सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको उद्घाटन सम्पन्न

काठमाडौं, १७ असोज ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । मन्त्री भट्टराईले कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलहरुको उद्घाटन गरेका हुन् ।

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलहरुमा नियमित रुपमा जहाज सञ्चालन गरिने बताए ।

उनले भनेर्, यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमित रुपमा जहाज चलाउने छौँ । यसमा स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।’ मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिए ।


मन्त्री भट्टराईले विमानस्थलहरुको टर्मिनल भवन तथा एटीसी भवनहरु नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिए । उनले यात्रु अभावका कारण देखाएर लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलहरुको थप स्तरोन्नती गरिने प्रतिवद्धता जनाएका छन् ।

साथै ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने उनले बताए ।

कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमित रुपमा जहाज सञ्चालन हुनुुपर्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार