रुकुमपश्चिम, १५ असार ।
६ जनाको ज्यान जाने गरी पश्चिम रुकुमको चौरजहारी–८, सोतीमा भएको घटना अझै सेलाएको छैन । पीडित परिवार र जाजरकोटका स्थानीयले न्यायको माग गर्दै आइतबार सदरमुकाम खलंगामा प्रर्दशन गरेका छन् ।
हत्यारालाई कारवाही गर, हामीलाई न्याय देउ, हाम्रो आन्दोलन जारी छ लगायतका नारासहित बजार परिक्रम गरेर घटनाको विरोध गरेका हुन् । सोती घटना संघर्ष समितिले शान्तिपूर्ण दवाव कायम राख्न प्रर्दशन गरिएको जनाएको छ । संघर्ष समितिका संयोजक नगेन्द्र शाहले पीडितको न्यायका लागि दवावमुलक रुपमा प्रर्दशन गरिएको बताए । ‘घटनालाई तोडमोड नहोस् र न्याय नमरोस् भनेर हामी निरन्तर खवरदारीमा छौं’, उनले भने, ‘जातीय विभेदकै कारण भएको सामुहिक हत्या काण्डमा संलग्नलाई जन्मकैदको सजाय हुनुपर्छ । तब मात्र मृतकको आत्मले शान्ति पाउनेछ ।’
अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहित ६ जनाको ज्यान गएको थियो । त्यसमध्ये एक जना टीकाराम सुनार चौरजहारी र अरु पाँच जना जाजरकोटका थिए ।
मल्ल थरकी एक किशोरी भगाउन गएका केटाहरु माथि सोतीका गाँउलले आक्रमण गर्दा उनीहरुको ज्यान गएको थियो । रुकुम जिल्ला अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ल, किशोरीका बुवा र किशोरीसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
किशोरीकी आमालाई एक लाख धरौटीमा छोड्न आदेश दिए पनि धरौटी नबुझाएपछि उनलाई पनि कारागार चलान गरिएको छ । पाँच जना फरार छन् ।
युग संवाददाता । । १५ असार २०७७, सोमबार ११:२२