कविता : आमा
युवराज आचार्य
तिम्रा छोराहरु परदेश नजाउन
तिम्रा छोरिहरु बम्बै नपुगुन
तिम्रा नाति अनि नातिनाहरु
तिमी मर्ने बेलासम्म तिम्रै वरिपरि घुमिरहुन
हो आमा तिमी यहि चाहन्छौ
तर तिमी जे चाहन्छौ, त्यही हँुदैन ।
हसिया, डोको र नाम्लोको साथ
त्यो तारेभिर अनि पातालको घाँस
गोठका भैंसी अनि खोरका बाख्राहरु
जीवनभर एक्लै बोकेर हिड्न नपरो
हो आमा तिमी यहि चाहन्छौ
तर तिमी जे चाहन्छौ, त्यही हँुदैन ।
वर्षातको कुहिरो र झमझम झरिमा
हरिया बिउका मुठ्ठा बोकेर हस्याङ फस्याङ गर्दै
खाली खुट्टा रातोदिन एक्लै हिड्न नपरोस
हो आमा तिमी यहि चाहन्छौ
तर तिमी जे चाहन्छौ, त्यही हुदैन ।
अनपढ बनेर, निरक्षर बनेर
जिवनभर कसैको दासी बनेर
मालिकहरुका हुकुम मान्ने जीन्दगी
मेरि छोरिले मैले जस्तै भोग्न नपरोस
हो आमा तिमी यहि चाहन्छौ
तर तिमी जे चाहन्छौ, त्यही हँुदैन ।
रोजगार नपाई बेरोजगार बनेर
कार्गिल र ब्रीटिसका युद्ध थामेर
खाडीको तातो राप खेप्ने जिन्दगी,
मेरा छोराले भोग्न नपरोस
हो आमा तिमी यहि चाहन्छाँै
तर तिमी जे चाहन्छौ, त्यही हँुदैन ।
परिवारको निम्ति दुईछाक टार्न
साहुसंग लिएको ऋण तिरेर
महाजनको हेपाइबाट मुक्ती पाउदै
झुत्रे साडी र चोलो फेर्न पाइयोस
हो आमा तिमी यहि चाहन्छौ
तर तिमी जे चाहन्छौ, त्यही हँुदैन ।
तिमिलाई कसैले बोक्सी बनाएर
चौबाटोमा तिम्ले मुत्र खानु परोस
तिम्री छोरीलाई बलत्कार गरेर
हत्या गरि झाडिमा फालियोस
तिम्रा कमाउने छोराहरु
काठको बाकसमा फर्कुन
अनि तिम्रो रित्तो काखले
देशका मालिकसंग न्यायको भिख मागोस हो
आमा तिमी यहि चाहन्नौँ
तर तिमि जे चाहन्नौ, यो देशमा त्यही हुन्छ ।