रामघाट-दशरथपुर जोड्ने पुल निर्माणमा पहल गर्दैछु

सीताकुमारी नेपाली
प्रदेश सभा सांसद कर्णाली

कर्णाली प्रदेशसभाका सांसद सीताकुमारी नेपालीले निर्वाचनताका धेरै आश्वासन दिएकी थिइन् । विकास निर्माण बारे पनि उनका थुप्रै प्रतिबद्धताहरु थिए । तर अब आफ्नो बाँकी कार्यकालभित्र उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मदनभण्डारी राजमार्गको स्तरोन्नतीसँगै रामघाट र दशरथपुरलाई जोड्न भेरी नदीमा मोटरेबल पुल बनाउन पहल गर्ने बताएकी छन् । साथै सांसद नेपालीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने योजना पनि अगाडि सारेकी छन् । प्रस्तुत छः उनीसँग गरिएको कुराकानीको शारासं :-

कोरोना नियन्त्रणमा प्रदेश सरकारको भुमिका कस्तो लागेको छ ?
अहिले पनि चाडपर्व र विभिन्न खुसीयालीका नाममा भिडभाड हुन छोडेको छैन । यस्ता क्रियाकलापले गर्दा कोरोना समुदायस्तरमै फैलिसकेको छ । तीज पर्वलाई मध्यनजर गरी भिडभाड हुन नदिन निषेधाज्ञा जारी त गरियो । तर कोरोना परीक्षणको दायरा बढ्न सकेको छैन । यदी परीक्षणको दायरा बढ्यो भने अँझै पनि कोरोना संक्रमितको संख्या बढ्नसक्ने देख्छु । प्रदेश सरकार जसरी कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो, त्यसरी ठोस कार्यक्रम गर्न नसकेको जस्तो महशुस भएको छ । प्रदेश सरकारबाट पर्याप्त बजेट पनि व्यवस्था गरिएको छ । तर कार्यान्वयनका लागि मापदण्ड नै बनाइएको छैन । अब बजेट कार्यान्वयन गर्दै कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।

कोरोनाका कारण रोजगारी गुमाएकालाई कसरी आत्मनिर्भर बनाउन सकिएला ?
कोरोना महामारीका कारण सबै वर्ग र समुदाय मारमा परेका छन् । ठुला व्यापार व्यवसाय सञ्चालन हुन सकेका छैनन् । धेरैको रोजगारी खोसिएको छ । विशेषगरी कामगरी खाने सर्वसाधारणलाई झन् पीडा छ । एकातिर धेरैका रोजगारी खोसिए पनि अर्कोतिर नागरिकलाई कसरी कृषिबाट आत्मनिर्भर बन्ने भन्ने सिकाएको छ । स्वदेश तथा विदेशबाट धेरै युवा घर फर्किएपछि खाली बस्नु परर्यो । योबेला घरको कामसँगै परिवारलाई पनि समय दिए ।

तर घरमा खाली किन बस्नु भन्दै धेरै युवा कृषि उत्पादनमा लागेका छन् । यसले हामी आफैले उत्पादन गरेर कृषिमा आफै आत्मनिर्भर हुनसक्दा रहेछौं भन्ने धारणा सृर्जना भएको छ । विदेशबाट फर्किएका धेरैजसो युवाहरुको खेतीका लागि जग्गा पनि छैन । यस्ता युवाहरुलाई सरकारले लिजमा जग्गा उपलब्ध गराएर कृषि उत्पादनमा लगाउने होभने गाउँमै रोजगारी पनि सृर्जना हुने र सजिलै आत्मनिर्भर बन्ने गतिलो विकल्प हुनसक्छ ।

तपाइँको निर्वाचन क्षेत्रको विकासका लागि भएका प्रयास वा काम के के हुन् ?
यसपटक कोरोनाका कारण हाम्रो निर्वाचन क्षेत्रको बजेट पनि स्वास्थ्य क्षेत्रमै केन्द्रित छ । कसरी रोग नियन्त्रण गर्ने भन्ने कुरा पहिलो प्राथमिकतामा छ । तर एकातिर रोग, अर्कोतिर भोक र बेरोजगारी समस्या छ । यी तीनवटै कुरालाई मिलाएर अघि बढ्नुपर्ने छ । नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले त्यहाँका स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य पूर्वाधार विकासमा जोड दिएका छाै । भौतिक संरचनासँगै आईसीयू, भेन्टिलेटरसहित अन्य उपकरण र पर्याप्त औषधि व्यवस्थापन भइरहेको छ ।

यस्तै भोकमारीलाई मध्यनजर गर्दै पहिलो चरणमा स्थानीय तथा प्रदेश सरकारले राहत वितरण गरे । तर फेरी पनि ठुलो भोकमारी आएर जनतालाई खानै नपाउने अवस्था आउनसक्छ । फेरी राहत वितरण गर्नुपर्ने अवस्था हुनसक्छ, भन्ने ध्ययेले भोकमारी नियन्त्रणका लागि खाद्यन्न व्यवस्थापनमा बजेट छुट्याएका छांै । र बाहिरबाट रोजगारी गुमाएर आएका बेरोजगार युवा युवती लक्षित गरी स्वरोजगारका कार्यक्रम पनि बनाईएका छन् । विगतका वर्षहरुमा मेरो निर्वाचन क्षेत्रमा लक्षित समुदायलाई केन्द्रित गरेर केही आयआर्जनका काम पनि गरर्यौ । कृषि र पशुपालनबाट लक्षित समुदायलाई आत्मनिर्भर बनाउने मुख्य उदेश्य थियो । सोहीअनुसार कतिपयले बयर जातीको बाख्रापालन गरेका छन् । भने कतिपयले भैंसी, बंगुरपालन तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् । यसले पनि नागरिकहरुमा राज्यले हामीमाथि लगानी गरेको छ र यसलाई विस्तार गरी आत्मनिर्भर बन्नुपर्छ भन्ने भावना विकास भएको छ ।

दलित तथा महिलाको क्षेत्रमा कस्ता काम भएका छन् ?
महिला शसक्तिकरणका विषयलाई कानुनमा समावेश गर्न मस्यौदा बनाएर पेश गरेको अवस्था छ । विकास निर्माणमा ठुलो प्रभाव छोड्न सक्ने काम त भएको छैन । तर महिलाहरुको सन्दर्भमा छोरीबुहारी शैक्षिक छात्रवृति, बैंक खाता जस्ता कार्यक्रम आएका छन् । कृषिमा पकेट क्षेत्रका कार्यक्रम छन् । यस्ता कार्यक्रमले पनि जनतालाई प्रभाव पारेकै छ । भौतिक पूर्वाधारमा नाला सहितको बाटो खन्ने काम भइरहेको छ । सिचाइँ, खानेपानी लगाएतमा काम भएका छन् । कसरी महिलाई सक्षम बनाउने भन्ने बिषयमा कानुनी साक्षरता जस्ता कार्यक्रम सञ्चालन भएका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम आफुखुसी खर्च गर्नुहुन्छ भन्ने आरोप छ नी ?
सबै मागका आधारमा काम गर्न सकिदैन । तर आवश्यकताका आधारमा काम गर्नुपर्ने हुन्छ । सोही अनुसार हामीले निर्वाचन क्षेत्र विकास पूर्वाधारको बजेट विद्यालयमा केन्द्रित गरेका थियौं । त्यो बजेट कार्यान्वयन भयो । तर कोरोनाका कारण सडकमा विनियोजित अधिकांश बजेट कार्यान्वयन भएन । अब यसमा आफुखुसी योजना दिनेभन्दा पनि हामीले कार्यविधि अनुसार काम गर्ने गरेका छौं । कतिपय व्यक्रिले आफ्नो चित्त नबुझेपछि विरोधका लागि विरोध गर्दै सांसदले आफुखुसी योजना बाँडे भन्ने हल्ला गर्ने गर्दछन् । हामी सांसदले मात्रै योजना बाँड्दैनौ । प्राविधिक सहित स्थानीय तहका जनप्रतिनिधिको सहभागीतामा योजना छनोट लागि परामर्श समिति नै बनेको छ । समितिले सिफारीस गरेका योजना नै सर्वसम्मत पारित हुन्छन् ।

अन्त्यमा, तपाइँको बाँकी कार्यकालमा गर्नैपर्ने मुख्य योजनाहरु केही छन् ?
गर्नुपर्ने काम धेरै छन् । पछिल्लो चरणमा सबैले सडक नै भन्छन् । त्यसले गर्दा हाम्रो निर्वाचन क्षेत्रमा पनि प्रदेशको बजेटबाट नहुने र संघको बजेटबाट काम गर्नुपर्ने मदनभण्डारी राजमार्गको स्तरोन्नती गर्नुपर्ने देखिन्छ । म त्यसैमा लागि परेकी छु । यो सडक चाँडै बनाउनमा मेरो विशेष जोड छ । र अर्को कुरा रामघाट र दशरथपुर जोड्ने पुल टेण्डर भएर समय अवधि सकिसकेको छ । काम सुरु नै भएन । अब पहिलेको टेण्डर भत्काएर फेरी टेण्डर गरी मोटरेबल पुल बनाउने योजना छ । यो अति आवश्यक पनि छ । बाँकी समयको माग र आवश्यकता अनुसार गर्नुपर्ने काम धेरै छन् । तर मेरो बाँकी कार्यकालभित्रै मदनभण्डारी राजमार्गको स्तरोन्नती गर्ने र रामघाट, दशरथपुर जोड्ने मोटरेबल पुल बनाउँछु भन्ने लक्ष्य छ । यहाँ पुल नहुदाँ नागरिकले भोग्नु परेको सास्ती अन्त्य हुनेछ । (२०७७ भदौं १० गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

तपाईको प्रतिक्रिया