अधुरै बहुचर्चीत खानेपानी आयोजना चर्चा बढि, काम कम

सुर्खेत । कर्णाली प्रदेशका दुई बहुचर्चीत खानेपानी आयोजना अँझै निर्माण हुन सकेका छैनन् । हिमाली क्षेत्रको सबैभन्दा ठूलो जुम्लाको धौलिगाड खानेपानी आयोजना र सुर्खेतको भेरी लिफ्टिङ खानेपानी परियोजना अँझै निर्माण हुन नसकेका हुन् । धौलिगाड खानेपानी आयोजनाको काम सुरु भएको १४ वर्ष बित्यो । भने भेरी लिफ्टिङ खानेपानी परियोजना सुरु भएको ६ वर्ष बित्यो । तर निकै चर्चामा रहेका यी दुई खानेपानी आयोजना सम्पन्न हुन अँझै कति समय लाग्ने हो ? पत्तो छैन ।


निर्वाचनमा मतदाता रिझाउन नेताहरुको चुनावी नारा समेत बन्ने गरेका यी दुई आयोजना निर्माणको काम भने कछुवाको गतिमा छ । पछिल्लो समय काकाकुल बनेको सुर्खेत उपत्यका र जुम्ला उपत्यकामा खानेपानी पुर्र्याउन यी दुई आयोजना बाहेक विकल्प पनि छैन । तर आयोजना निर्माणको सुस्त गतिले नागरिकहरु आजित बनेका छन् ।
बहुचर्चीत धौलिगाड र भेरी लिफ्टिङ खानेपानी आयोजनामा प्रयाप्त बजेट हुदाँहुदै कार्यान्वयन गर्न नसक्नु सम्बन्धित पक्षको कमजोरी हो । अबको दुई वर्षभित्र धौलिगाड खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य छ । भने भेरी लिफ्टिङ खानेपानी परियोजना पनि कार्यान्वयन प्रक्रियामा आएकोले आगामी तीन वर्षभित्र वीरेन्द्रनगरमा पानी पुर्र्याउने लक्ष्य छ ।

कागजी प्रक्रियामै ढिलाइ

सन् २०१८ बाट सुरु भएको भेरी लिफ्टिङ खानेपानी परियोजना निर्माणको काम सुरु गर्न कागजी प्रक्रियामै ढिलाइ भएको छ । वीरेन्द्रनगर नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो परियोजनाको विस्तृत प्रतिवेदन तयारीमा ढिलाइ, पुनः डिजाइन, आवश्यक कार्यविधि निर्माण लगाएतका प्रक्रियामै ढिलाइ भएको हो । समयमै कानुनी प्रक्रिया पूरा गर्न नसक्दा काम अघि बढ्न नसकेको यो परियोजना अब कार्यान्वयन हुने आशा पलाएको छ । खानेपानी परियोजना निर्माणका लागि पहिलो चरणको काम सुरु गर्न ठेक्का सम्झौता प्रक्रिया अघि बढेको छ ।

पहिलो चरणको कामका लागि स्वदेशी तथा विदेश गरी १२ कम्पनीले ठेक्का प्रस्ताव पेश गरेका थिए । यही बैशाख ६ गतेपछि ठेक्का सम्झौता गरी काम सुरु गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । पहिलो चरणको कामपछि तीन वर्षभित्र लिफ्टिङमार्फत् भेरी नदीको पानी वीरेन्द्रनगर पु¥याएर वितरण सुरु गर्ने तयारी छ । खानोपानी परियोजना निर्माण कम्पनीले सन् २०२८ मा काम सकेर वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नेछ । नगरपालिकामा आगामी ३० वर्षसम्म वृद्धि हुन सक्ने सम्भावित जनसंख्यालाई लक्षित गरी दीर्घकालीन खानेपानीको सहज आपूर्ति गर्ने उद्देश्यसहित परियोजनाको काम अघि बढाइएको हो ।

हाल वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दैनिक तीन सय २० लिटर प्रतिसेकेण्ड पानीको माग छ । तर सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रतिसेकेण्ड एक सय ५३ लिटर खानेपानी वितरण गर्दै आएको छ । हाल २० हजार घरधुरीलाई खानेपानी वितरण गर्दै आएको भए पनि १८ हजार बढी घरधुरी खानेपानीको पहुँचमा बाहिर छन् । यसअघि परियोजनाको मुख्य लगानीकर्ता विश्व बैंकको टोली समेत आयोजनास्थलमा पुगेर अवलोकन गरी फर्किसकेको छ । यो परियोजनालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ ।

