साथीहरु विदेश गए मैले स्वदेशमै सम्भावना देखेँ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका कार्यालय प्रमुख हुन् माधव मिश्र । आजभन्दा ठिक सात बर्षअघि उनलाई केही साथीहरुले विदेश जाने सपना देखाए । स्नातकोत्तर तहको पढाइ सकेर केही साथीहरु विदेश उडे । तर उनलाई विदेश जान मन लागेन । जे गर्न सकिन्छ, आफ्नै देशमा गर्छु भन्ने सोचे । विकल्पहरु धेरै भेटिए । भाग्यले खाद्य तथा व्यापार कम्पनीमा सेवा गर्ने अवसर जुरायो । दाङको देउखुरीमा दुईवर्ष सेवा गरेपछि कम्पनीले उनलाई कर्णालीको जिम्मेवारी दियो । २०७७ असोजदेखि उनले कर्णालीमा हुने खाद्यान्न आपूर्तिको नेतृत्व लिएका छन् । नेतृत्वमा रहदासम्म कर्णालीमा खाद्यान्न अभाव हुन नदिने अठोट उनले लिएका छन् । प्रस्तुत छ, उनै मिश्रको कर्मचारी क्षेत्रको अनुभव र जीवन भोगाइमा केन्द्रीत रहेर गरिएको कुराकानीको सारांश :

 

 

माधव मिश्र

प्रमुख, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेत

 

बाल्यकालमै जन्मभूमि छोड्दा

आजभन्दा १९ वर्षअघि अर्थात २०५८ साल । तत्कालीन माओवादी थालेको विद्रोहले देशमा अशान्तिको बादल मडारी रहेको थियो । बम, गोला र हत्याहिंसाको कुनै सीमा थिएन । दिनदिनै विद्रोही र राज्यपक्षबीच ठूलो भिडन्त हुन्थ्यो ।

काट्ने, मार्ने र मर्नेको कुनै गन्ती थिएन । माओवादी विद्रोह चरमउत्कर्षमा पुगेपछि माधव मिश्रको परिवारलाई गाउँमा बस्ने सहज वातावरण भएन । किनकी उनका बुवा दधिराम मिश्र नेपाल प्रहरीमा जागिरे थिए । परिवारको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले नेपाल प्रहरीमा लागेका दधिराम ।

अन्ततः प्रहरीमा लागेकै कारण परिवार गाउँबाट विस्थापित हुनुपर्ने बाध्यता भयो । ‘विद्रोहको समयमा ज्यान जोगाउनु सबैभन्दा बुद्धिमानी हुन्थ्यो’ माधव भन्छन्, ‘वुवा प्रहरीमा भएकै कारण हामीले सानैमा जन्मभूमि (गाउँ) छोड्नु प¥यो । २०४६ साल मंसिर ४ गते मालारानी गाउँपालिका–५ बागीबझेरी अर्घाखाँची जन्मिएका उनले १२ बर्षकै उमेर गाउँ छोडे । आफन्त, साथीभाई र छरछिमेकबाट टाढा हुन बाध्य भए ।

ज्यान जोगाउनकै लागि अर्घाखाँचीको सिमाना बत्थरकोटमा बसाई सरे । विस्थापित हुँदा आफन्तीमात्रै छुटेनन् । मेलापात र गाइगोठालो गर्ने पेशा पनि छुट्यो । मध्ययम कृषक परिवारमा जन्मिएका उनी बुवा दधिराम र आमा शोभा मिश्रका एक्ला छोरा हुन् ।

फुपुले बोकेर स्कुल

माधवले सानै उमेरमा पढ्ने वातावरण पाए । हिँडडुल गर्न सक्थे । तर गाउँको अफ्ठेरो बाटोमा आफन्तहरुले हिँड्न दिन्थेनन् । त्यही कारण फुपुको बुई लागेर खकरा सिक्ने स्कुल पुगे । ‘हिँडडुल त गर्न सक्थे, तर स्कुल जाने बाटो सहज थिएन’ उनी भन्छन्, ‘मलाइ फुपुले नै बोकेर स्कुल लिने र ल्याउने गर्नुहुथ्यो ।’ पढाइको महत्व बुझेकै कारण सानै उमेरमा स्कुल गए ।

गाउकै ज्ञानदीप प्राथमिक विद्यालयबाट कखरा सिके । कक्षा ५ सम्मको पढाइ ज्ञानदीपबाटै पुरा गरे । गाउँमा कक्षा ६ देखि माथिल्लो तह पढाइ हुने थिएन । जसकारण झण्डै साढेएक घण्टाको दुरीमा पर्ने सिद्धार्थ माध्यमिक विद्यालय हंसपुरबाट कक्षा ६ उत्तिर्ण गरे । त्यसपछि भने गाउँमा बस्ने वातावरण भएन ।

माओवादी विद्रोहले चरम रुप लिएपछि गाउँबाट विस्थापित भए । बत्थरकोटमा बसाई सरेपछि कक्षा ७ देखि १० सम्मको पढाइ गंगाज्योति माविबाट पुरा गरे ।
२०६१ सालमा एलएलसी उत्तिर्ण भएपछि तत्कालीन अक्सफोर्ट उच्च माविबाट प्लसटु गरे । उनले कपिलबस्तु बहुमुखी क्याम्पसबाट स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय

