भारतमा नेपालीमाथि दुर्व्यवहार, प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्न लगाइयो

काठमाडौं, २ साउन ।

भारतमा एक नेपाली युवकमाथि दुर्व्यवहार भएको छ । विश्व हिन्दू सेनाका कार्यकर्ताले वाराणासीको गङ्गा किनारमा ती युवकको शिर मुण्डन गर्दै जय श्रीराम लेखिदिएका हुन् ।

उनीहरुले जय श्री रामको नारा लगाउँदै नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियोमा देख्न सकिन्छ । यो घटनापछि प्रहरीले कार्यकर्ताविरुद्ध मुद्दा दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनालाई लिएर सहरका प्रबुद्ध व्यक्तिले निन्दा गरेका छन् ।

भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले यो घटनाको सम्बन्धमा उत्तर प्रदेशका मुख्यमन्त्री कार्यालयसँग कुरा भएको ट्विटरमा जानकारी दिएका छन् ।

यो घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सङ्गठनका कार्यकर्ताले नेपालका प्रधानमन्त्रीले आफ्नो बयानको सम्बन्धमा माफी नमाग्दासम्म यस्तो घटना दोहोर्‍याइ रहने बताएका छन् । सहरको मन्दिर, घाट र इलाकाभरि जहाँ–जहाँ नेपाली बस्दै आएका छन्, त्यहाँ–त्यहाँ चेतावनी दिने पोस्टर टाँसेका छन् ।

सङ्गठनका राष्ट्रिय अध्यक्ष अरुण पाठकले नेपालका प्रधानमन्त्रीको बयान अपरिपक्व र निन्दनीय भएको जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार भानु जयन्तीको अवसरमा बोल्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताउनुभएको थियो । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाइ थियो ।

(उज्यालो अनलाइनबाट साभार)

तपाईको प्रतिक्रिया