मोवाइल सेवा प्रभावकारी बनाउन ध्यानाकर्षण

सुर्खेत, ३० भदौ ।
पश्चिम सुर्खेतका एक नगरपालिका र दुई गाउँपालिकामा नेपाल टेलिकमको मोबाईल नेटवर्क प्रभावकारी नभएको भन्दै नेकपा चौकुनेले ध्यानाकर्षण गराएको छ । वर्षातको समयमा वर्षेनी पश्चिम क्षेत्रका नागरिकहरुले नेटवर्क समस्याले हैरानी खेप्नु परेको भन्दै नेकपाले तत्काल सेवा सहज बनाउन नेपाल टेलिकमलाई ध्यानाकर्षण गराएको हो ।

पश्चिमका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकामा मोवाईल नेटवर्क नलाग्ने समस्या रहेकाले सञ्चारलाई नियमित बनाउन नेकपा चौकुने गाउँ कमिटीले टेलिकम सुर्खेतलाई गम्भीर बन्न ध्यानाकर्षण गरेको छ । कमिटीका अध्यक्ष गंगाराम विक र सचिव हरि अधिकारीले एक विज्ञप्ती जारी गर्दै तत्काल पश्चिमका नागरिकहरुलाई भरपर्दो सञ्चार सुविधा प्रदान गर्न ध्यानाकर्षण भएको जनाएको हो ।

स्थानीय नागरिकहरु विरामी भएको बेला तत्काल सम्पर्क गर्न खोज्दा नेटवर्क नहुने समस्याले थप मर्कामा परेकाले टेलिकमलाई ध्यानाकर्षण गराएको सचिव अधिकारीले जानकारी दिए । विशेषगरी चौकुने गाउँपालिकाका १० वडा दुर्गम रहेकाले यातायात, विद्युत र स्वास्थ्य सेवा कमजोर रहेको ठाउँमा नेटवर्क नहुँदा झन समस्या भएको अधिकारीले बताए ।

सार्वजनिक सेवाको गुणस्तर कमजोरहुँदा सरकारी, गैरसरकारीसहित दीर्घरोगी, विरामी, सुत्केरी, जेष्ठ नागरिक, बालबालिकालाई आवश्यक पर्ने अत्यावश्यक सेवा प्राप्त गर्न जटिल र बाधा भएको सचिव अधिकारीले बताए । अधिकारीले टेलिकमलाई अविलम्ब टावरहरुको सुधार गर्दै मोबाईल लगायतका सञ्चार सुविधा चुस्तदुरुस्त बनाउन माग गरेका छन् ।

तपाईको प्रतिक्रिया