क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । पढाइमा मध्यम विद्यार्थी हुन् । पढाइसँगसँगै उनले वादविवाद, वक्तित्वकला, निबन्ध प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापमा विशेष रुचि राख्थे ।

अब्बल नेतृत्व

प्लसटुको पढाइ सकिएपछि अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोच । आफ्नो खर्च आफै जुटाउने कोशिस गरे । ‘विहान क्याम्पस पढ्थेँ, दिनभरीको फुर्सद हुन्थ्यो’ उनी भन्छन्, ‘समयको सदुपयोग र खर्च जुटाउन बोर्डिङ स्कुलमा जागिर गरे ।’

केही समय कपिलबस्तु कै एउटा बोर्डिङ स्कुलमा पढाए । तर एउटा विषय पढाउँछु भनेर स्कुलमा जोडिएका एक महिनामै अभिभावक र सम्पूर्ण कर्मचारीको मन जिते । नेतृत्वदायी क्षमता देखेर लगानीकर्ताले एक महिनामै स्कुलको नेतृत्व नै सुम्पियो । बोर्डिङ स्कुलमा मात्रै होइन ।

स्थायी जागिरमा जोडिएदेखि हालसम्म उनी नेतृत्वमै छन् । २०७५ साल कात्तिकमा तत्कालीन खाद्यान्न संस्थाबाट जागिरमा प्रवेश गरेका मिश्रले सुरुमै नेतृत्व गर्ने अवसर पाए ।
दाङको तुलसीपुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तत्कालीन अञ्चल कार्यालयको नेतृत्व गरे । बर्षाैदेखि उपयोगविहीन बनेको संस्थाको भौतिक सम्पत्तिलाई प्रयोगमा ल्याए । केहीलाई भाडामा लगाए । संस्थालाई आम्दानी दिए । उनको सफल नेतृत्व देखेर नै कम्पनीले उनलाई २०७७ असोज २५ गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशको जिम्मेवारी सुम्पिएको छ ।

जिम्मेवारीमारहदासम्म कर्णालीमा खाद्यान्न अभाव हुन नदिने उनको अठोट छ । ‘कर्णालीमा अभाव छैन, समयमा ढुवानी नहुँदा केही ठाउँमा केही चामल अभाव हुन्छ’ उनी भन्छन्, ‘समयमै ढुवानी गर्ने र सधै संकट पर्ने क्षेत्रमा सधै चावल उपलब्ध गराउन सके कर्णालीमा कहिले खाद्यान्न अभाव हुँदैन ।’

चुनौतीले अवसर ल्याउँछ

२०७१ सालमा माधवले स्नातकोत्तर तहको पढाइ पुरा गरे । उमेर २५ वशन्त पार गरिसकेको थियो । जीवनको सबैभन्दा उर्जाशिल उमेर थियो । पढाइको कुनै कमी थिएन । तर हिँड्ने बाटो र पुग्ने गन्तव्यको कुनै टुङ्गो थिएन ।

अंग्रेजी विषयमा स्नातकोत्तर भएकाले बोर्डिङ स्कुलमा जागिर पाउन गाह्रो थिएन । तर २५ वर्षे उमेरमा उनी अस्थायी जागिर गर्नु समयलाई खेर फाल्नु सरह सोच्थे । उनका केही साथीहरु विदेश उडे । तर उनलाई विदेश जान मन लागेन ।

‘साथीहरु विदेश उडे, मलाइ जे गर्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ भन्ने लाग्यो’ उनी सुनाउँछन्, ‘अवसरहरु धेरै थिए, तर भाग्यले यो क्षेत्रमा डो¥यायो ।’ पढाइ सकिएपछि करिव एकवर्ष लोकसेवा आयोगको तयारी गरे ।

स्थायी रोजगारीको आशमा भूकम्पमा जाँदा पनि काठमाडौँ छोडेनन् । २०७२ मा अधिकृतको परीक्षा दिए । २०७३ मा रिजल्ड आयो । तर वैकल्पिकमा नाम निस्कियो । त्यो समय उनले निकै निराश भए । उमेर नेटो काट्दै थियो । तर पढाइ पुरा भएपछि तीन वर्षसम्म स्थायी जागिरको टुङ्गो नै लागेन ।

पकेट खर्च टार्ने उपाय नै भएन । ‘त्यो बेला मसँग आर्थिक अभाव प¥यो’ उनी भन्छन्, ‘कुनै समय पाँचसय रुपैयाँ सापट माग्दा पनि दिने कोही थिएन ।’ त्यही समय विपसना ध्यान केन्द्रमा पुगे । ध्यान केन्द्रले उनले केही गर्न सक्छु भन्ने उर्जा प्राप्त गरे । जीवनदेखि हरेश खाएनन् ।  बरु आत्मबल बटुलेर बुटवल फर्किए ।

खर्च टार्न केही समय पुनः शिक्षक पेशा गरे । ट्यूसन सेन्टर र स्कुलमा पढाए । तर शिक्षण पेशाबाट आम्दानी भए पनि आत्मसन्तुष्टि मिलेन । त्यही चुनौती सामन गर्न सकेकै कारण अहिले यो स्थानमा आइपुगेको उनको तर्क । ‘हरेक चुनौतीहरु अवसर लिएका आएका हुन्छन्’ उनी भन्छन्, ‘अभाव, असुन्तुष्टि र अन्यौलतालाई चिर्न सकेकै कारण यो स्थानमा आएको हुँ ।’

तपाईको प्रतिक्रिया