ्गहरू पनि कटुवालले कोट्याए ।

संयोग भनौं कि के भनौं, कटुवालको कुरा सुनेको एक साता नबित्दै नेपालमा एमालेको विधान महाधिवेशनमा देवत्वकरण गरिएका र पोलदेखि बोत्तलसम्म टाँसिएका खड्गप्रसाद ओलीका तस्वीरहरू देखें । मलाई थाहा छैन, ठूला साना पोष्टर हरूमा समेत टाँसिन रमाउने ओलीले कति गाली सुन्ने धैर्यता राख्छन् ? सुन्ने भनेको सुन्ने मात्र होइन, त्यसलाई मनन गर्ने र सच्याउने पनि हो ।

नेपालमा आजसम्म कुनै नेताले गल्ती भयो भनेर आत्मालोचना गरेको मलाई थाहा छैन । अक्सर नेपाली नेताहरूले गल्तीहरूमा पनि लिंडेढिपि गरेको देखेको र सुनेको मात्र छु। गल्ती भएको स्वीकार्नै परे, ‘फर सन्दर्भ’ भनेर ती आफ्नो अहमको अझै वचाव गर्छन् ।

एकछिन है त, प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती गरियो चाहिँ प्रष्ट भनेका छन है । यो एउटा मात्र उदाहरण हो, जुन मेरो नोटिसमा छ । प्रधानमन्त्री पत्नी आरजु राणाले कतै भनेको पढिरहेको थिएँ, शेरबहादुर देउवाको छिट्टै रिसाउने बानी छ ।
हो त, प्रधानमन्त्री देउवा त झन् ‘झोकी’ छन् । यिनले गाली के, सुझाव के समेत छुट् याउन सक्दैनन् । जो गाली र सुझाव छुट्याउन सक्दैन र जसले आफ्ना वरिपरी भजन मण्डली खडा गरेर रात दिन धुनी जगाउँछ, उसको नियति भनेको ‘डुब्ने’ नै हो ।

हो, कटुवालले ठिक भनेका हुन्, आफुले सचेत गराउने मान्छे वरिपरी नराखेकै कारण ज्ञानेन्द्र ‘डुबे’का हुन् ।सन् २००६ मा बंगलादेशको ढाकामा भएको सार्क सम्मेलनमा भाग लिने सरकारी टोलीमा ‘काकताली’ ले म पनि थिएँ, जसको नेतृत्व गरेका थिए तत्कालीन राजा ज्ञानेन्द्रले ।

सम्मेलनको उद्घाटन सत्र सकिएको साँझ राजा ज्ञानेन्द्रले टोलीमा समावेश पत्रकार हरूलाई भेट्न चाहे । पंक्तिवद्ध रुपमा हामी बस्यौं । एक एक गर्दै उनले हामीलाई भेट्दै गए । र, कुरा सुन्दै गए । त्यहाँ सबैजसोले राजा जे सुन्न चाहन्थे, त्यही सुनाए ।

आफुले सुन्न चाहेको कुरा सुन्न पाएर राजामा जुन भाव देखिन्थ्यो, त्यसले बताउँथ्यो कि उनी यस्तै प्रशंसाको भ्रम र रागमा छन् । त्यही भ्रम र रागले उनीसँगै राजतन्त्र गयो ।

मिडियासँग ‘डिल’ गर्ने मामिलामा नेपालको ‘पर्फमेन्स’ कमजोर देखियो भनेर मैले गरेको टिप्पणीलाई लिएर टोलीमा सहभागी कतिपयले ‘राजाको अगाडि परराष्ट्र मन्त्री र राजदूतलाई अप्ठ्यारो पार्ने गरी कुरा उठाउने’ भनेर मेरो आलोचना गरे । त्यो बेला राजासँग साथमा थिए परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे र बंगलादेशका लागि नेपाली राजदूत भगिरथ बस्नेत ।

म त्यहाँ देशको कुरा गरिरहेको थिएँ, मान्छेहरू त्यसलाई व्यक्तिसँग जोडिरहेका थिए । राजा यसै डुबेका होइनन् । राजा डुब्नुमा राजा स्वयं जति जिम्मेवार छन्, व्यक्तिको अहम र महत्वाकांक्षालाई अनावश्यक मलजल गर्ने र शक्तिलाई खुशी पार्ने नेपाली मनोबृत्ति पनि उत्तिकै जिम्मेवार छ । तपाइँहरू जो यो पढिरहनु भएको छ, ठान्दै हुनुहोला राजा मात्र अहम, महत्वाकांक्षा र आत्मरतिमा रमाउने एक मात्र पात्र थिए र हुन् ।

होइन, त्यस्तै अहम, महत्वाकांक्षा र आत्मरति तपाइँ अहिलेका सबै जसो नेताहरूमा पाउनु हुन्छ । चाहे शेरबहादुर देउवा होऊन् वा खड्गप्रसाद ओली, गाली त के प्रत्यक्ष आलोचना सुन्ने र मनन गर्ने आँट समेत गर्दैनन् । राजा जसरी डुबे, उसरी नै एक एक गरी नेपाली नेताहरू डुब्दै गैरहेको म टाढाबाट देखिरहेको छु। यस्तो लाग्छ, नेपाली नेताहरू एक पछि अर्को गरी डुब्ने पालो पर्खेर बसिरहेका छन् ।

यिनले आफु र सँगसँगै नेपाली जनतालाई पनि उतार्ने ल्याकत गुमाउँदै गइरहेका छन् । नेताहरू मात्र किन, तपाइँ हामी पनि, जब आफ्नो अहम, महत्वकांक्षा र आत्मरतिबाट मुक्त हुन सक्दैनौँ, तब हामीले पनि पर्खने भनेको आफु ‘डुब्ने’ दिन नै हो । एकादुइ छोडेर अक्सर हामी डुब्ने दिन पर्खिरहेका छौं । राजा होऊन् कि नेता– कार्यकर्ता वा जनता, यी सूर्य जस्ता होइनन्, जो आज ‘डुबेर’ भोली सजिलै उही राप र तापका साथ उदाउँछ ।

दसैंका बेला जति÷जस्ता सन्देश दिए पनि राजाहरू सूर्य जस्ता होइनन्, जो फेरि उसैगरि उदाउँछन् । नेताहरू पनि कहाँ सूर्य जस्ता हुन् त नि, जो प्रत्येक बिहान उही चमक, उही राप, उही सौन्दर्य बोकेर लोभलाग्दो गरी उदाउँछन् ? ती फेरि उदाऊन् वा नउदाऊन् केही थिएन । नेपाल अँध्यारै भैरहन्छ कि, चिन्ता यत्ति हो । (इकागजबाट)

राजा ‘डुबे’, नेताहरू ‘डुब्दैछन्’

YUGAAWHAN NATIONAL DAILY (2078-7-25)

राजा ‘डुबे’, नेताहरू ‘डुब्दैछन्’

सरकारको १० हजार अनुदान पाउन अति विपन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *