कर्णालीका थप तीन ठाउँबाट कोरोना परीक्षण गर्ने तयारी

कर्णालीमा ३३ दिनमा १२ सय ३३ जना संक्रमित
सुर्खेत, ६ असार ।
कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको शनिबार ३३ दिन पुगेको छ । आजसम्म आइपुग्दा प्रदेशभर १२ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म रुकुमपश्चिम बाहेक अन्य जिल्लामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार दैलेख कोरोनाको उच्च जोखिममा छन् । त्यहाँ हालसम्म सातसय २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । दैलेखका ११ वटै स्थानीय तहहमा संक्रमण फैलिसकेको छ ।

जसमध्ये नारायण नगरपालिकामा एकसय ९९, दुल्लुमा ७४, चामुण्डामा ३, आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरवीमा १२, महाबुमा एकसय ८४, नौमूलेमा एकसय ४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ७ जना छन् । जेठ ५ गते पहिलो पटक दैलेखको आठवीस नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपी प्रदेशका पहिलो संक्रमित युवाले भने हाल कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रदेश अस्पताल सुर्खेतमा करिव २४ दिनको उपचारपछि उनी संक्रमण मुक्त भएका हुन् ।

प्रदेशमा संक्रमितहरु बढ्दै जाँदा कोरोना परीक्षणको दायरा बढाइने तयारी गरिएको छ । कर्णालीका थप तीन ठाउँमा पीसीआर मेसिन सञ्चालनको तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक रीता भण्डारीका अनुसार दैलेखको दुल्लु नगरपालिका र नारायण नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल र रुकुमको चौरजहारी नगरपालिकाको समन्वयमा रुकुम चौरजहारी अस्पतालबाट पीसीआर परीक्षण थाल्ने तयारी गरिएको छ ।

दैलेखमा मेसिन आयो, ल्याव तयारी हुँदै
कोरोना संक्रमणको मुख्य केन्द्र बनेको दैलेखमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ । दैलेखको नारायण नगरपालिकाले ३५ लाख रुपैयाँमा मेसिन खरिद गरेको हो । नगरपालिकाले खरिद गरेको मेसिन शुक्रबार नै जिल्लामा पुगेको छ । मेसिन आएपनि सञ्चालनको आउन भने अझै केही समय लाग्ने देखिएको छ । ‘मेसिन आइपुगेको छ तर ल्याव सेटअप भएपछि मात्रै सञ्चालनमा आउँछ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर निराजन पन्तले भने, ‘बायोसेप्टिलेभल टुको प्रयोगशाला नहुँदा समस्या भएको छ ।’ अस्पतालमा बायोसेफ्टिलेभल टुको प्रयोगशाला नहुँदा पीसीआर परीक्षणमा ढिलाइ हुने उनको भनाइ छ । ‘पीसीआर मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला अस्पतालसँग छैन ।’ डाक्टर पन्तले भने, ‘पशु अस्पतालको प्रयोगशालामा मेसिन जडान गर्नेगरी प्रयोगशाला सेटअपमा लागेका छौँ ।’ ल्याप जडानका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले दैलेखमा बायोइन्जिनियर खटाइ सकेको छ ।

जनशक्ति पनि काठमाडौंबाटै
दैलेखमा पीसीआर मेसिन सञ्चालनका लागि जनशक्ति काठमाडौंबाट झिकाइएको छ । नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काका अनुसार मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति काठमाडौंबाट ल्याइएको जानकारी दिए । नगरपालिकाले निर्वाचन क्षेत्र विकास कोषको रकम प्रयोग गरेर मेसिनसहितझण्डै १ करोड रुपैयाँको उपकरण खरिद गरिएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि परीक्षणमा ढिलाइ भएपछि नगरपालिकाले आफै मेसिन खरिद गरेको हो । हालसम्म दैलेखबाट संकलन गरिएको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान,जुम्ला र प्रदेश अस्पताल, सुर्खेत पठाउनुपर्ने बाध्यता छ । हालसम्म दैलेखमा हजार जनाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निरञ्जन पन्तले बताए ।

दुल्लु र चौरजहारीले पनि मेसिन ल्याउँदै
कर्णालीमा थप दुइवटा नगरपालिकाले पनि पीसीआर मेसिन खरिद गर्ने भएका छन् । कोरोना महामारी तत्काल नियन्त्रणमा आउने संकेत नदेखिएपछि दैलेखको दुल्लु र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद प्रक्रिया अघि बढाएका छन् । रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण सहज हुनेछ ।

नगरपालिकाले मेडिसोलुसन प्रालि काठमाडौंसँग एक हजार परीक्षण किटसहित मेसिन खरिदका लागि एक करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको हो । यता दैलेखको दुल्लु नगरपालिकाले पनि पीसीआर मेसिनका झिकाउने अन्तिम तयारी गरेको नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए । अवको १५ दिनभित्र मेसिन ल्याउनेगरी काम भइरहेको भण्डारीको भनाइ छ । पीसीआर मेसिनका लागि दुल्लु अस्पताल अस्पतालमा प्रयोगशाला निर्माणको काम भइरहेको छ ।

शुक्रबार नौं जनामा संक्रमण पुष्टि
कर्णाली प्रदेशमा शुक्रबार पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज दैलेख, सुर्खेत र जाजरकोटमा गरी ९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमितमध्ये दैलेखको भैरवी गाउँपालिका वडा नं. २ मा दुइ जना, सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १ मा दुइ जना, वडा नं. २, ६, ८, ११ र जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ४ का एक÷एक जना रहेका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया