निन्द्रालाई थाँती राखेर पढ्दा सफलता मिल्यो

जीन्दगी अनुभव र अनुभूतिको गाथा हो । अनुभूति कल्पना हो भने अनुभव जीवनको यथार्त भोगाई । पेशा र व्यवसाय अनुसार सबैका आ–आफ्नै अनुभवहरु हुन्छन् । फरक यतिमात्रै हो कसैसँग धेरै अनुभव त कसैसँग थोरै । जोसँग धेरै अनुभव छ उसको जीवन त्यति नै संघर्षमय हुन्छ । तर संघर्ष र अनुभवीहरु जीवनदेखि खुशी हुनेहरु प्राय कमै हुन्छन् । त्यही मध्येका एक हुन् आनन्द सारु । जस्तो नाम उस्तै आनन्द छ जीवनको भोगाइ पनि । अर्काेको पसलमा घडी रेडियो बनाउनेदेखि देशको शक्ति केन्द्र सिंहदरबारसम्मको अनुभव छ उनमा । विक्रम सम्वत २०३३ साल कार्तिक २२ गते बुबा तुलबहादुर र आमा भिमकुमारी सारुमगरका जेठो सन्तानका रुपमा दैलेखको गराँस गाउँपालिका वडा नं. ३ सेरीमा उनको जन्म भएको हो । हाल कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सचिवको रुपमा कार्यरत उनै आनन्द सारुसँग गरिएको कुराकानीको शारांस :

नेपाल टप हुँदाको क्षण
भोगाइ नै जीवनको सबैभन्दा ठूलो पाठशाला रहेछ । विक्रसम्वत २०४१ सालदेखि तत्कालिन गाग्रेताल प्रावि (चन्द्रगंगा मावि, गाग्रेताल, सुर्खेत) बाट औपचारिक शिक्षा सुरुवात गरँे । त्यहीबाट कक्षा ५ सम्म अध्ययन पुरा भयो । उबेला विद्यालयका भौतिक संरचनाहरु निकै कमजोर थिए । हामी हप्तामा दुईपटक कक्षा कोठा लिप्ने काम गर्थाैँ । कहिले गोबर खोजेर ल्याउने पालो पथ्र्याे भने कहिले लिप्ने । तर ति दिनहरु साँचिक्कै रमाइला थिए । कक्षा ६ देखि एसएलसीसम्म अमरज्योति माविमा पुरा गरेँ । कक्षा ७ मा गएपछि सिमेन्टले पलस्टर गरेको कक्षामा बस्न पाउँदा साथीहरु खुब खुशी भएका थियौँ । २०५१ सालमा एसएलसी पुरा भयो ।

यसपछि खास जीवन सुरु भयो जस्तो लाग्छ । परिवारमा ठूलो आर्थिक संकट त थिएन । तर आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मान्यताका कारण उच्च शिक्षा अध्ययनका लागि अर्काको इलेक्ट्रोनिक्स पसलमा काम गर्दै पढ्दै गरेँ । अर्काको पसलमा कतिदिन काम गर्नु भन्ने लाग्यो । केही समयपछि आफ्नै इलेक्ट्रोनिक्स पसल खोलँे । त्यही समय घडी रेडियो बनाउनेदेखि विद्युत वाइरिङको काम गरेँ । कहिले पढाइ छोडेर दिनभरी अर्काको घरमा विद्युत जोड्न जान्थेँ ।

यसरी नै तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक र स्नातकोत्तर पनि पुरा गरेँ । स्नातक अध्ययन गर्दै गर्दा २०५३–५५ सम्म राप्ति प्राविधिक शिक्षालय दाङबाट कृषि अध्ययन गरेँ । सुर्खेतको इलेक्ट्रोनिक्स र इलेक्टिक्स पेशा छोडेर । तर दाङमा गएर पनि व्यापार गर्न छोडिन । सँगै अध्ययन गर्ने कपिलवस्तुको रामचन्द्र धिमिरेसँग मिलेर एग्रोभेट पसल सञ्चालनमा गरौँ । दिनभरी क्याम्पस जाने र साँझ विहान पसल चलाउँदै कृषि अध्ययन पुरा भयो । प्राक्टिकल बाहेक कहिलेकाँही पढाइ नै छोडेर गाउँतिर पशुपन्छिको औषधि गर्न जानुपथ्र्याे । दिनभरी क्याम्पसको पढाई, साँझ विहान व्यापार र रातमा निद्रालाई थाँती राखेर गरेका संघर्षले ठूलो खुशी दिलायो । त्यहीबेला म नेपाल टप भएँ । ति संघर्ष र त्योक्षण जीवनको महत्वपूर्ण भोगाइ थियो ।

सरुवा भइरहने हुँदा जागिर नै छोडिदिएँ !
कृषिको अध्ययन सकिएपछि केही समय गैरसरकारी संस्था (एनजीओ मा काम गरेँ । सिप्रेट र युनाइटेड मिसन टु नेपाल भन्ने संस्थामा काम गर्नेक्रममा रामेछामबाट अछाममा बसेर काम गरेँ । २०५६ सम्मको समय एनजीओमै विताएँ । अछामको तत्कालिन गाग्रा गाविसमा बस्दाको क्षण निकै संघर्षशिल बन्यो । गाउँमा विद्युत थिएन । त्यही बेला स्थायी जागिर खानुपर्छ भन्ने लाग्यो । लालटिनको सहाराले राती अबेरसम्म अध्ययन गर्ने बानी बसालेँ । त्यही संघर्षले लोकसेवा आयोगमा सफल भयो । २०५६ सालदेखि २०६४ सम्म निजामति सेवाको जागिर खाए । प्राविधिक खरिदार भएर दैलेख बस्दाका क्षणहरु अविस्मरणीय छन् । माओवादी द्वन्द उत्कर्षमा थियो । एकदिन कामकै सिलसिलमा दैलेखको नौमुले क्षेत्र पुगेको थिएँ । त्यहाँ एउटा क्षेत्रमा तत्कालिन शाही नेपाली सेना र अर्काे क्षेत्रमा जनमुक्ती सेना रहेछ । मैले उनीहरुलाई नदेखेर त्यहाँ पुगँे ।

नेपाली सेनाले केराकार गरयो । पल्लोपट्टी पुग्दा माओवादीको सेनाले उसैगरी सोधपुछ ग¥यो । त्यसपछि भिडन्त हुन्छ लाग्यो । अब बाँचिदैन भन्ने लाग्यो र त्यहाँ दौडेर भागेँ । तर भाग्दै जाँदा एउटा अप्ठेरो भिरमा पुगेँ । जहाँ एउटा मात्रै बाटो थियो । त्यही बाटोमा ठूलो सर्प सुतेको रहेछ । अब जीन्दगी यति नै हो भन्ने लाग्यो । झन् होस नै उडेजस्तो भयो । कहाँ जाऔंँ र के गरौँ भन्ने भयो । मरे यही मरुला भन्ने लाग्यो । भिडन्त हुने ठाउँतिर नगएर २ घण्टा त्यही कुरेर बसे । २ घण्टापछि सर्पले बाटो छोड्यो । अनि भागेर गाउँतिर पसे । त्योदिन ठूलो कालबाट बाँचियो । २०६० पछि सुर्खेतमा सरुवा भयो । २०६४ पछि भने यो ठाउँठाउँ सरुवा भइरहने जागिर खान मन लागेन । बरु आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र स्थायी जागिरबाट उपदान लिएर विदा भएँ । उपदानपछि केहीसमय विमा कम्पनीका काम गरेँ । त्यहाँ त्यो पनि दिगो रहन सकेन । २०६५ मै तत्कालिन जिल्ला विकास समिति सुर्खेतमा अफिसरको पदमा जागिरमै जोडिएँ ।