यता वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले परियोजना निर्माणका क्रममा रहेका चुनौतीलाई अवसरका रूपमा लिँदै नगरवासीलाई आगामी तीन वर्षमा भेरीको पानी खुवाएरै छाड्ने दावी गरेकी छन् । उनका अनुसार हाल परियोेजना कार्यान्वयन गर्ने क्रममा आउन सक्ने कानुनी अड्चन, प्राविधिक तयारी तथा परियोजनालाई आवश्यक पर्ने दक्ष जनशक्तिसहितको कार्यालय स्थापना लगायतका प्रक्रिया पूरा भएको छ ।

परियोजना कार्यान्वयनका लागि संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगरमा ल्याइनेछ । जसअनुसार संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनुपर्ने हुन्छ ।

सोहीअनुसार कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फण्ड’ अन्तर्गत प्रदेशले चालु आर्थिक वर्ष पाँच करोड रुपैयाँ विनियोजन गरेको छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । आयोजनाको पहिलो चरणका काममा पानीको बहाव डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिरा दुईवटा इन्टेक निर्माण गरिनेछ । त्यसपछि इन्टेकदेखि करिब चार सय मिटर दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, पाइपलाइन विस्तारसँगै अमृतडाँडामा रिजर्भ ट्यांकी निर्माण हुनेछन् । जसमा पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारण लाइन वितार हुनेछ ।

दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डिएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब तीन–तीन अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । त्यसपछि सम्पूर्ण प्राविधिक काम सम्पन्न गर्दै निर्माण कम्पनीले परियोजना वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

१४ वर्षपछि निर्माणले गति लियो

जुम्लामा निर्माणाधीन राष्ट्रिय महत्वको बृहत् धौलिगाड खानेपानी आयोजनाको दुई चरणको काम एकैसाथ सुरु भएको छ । २०६६ सालदेखि यो आयोजनाको निर्माण सुरु भएको थियो । तर बीचमा बजेट अभावसंँगै नागरिकको निष्क्रियताले आयोजना अलपत्र प¥यो । पछिल्लो समय आयोजनाले गति लिँदा लाभान्वित जुम्लाका समुदाय उत्साहित भएका हुन् ।

धौलिगाड पानीको मुहान चार हजार मिटर उचाइमा छ । दुवै चरणको काम द्रुत गतिमा निर्माण भइरहेको संघीय खानेपानी तथा ढल निकास आयोजनाको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा मुहानदेखि ट्यांकीसम्म लाइन विस्तार, मुहानसम्म सडक निर्माण, मुहान संरक्षण, निर्माण सामाग्री ढुवानी, आरसीसी पानी भण्डारण गर्ने विभिन्न ट्यांकीहरु निर्माण लगाएतका काम जारी छन् ।

भने दोस्रो प्याकेजमा पाइपलाइनदेखि धाराको काम पनि धमाधम भइरहेका छन् । कुल एक अर्ब २६ करोड आठ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाको पछिल्लो भौतिक प्रगति सन्तोषजनक रहेको आयोजना प्रमुख दिपेन्द्र भट्टले बताए । उनका अनुसार पहिलो चरणको भौतिक प्रगति ९.७५ प्रतिशत भएको छ भने दोस्रो चरणको कामको लक्ष्य ४ प्रतिशत रहेकोमा १७ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोस्रो चरणमा पाइपलाइनदेखि धाराको काम ३७ करोड ७० लाख ५ हजार बढी लागतमा भइरहेको छ । यो आयोजना निर्माण भएमा जुम्लाको तातोपानी गाउँपालिकाका ६ वटा वडा, चन्दननाथ नगरपालिकाका १० वटा वडा र गुठिचौर गाउँपालिकाका ३ वटा वडा गरी १९ वडाका ४४ हजार एक ६३ नागरिक लाभान्वित हुनेछन् । आयोजना अन्तर्गत आठ हजार ६ सय ९५ वटा धारा निर्माण हुनेछन् ।

जसमा तातोपानीका १ देखि ६ नम्बर वडाका दुई हजार ७ सय बढी घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् । मुख्य पाइप लाइनको लम्बाइ ६९ किलोमिटर रहनेछ भने वितरण शाखा पाइप लाइनको लम्बाइ दुई सय किलोमिटर रहनेछ । पानी महसुल प्रतिघरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्नेछ । जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने गरी स्टमेट गरिएको छ । ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत र तीन लाख ८४ हजार ५६९ लिटर प्रतिदिन संस्थागत खपत हुनेछ ।

आरसीसी पानी भण्डारण गर्ने ट्यांकी १३ वटा, पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेसन प्रणाली १३ वटा र प्रेसर घटाउने ट्यांकी १७ वटा बन्ने छन् । यस्तै भल्व राख्ने संरचना पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने गरेर ६२ वटा ट्यांकी बन्ने छन् । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ ।

हेर्नुहाेस इपेपर ।

तपाईको प्रतिक्रिया