अन्यौलमा विद्यार्थीको भविष्य

मनवीर नेपाली/सुर्खेत
राम्रो नम्बर विद्यार्थीको बाटो तय गर्ने साधन हो । नम्बर राम्रो भएन भने विद्यार्थीको भविष्य अन्धकार नै हुन्छ । तर यसबर्ष करिव २६ हजार विद्यार्थी कक्षा ११ पढ्न नपाउने भएका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलको अध्यक्षतामा गत साउन २८ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकले एसईईमा अंग्रेजी, विज्ञान र गणित विषयमा डि प्लस ल्याएर मात्र नपुग्ने र कक्षा ११ मा भर्ना हुन जीपीए १.६ ल्याउनैपर्ने प्रावधान पहिल्यै रहेको कुरा प्रस्ट पारेको छ । यसबर्ष यि दुबै मापदण्ड पुरा नगर्ने विद्यार्थी करिव २६ हजार छ ।
कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय पढ्नका लागि भने जीपीए १.६ सँगै अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ल्याउनै पर्दछ । मौका परीक्षा हुने अवस्था पनि यसपाली छैन । के ति विद्यार्थीहरु अब नपढ्ने ? स्मरण रहोस् २०७२ सालदेखि सुरु भएको ग्रेडिङ्ग अंकन प्रणालीमा कसैको लब्धांक पत्रमा ‘अनुत्तिर्ण’ लेखिदैन । संधैका बर्षहरुमा जस्तै यसबर्ष पनि विद्यार्थीले पूर्णरुपमा परीक्षाको अन्तिम घडीसम्म तयारी गरे । तर चीनको वुहान शहरबाट फैलिएको कोरोना भाईरस इटाली, अमेरीका, भारत हुँदै नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएपछी र महामारीका कारण मृत्युका घटनाहरु बढ्दै गएपछी २०७६ चैत्र ६ गते देखि हुने तय भएको एसईई परीक्षा स्थगित भयो ।
परीक्षा स्थगित भएपछी कक्षा १० का एसईई दिने विद्यार्थी अन्यौलमा परे । परीक्षा फेरी कहिले हुन्छ ? यसैक्रममा शिक्षा मन्त्रालयको निर्णय अनुसार शैक्षिक सत्र निरन्तरताका लागि विद्यालयहरुले विद्यार्थीको पूर्वकार्यदक्षता र पूर्व परीक्षाका नतिजा अनुसार मूल्याङ्कन गरी नम्बर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भयो । सोही बमोजिम परीक्षा बोर्डले अन्य मूल्याङ्कनका विधि अपनाएर विद्यालयहरुले पठाएका नम्बरहरु प्रमाणीकरण गरेर यही भाद्र ५ मा नतिजा प्रकाशन पनि गर्यो । विगत बर्षहरुमा परीक्षाको नतिजा हेर्ने हो भने ग्रेड प्रणाली सुरु भएको सुरु बर्ष २०७२ मा औषत ग्रेड पोईन्ट ४ ल्याउने विद्यार्थी दुई जना मात्र थिए ।
त्यसपछी २०७३ मा चार जना, २०७४ मा ७४ जना, २०७५ मा १०२ र अहिले यस बर्ष २०७६ मा विद्यालय आफैले मूल्याङ्कन गर्दा औषत ग्रेड पोईन्ट ४ ल्याउने नौ हजार भन्दा बढी विद्यार्थी भए । त्यसमा २६ हजारभन्दा बढी विद्यार्थीले कक्षा ११ मा भर्ना पाउन नसक्नेगरी परीक्षाको परिणाम सार्वजनिक भयो । विद्यार्थी आफैले लेखेर ल्याउने ग्रेड पोईन्ट र अहिले विद्यालयहरुले स्वमूल्याङ्कन गर्दा कति फरक पर्दो रहेछ । वास्तवमा परीक्षा आफैमा एउटा विद्यार्थीले आफूलाई आफैले चेक जाँच गर्ने पद्धति अवस्य हो । विद्यार्थीको स्तर जाँच गर्ने एउटा प्रणाली भनेको परीक्षा हो । परीक्षाले विद्यार्थीलाई उसको स्तरको मापन गर्ने गर्दछ । विद्यार्थी योग्य र अयोग्य सावित गर्दछ । आफैले मेहनेत गरेर ल्याएको नतिजामा विद्यार्थीले गर्व गर्ने ठाउँ रहन्छ ।
यस बर्षको मूल्याङ्कनमा के त्रुटी भयो ?
अहिलेको औसत ग्रेड पोईन्ट मूलयाङ्कनमा के समस्याहरु रहे ? वास्तवमा अहिले सर्सती हेर्दा हेड टिचरको आफ्ना, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वा समितिका सदस्हरुका आफ्ना र जेठो शिक्षकको आफ्ना मान्छे र अरु सामाजमा नाम कमाएका, धन कमाएका मान्छेका छोरा छोरीहरुले राम्रो ग्रेड पाए । यसरी राम्रो ग्रेड पाउनुमा विद्यार्थी स्वयमको विद्यालय भित्रको कार्यसम्पादन, नियमितता र अघिल्ला परीक्षाहरको कार्यसम्पादन आदिलाई अवश्य हेरियो होला । तर, मौका यही हो भनेर आफ्नालाई हेरेको देखियो । यसरी मूल्याङ्कन गर्दा अवश्य पनि विद्यार्थीलाई फाईदा हुंदैन । बाहिर बजार हेर्दा राम्रो गे्रड पाउने विद्यार्थीमा पनि खुशी पाईएको छैन । कम ग्रेड पोईन्ट पाउने पनि खुशि छैनन् । कम ग्रेड पोईन्ट पाउने विद्यार्थी भन्छन, ‘ममाथि पक्षपात गरियो, योभन्दा राम्रो त मैले आफैले लेख्न पाएको भए हुने थियो । सरहरुले ममाथि पक्षपात गरे ।’ भन्ने गुनासो सुन्नमा आएको छ ।
योभन्दा अघिका परीक्षा विद्यालयले लिदा पनि हुने यो एसईई किन मान्य नहुने भन्ने पनि कुरा सुनियो । तर यहाँ परीक्षा नै नलिईकन नतिजा निकालियो । यो कुरा अनौठो लागेको हो । नौ कक्षा सहजै पास भएर दशमा पढेको विद्यार्थीको मूल्याङ्कन विद्यालयहरुले स्वमूल्याङ्कन गर्दा यति धेरै विद्यार्थी कक्षा ११ मा पढ्न नपाउने भए । आफै परीक्षा दिएर यो अवस्था आएको भए यसको जिम्मेवारी बिद्यार्थीहरुले आफै लिने थिए । यि कलेजमा भर्ना हुन नपाउने विद्यार्थीका लागि राज्यले सोच्नु पर्दछ । अब पुनः परीक्षा लिने त वातावरण नै भएन । तर पनि पुनः मूल्याङ्कन गरेर भए पनि उनीहरुको स्तरोन्नती गरेर उनीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गर्न जरुरी छ ।
राम्रा विद्यालयले के गरे ?
राम्रा कहलिएका विद्यालयहरुले आफ्नो विद्यालयको शाख राखिराख्न बिद्यार्थीलाई दिन सक्ने जति अंक दिए । मानौं सामाजिक शिक्षा वा अरु थेओरी बिषयमा विना मूल्याङ्कन शतप्रतिशत नम्बर दिन मिल्छ कि मिल्दैन ? त्यस्ता विषयमा पनि विना परीक्षा शतप्रतिशत अंक दिएर पठाईयो । यहाँनेर गल्ती भयो । अनि प्राक्टीकल र थेओरी दुबैमा शत्प्रतिशत अंक दिईयो र अन्य बिषयमा पनि त्यसरी नै अंक दिईयो । यसले विद्यार्थी समस्यामा परेका छन् ।
अर्कोतर्फ कमजोर अभिभावकहरुको सूचि बनाएर उनीहरुको बच्चाहरुलाई सोही अनुसार अंक दिइयो । अंग्रजीमा हेल्लो इफेक्ट भन्ने गरिन्छ कि गरिव र सामान्यका छोराछोरी पनि सामान्य नै हुन्छन् । तर अहिले लोकसेवा आयोगमा नाम निकाल्नेहरु मध्ये केही सामान्य परिवारका पनि छन् । उनीहरुले मेहेनेत गरेर लोकसेवा आयोगमा नाम निकाल्न सफल पनि भएका छन् । के त्यसो मात्र हुँदा ेरहेछ त ? वास्तवमा होइन । यसरी हचुवाको भरमा अंक दिंदा विद्यार्थीलाई कति असर पर्दछ भन्ने कुरा त राज्यले अव एकदुई बर्षमा थाहा पाउन सक्ला ।
अबको बाटो के ?
वास्तवमा अब यस्तो खाले परीक्षाको नतिजा नेपालमा कहिल्यै हुनु हँुदैन । किन भने हरेक विद्यार्थीले आफ्नो क्षमता आफैले चेकजाँच गर्न चाहन्छ । जे जस्तो नतिजा आए पनि आफूले मेहनेत गरेर ल्याएको ग्रेडप्रति उसले गर्व गर्दछ र त्यसको जिम्मा आफै लिन्छ । हामी बच्चालाई जीवन सिकाउने भन्छौं । वास्तविक जीवन पनि यहि हो । किनभने आफूले गरेको कामको परिणाम राम्रो भए पनि नराम्रो भए पनि त्यसको अपनत्व आफूले लिन पाउँदाको मजा बेग्लै हुन्छ । त्यसले जीवन सिकाउँछ । जीवन सिक्नु नै वास्तवमा वास्तविक शिक्षा हो ।
जब मेडिटेरियनहरुले समुन्द्रको भेउ पाएनन् त्यसपछी डुङ्गाको आविस्कार गरे । जब रातिमा धेरै अँध्यारो भयो र रातका कामहरु सहज हुन सकेनन्, त्यसपछी थोमस अल्वा अडिशनले बिजुलीको बल्वको आविष्कार गरे । समस्याले आविस्कार गर्न सिकाउँछ भन्ने कुरा त हामीलाई थाहा छ । त्यसैले विद्यार्थीलाई आफै उत्तर पुस्तिका लेख्न लगाएको भए राम्रो हुने थियो । यो परीक्षा सबै बन्दोबस्ती मिलाएर अनलाईन पनि गर्न सकिन्थ्यो ।(लेखक : सुर्खेतका सामाजिक अभियान्ता तथा अधिकारकर्मी हुनुहुन्छ)