६ पटक असफल
अहिलेको निजामति जागिर खास २०६६ सालबाट सुरु हुन्छ । पहिले उपदानमा निस्के पनि २०६६ पछि समयले पुनः निजामति सेवामा डोरयायो । २०६६ सालमा लोकसेवा आयोगको शाखा अधिकृत पदमा उत्तीर्ण भएँ । तत्कालिन डिभिजन सहकारी कार्यालय सुर्खेतमा साढे तीन बर्ष विताएँ । पछि केन्द्रिय सहकारी प्रशिक्षण कार्यालय काठमाडौं सरुवा भएँ । २०७२ सालमा उपसचिव भएर गरिवी निवारण मन्त्रालयमा काम गर्ने अवसर मिल्यो । करिव २०७४ सालमा सहसचिव भएर तुलसीपुर उपमहानगरपालिका दाङमा विताएँ । करिव २० महिनापछि पुनः सुर्खेतमा फर्किएँ । करिव दुइमहिना प्रदेश प्रमुखको कार्यालयपछि बैशाखबाट कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवको रुपमा कार्यरत छु । तर यहाँसम्म आइपुग्दा ६ पटक असफलताहरु भोगेको छु । उपसचिव र सहसचिव चरणमा मात्रै सफलता हात परेको हो । सधै लिखितमा सफल तर मौखिममा फललता हात पर्थेन । यही संघर्ष र निरन्तरताका कारण समयले यो स्थानमा ल्याएको छ । म सानैदेखि गीत संगितमा रुचि राख्थेँ । रेडियो नेपालको स्वर परीक्षामा पनि सफलता हात पर्न सकेन । तर जीवन सधै खुशीले विताउनुपर्छ भन्ने मान्यता राख्छु ।

लाहुरेमा भर्ती हुन जाँदा…
आदिवासी जनजाति समुदायका अधिकांश दाजुभाइहरु लाहुरे छन् । म पनि त्यही परिवेशमा हुर्केको हुँ । बुवा नेपाली सुरक्षाकर्मी हुनुहुन्थ्यो । मेरा अधिकांश आफन्तीहरु ब्रिटिस र इन्डियन लाहुरे छन् । युवा उमेरमा मलाई पनि मेरो आफन्तहरुले इन्डियन वा सिङ्गापुरे आर्मी बनाउन कोशिस नगरेका होइनन् । आफन्तीहरुको दवावपछि म एकपटक इन्डियन आर्मीको छनौटमा गएँ । दौडमा राम्रो थियो । शरिरमा कुनै कमी कमजोरी थिएन । तर त्यहाँ भारतीय छनौटकर्ताले नेपालीलाई अपहेलित व्यवहार गर्दा रहेछन् । सुरुवातमै अपमान पटक्कै मन परेन । अन्ततः जीवनभर अपमान सहेर अर्काको देशमा जागिर नखाने निधो गरेँ । यही निर्णयले म यो क्षेत्रमा आएँ । आफन्तीहरुमा कुनैबेला नेपालको सरकारी जागिर खाने म एक्लो व्यक्ति थिएँ ।

कृषि र पर्यटन कर्णाली समृद्धिका आधार
कर्णाली गरिब र भोकमरीको क्षेत्र भनेर चिनिन्छ । हाम्रो जीवनपद्दती पनि त्यतैतिर दौडिएको छ । कर्णालीमा धेरै सम्भावनाहरु छन् । सम्भावनाहरु हँुदैमा कर्णालीको क्षमताले नभ्याउन सक्छ । यदी नेतृत्व तहले चाहने हो भने कृषि र पर्यटनबाटै कर्णालीवासीको जीवन बदल्न सकिन्छ । यहाँको भौगोलिकता र बनावटको आधारमा सबै प्रकारका कृषि खेति सम्भव छ । त्यसका लागि नेतृत्वले टुक्रे र कार्यकर्ता पाल्ने योजनाहरुमा बजेट हाल्ने प्रवृति त्याग्ने आँट राख्नुपर्छ । नागरिकमा पनि गाउँघरमै केही गर्छु भन्ने चेतना जरुरी छ । जबसम्म कर्मचारीबाट नेतृत्वले काम लिन सक्दैन र नागरिकमा स्वदेशमै आत्मनिर्भर हुन्छु भन्ने चेतना पलाउँदैन, तबसम्म समृद्ध कर्णाली सपनामै सिमित हुन्छ । (२०७७ जेष्ठ २५ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकको साताको राष्ट्रसेवक स्तम्भमा प्रकाशित)

निन्द्रालाई थाँती राखेर पढ्दा सफलता मिल्यो

कर्णालीमा संक्रमितको संख्या ६७१ पुग्यो

निन्द्रालाई थाँती राखेर पढ्दा सफलता मिल्यो

राज्यकाे नजरमा नपरेका स‍.का. र स्वा. का‍.

Leave a comment

Your email address will not be published. Required fields are marked *